Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNews“किड्नी” गाँउको मुहार फेर्दै -मिस नेपाल अनुष्का । सहयोग जुटाउन सिड्नीमा

“किड्नी” गाँउको मुहार फेर्दै -मिस नेपाल अनुष्का । सहयोग जुटाउन सिड्नीमा


सरल गुरुङ/सिड्नी

राजधानी काठमाडौबाट ७० किलोमिटर उत्तरपुर्वी भेगमा पर्छ सोलसिङ गाँउ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउपालिकामा पर्ने यो ठाउ कुनै बेला मानव बेचबिखन र मृगौला तस्करी हुने गाउको नामले कुख्यात थियो ।
समयसंगै यस्ता घटनामा केही कमी आएपनि गरिबी र अशिक्षाले पिल्सिएको सोलसिंह गाँउको नियती अझै फेरिन सकेको छैन । गाउलेहरु अझै पनि आफ्ना छोरीचेली बेचबिखनको भयावह अवस्थामा पुग्नसक्ने डरमा बाचिरहेका छन् ।
१ सय ४० घरधुरीको यो गाउ भूकम्प पछि झन् क्षतविक्षत भएको छ । गाउका ६ सय जना मानिसहरु गरिबीको चरम अभावबाट गुज्रिरहेका छन् । स्वास्थ्य, शिक्षा र मानव जिवनको न्युनतम आवश्यकताबाट समेत टाढा छन् यहाँका मानिसहरु ।
कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । गाउलेहरुको जिवनको कालो बादल हटाउन सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ कम्मर कसेर लागेकी छिन् ।
अष्ट्रेलियामा बसोबास गर्ने अनुष्का मिस नेपाल भएपछि सोलसिंह गाँउको दिगोविकासमा जुटेकी हुन् ।
खासगरी अष्ट्रेलियामै कमर्स र एकाउन्टिङ विषय अध्ययन गरेकी अनुष्का भन्छिन् -“मानिसको आर्थिक अवस्था नसुधारेसम्म अन्य कुराको विकास असंभव हुदो रहेछ ।
हो, यहि कुरा बुझेकी अनुष्का सोलसिंह गाँउको दिगो विकासमा जुटेकी छिन् ।
गाउलेलाई माछा दिनुको साटो माछा मार्ने बल्छी र सिप सिकाउन अहोरात्र खटिएकी छिन् अनुष्का ।

गाउमा आयआर्जनको स्रोत जुटाउनका लागि उनले गाउमै कार्पेट बुन्ने, इट्टा बनाउने, ढुंगा काट्ने तथा धुपबत्ति बनाउने साना उद्योग खोल्ने योजना बनाएकी छिन् ।
त्यस्तै कृषी नै आयआर्जनको मुख्य स्रोत रहेको सोलसिंहमा अनुष्काले अर्गानिक तरकारी खेती समेत सुरु गर्ने भएकी छिन् । जसका लागि गाउका ३० जना महिलाहरुलाई विशेष तालिमको व्यवस्था गरिनेछ ।
गाउलेहरुलाई सस्तो व्याजदरमा ऋण उपलब्ध गराई स्वरोजगार बनाउन तथा उनीहरुको उत्पादन खरिद गर्नका लागि स्थानिय सहकारी संस्थासंग सहकार्य गर्ने पनि श्रेष्ठको योजना छ ।
दिगो विकासको पहिलो योजना स्वरुप कार्पेट उद्योगका लागि सबै सामानहरु गाँउ पुगिसकेको छ ।
शिक्षा तर्फ गाउको स्थानिय महाकालेश्वरी विद्यालयको स्तरउन्नती गर्न पनि अनुष्का जुटेकी छिन् ।
पहिलो चरणमा विद्यालयमा स्थानिय तामाङ, नेपाली र अंग्रेजी बोल्न सक्ने दुइ जना शिक्षक नियुक्त गर्ने तयारी छ ।

विद्यालयमा शिक्षक अभाव हुदा विद्यार्थीले राम्रो संग पढ्न नपाउने समस्या यसले अन्त्य गर्ने अनुष्काको विश्वास छ ।
त्यस्तै कक्षा ७ पास भएपछि नजिकैको गाउमा गएर १२ कक्षासम्म अध्ययन गर्नका लागि विद्यार्थीहरुलाई आवासिय सुविधासहितको छात्रवृत्ति प्रदान गरिनेछ ।
यो क्रममा सरकारले गाउमा बनाउन लागेको उच्च माध्यमिक विद्यालय सन् २०२२ मा बनेपछि सकिनेछ ।
शिक्षाको स्तर सुधार्नका लागि दोस्रो चरणमा सरकारले बनाउदै गरेको उच्च माध्यमिक नमुना विद्यालयमा अर्गानिक तरकारी उत्पादन गर्ने योजना छ ।
आवासिय विद्यालयमा बस्ने विद्यार्थीका लागि विद्यालय परिसरमै तरकारी खेती गर्ने योजना सन् २०२२ पनि सुरु हुनेछ ।
दिगो विकासको यो योजना सुरुवात गर्न अनुष्काले ६० लाख ३३ हजार रुपैया बराबरको बजेट निकालेकी छिन् । जसमा साढे १३ लाख त अप्रेसनल खर्च छ ।
आफ्नो पैसा खर्च गरेरै भएपनि पहिलो चरणको योजना सुरु गरिसकेकी अनुष्का अहिले सहयोगी हातहरु जुटाउन दौडधुप गरिरहेकी छिन् ।

व्युटी विथ प्रपोज टाईटल अन्तर्गत अनुष्काले सोलसिंह गाउको मुहार फेर्ने आयोजना अघि सारेकी हुन् ।
सोचेजस्तो भए टाइटल जित्ने मात्रै होइन,  गाउलेको जिवनस्तर नै परिवर्तन हुने उनको विश्वास छ ।
दिगो विकास त लामो प्रकृया हो नि भन्ने प्रश्नमा अनुष्का भन्छिन् – “म मिस नेपालमा सहभागी हुनुको कारण पनि देशका लागि केही गरौ भनेर हो ।” उनी थप्छिन् -“दिगो विकास लामो प्रकृया हो त्यसैले कसैले त सुरुवात गर्नुपर्यो नि हैन र ?
म पहिलो पटक गाउ पुग्दा त्यहाका मानिसहरुले परिवर्तन चाहिरहेको महशुस गरे । हामी सबैले हातेमालो गर्ने हो भने सोलसिंह गाउको मुहार फेर्न गार्हो छैन ।”

सहयोग खोज्दै सिड्नीमा

मिस नेपाली २०१९ अनुष्का अहिले सिड्नीमा छिन् । अष्ट्रेलियामै बसोबास गर्ने अनुष्का मिस नेपाल भएपछि नेपालमै छिन् । तर, सोलसिंह गाउको मुहार फेर्ने आफ्नो योजनामा आर्थिक बाधा आउन थालेपछि सहयोग जुटाउन अनुष्का आफ्नै कर्मथलो सिड्नी आइपुगेकी छिन् । छोटो समयका लागि सिड्नी आएकी अनुष्काको योजनामा सहयोग गर्न युनाइटेड नेप्लिज आर्ट र इन्टरटेन्टमेन्ट युएनइले च्यारिटी डिनर आयोजना गरेको छ ।
शनिवार जुलाई २० तारिखमा सिड्नीको अलवुडमा च्यारिटी डिनर हुदैछ । १ सय डलर शुल्क राखिएको डिनरमा सहभागी हुन अनुष्काले सबैलाई अनुरोध गरेकी छिन् ।
अनुष्काले आफ्नो आयोजनाका लागि आवश्यक रकमको ठुलो हिस्सा अष्ट्रेलियाबाटै जुटाउने तयारी गरेकी छिन् ।
“मेरो कर्म थलो अष्ट्रेलिया नै हो । म मिस नेपाल भएपछि यहाँको नेपाली समुदायबाट निकै साथ र माया पाएको छु । उहाँको माया र हौसला सोलसिंह गाउको स्वरुप फेर्न पनि मिल्नेछ भन्ने मलाई पुर्ण विश्वास छ “-अनुष्काले भनिन् ।

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ