Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपथ्यको अष्ट्रेलिया सांगेतिक यात्रा आज आरम्भ हुदै । यसकारण विशेष छ अष्ट्रेलिया

नेपथ्यको अष्ट्रेलिया सांगेतिक यात्रा आज आरम्भ हुदै । यसकारण विशेष छ अष्ट्रेलिया


ब्रिजवनमा कार्यक्रम प्रायाेजक र आयाेजकसंग अमृत र ब्याण्ड सदस्यहरु । तस्बिर- नेपाल ट्युब/सरल गुरुङ

व्रिजवेन
सरल गुरुङ

पातलो शरिर, लामो अर्ध सेतो कपाल, उमेरका धर्का परिसकेका अनुहार छोप्ने गरि सिउरिएको गोलाकार चस्मा । झण्ट हेर्दा एउटा फिरन्ते जस्तो देखिने ५१ वर्षका तिनै अमृत गुरुङ सांगेतिक यात्राका लागि अष्ट्रेलिया आईपुगेका छन् ।

सोमबार सांझ व्रिजवेनको ८८४८ मःम हाउसमा प्रसंशकहरु माझ झुल्किएका अमृत गुरुङका शालिनताले धेरैलाई लोभ्याएको थियो ।

प्रशंसकहरुले फोटो खिच्न आग्रह गर्दा बसिरहेको मेचबाट उठ्ने र शिरको चुच्चे टोपी खोलिदिएर आदर प्रकट गर्ने उनको बानी व्रिजवेनमा पनि दोहोरियो ।

घुम्न मन पराउने र कम बोल्ने अमृत अन्तर्मुखी स्वभावका छन् ।
तर मञ्चमा चढ्ने बित्तिकै विष्फोटक बन्छन् । नेपाल ट्युबसंग कुरा गर्दै अमृत भन्छन् -‘मञ्चमा उक्लिएपछि त्यहाँको लाईट, आवाज र दर्शकको उत्साहले ममा अचानक संगितको नशा चढ्छ । त्यसपछि त केवल संगित बाहेक केही बाँकी रहदैन ।’

पोखरामा जन्मिएका अमृत गुरुङले अन्य दुई जनासंग मिलेर सन् १९९१ मा नेपथ्य व्याण्ड स्थापना गरेका थिए । ती दुई साथी अहिले व्याण्डमा छैनन् । तर, अमृतकाे जिवननै नेपथ्य बनेकाे छ । निरन्तर नेपथ्यको यात्रा कसरी संभव भयो ? यसका उतार चढावका विषयमा अमृत गुरुङले नेपाल ट्युबका लागि विशेष अन्तरवार्ता दिएका छन् । सो सामाग्री तपाईले नेपाल ट्युबको युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ ।

 

अष्ट्रेलिया यात्रा

चौथो संस्करणको नेपथ्य अष्ट्रेलिया यात्रा मंगलबार (आज) व्रिजवेनबाट सुरु हुदैछ ।
३ हजार दर्शक अट्ने फर्चिच्युड सांगेतिक हलमा नेपथ्यको कन्सर्ट हुदैछ । ११ सय वटा सिट र ३ हजार मानिस उभिन सक्ने यो वालरुम थियटर अष्ट्रेलियाकै ठुलो मध्येको एक हल हो ।
८८४८ इभेन्टले नेपथ्यलाई व्रिजवेनमा भित्र्याएको हो ।

हालसम्म २ हजार टिकट बिक्री भईसकेको छ भने डोर सेलमा समेत टिकट बिक्री ह्वात्तै बढ्ने देखिएको छ ।
इभेन्टले कन्सर्टका लागि साधारणतर्फ ३५, विद्यार्थीका लागि ३० र डोर सेलका लागि ४५ डलर टिकट मुल्य तोकेको छ ।
डोर सेलमा बढी पैसा तिर्नुभन्दा पहिलै नै आफ्नो टिकट किन्न आयोजकले अनुरोध गरेको छ ।

जवनमा कार्यक्रम प्रायाेजक र आयाेजकसंग अमृत र ब्याण्ड सदस्यहरु । तस्बिर- नेपाल ट्युब/सरल गुरुङ

श्रृंखलाबद्ध प्रस्तुति लिएर लोकरक ब्याण्ड नेपथ्यले सन् २००९ मा पहिलो पटक अष्ट्रेलियाको सांगीतिक यात्रा सुरु गरेको थियो । यहाँ बस्ने नेपालीहरूको ईच्छा र मायाको सम्मान गर्दै नेपथ्यले अष्ट्रेलियामा चौथो संस्करण लिएर आएको हो ।
अष्ट्रेलियाको माया बारे अमृत भन्छन् – ‘अष्ट्रेलिया नेपथ्यका लागि सधै विशेष छ । सन् २०१२ मा सिड्नीको टाउन हलमा भएको कन्सर्टले नै हाम्रो करियरमा नयाँ मोड ल्याईदियो ।’ 
अमृत थप्छन् -‘सिड्नीको त्यहि माया र साथले हामीलाई विश्वभर कन्सर्ट गर्न बाटो खोलिदियो । त्यसैले हामी अष्ट्रेलियावासी नेपालीप्रति सधै आभारी छौ ।’

यसपटक नेपथ्य भ्रमण टोलीमा छ जना ब्याण्डका सदस्य हुनेछन् भने प्राविधिक एवं व्यवस्थापन गरेर १२ सदस्यीय समूह रहेको छ । अमृतलाई यो यात्रामा ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउने छन्।

ब्रिसबेनपछि नेपथ्यले नोभेम्बर २२ तारिखडार्बिनमा, एडिलेडमा डिसेम्बर ३, होबार्टमा डिसेम्बर ८, सिड्नीमा डिसेम्बर १४ मा प्रस्तुति दिनेछ । यस यात्राको अन्तिम कार्यक्रम मेलवर्नमा डिसेम्बर २३ का दिन हुनेछ।

नेपथ्यको यस वर्षको यात्रा संयोजन ‘नेपाली टच’ले गर्न लागेको हो। नेपथ्यको कार्यक्रमहरूको स्थानीय आयाेजक भने फरक छन् । ब्रिसवेनमा माउन्ट ८८४८ इभेन्ट, डार्विनमा गोर्खा पल्टन, एडिलेडमा गिरिश एंड ३ केजी ईभेन्ट, होवार्टमा ताज इभेन्ट र मेलवर्नमा नेप्ले इभेन्ट ले गर्नेछ भने सिड्नीको आयोजना नेपाली टच आफैले गर्नेछ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ