Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsहोबार्टमा कोठाभाडा सबैभन्दा महंगो । नेपालीले नेपाली नै ठग्न थाले ।

होबार्टमा कोठाभाडा सबैभन्दा महंगो । नेपालीले नेपाली नै ठग्न थाले ।


सरल गुरुङ/हाेबार्ट

एक महिनाअघि सिड्नीबाट तास्मानियाको होबार्ट उत्रिएका अनिल दंगाल यहाँको कोठाभाडा देखेर तिरिमिरी भएका छन् ।
सिड्नीमा दुई वर्षको पढाइ सकेर पीआरका लागि श्रीमतीसहित होबार्ट पुगेका दंगालले एक प्रतिष्ठित सुपरमार्केटको काम ट्रान्सफर गरेपनि हप्ताको १० घण्टा भन्दा बढीकाे सिफ्ट पाएका छैनन् । उनकी श्रीमती स्मृति लामिछाने भने कामकै खोजीमा छिन् ।
आम्दानीको स्रोत नजुट्नु र त्यसमाथी ढाड सक्ने घरभाडाले यो दम्पति अहिले तनावमा छन् । टेलिफोनमा कुरा गर्दै अनिलले भने- ‘होबार्टको घर भाडा त सिड्नीभन्दा महंगो रहेछ, आम्दानी नहुदा त घरभाडा तिर्दै पैसा सकिन लागिसक्यो ।’

यो त एउटा उदाहरण मात्र हो । अष्ट्रेलियन सरकारले दुर्गम भेगमा आप्रवासीको संख्या बढाउने नीति लिएपछि पछिल्लो केही वर्ष होबार्टमा अन्तराष्ट्रिय विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । अचानक मानिसको संख्या बढेसंगै घरभाडाले पनि आकास छोएको हो । सानो ठाँऊ, काम पाउन गार्हो त्यसमाथी चर्को घरभाडाले अनिल जस्ता थुप्रै नेपाली विद्यार्थी मारमा परेका छन् ।

होबार्टको कोठाभाडा सबैभन्दा महंगो

नेशनल सेल्टर भन्ने संस्थाले २७ नोभेम्बरमा सार्वजनिक गरेको तथ्याकंले तास्मानियाको राजधानी होबार्टमा कोठाभाडा अष्ट्रेलियाकै सबैभन्दा महंगो देखिएको छ ।
आम्दानी, दैनिक उपभोग्य खर्च र कोठाभाडाको अनुपातको आधारमा सेल्टरले सन् २०१५ देखि हरेक वर्ष यस्तो तथ्यांक सार्वजनिक गर्दै आएको छ ।
यस वर्ष सिड्नीलाई पनि पछि पार्दै होबार्टको कोठाभाडा सबैभन्दा महंगो भएको हो ।
होबार्टमा आम्दानीको ३० प्रतिशत कोठाभाडामा खर्च हुने भएपछि नव आगन्तुकलाई निकै अप्ठ्यारो परेको सेल्टरले जनाएको छ । जसले होबार्टमा सडकछापहरुको संख्या समेत बढाईरहेको सेल्टरको दाबी छ । सेल्टरको तथ्यांकले एडिलेडको कोठाभाडा दोस्रो, सिड्नी तेस्रो, ब्रिजवने चौथो र मेलवर्न पाँचौ देखाएको छ ।

रिजनल भेगमा कोठाभाडा अत्याधिक महंगो हुदा अष्ट्रेलियाको शैक्षिक क्षेत्रमा नै प्रभाव पार्न सक्ने अन्तराष्ट्रिय विद्यार्थी काउन्सिल अष्ट्रेलियाका निवर्तमान अध्यक्ष विजय सापकोटाको भनाई छ । ‘नेपाली विद्यार्थी अधिकांशले यत्तै कमाएर यतै खर्च धान्नु पर्ने भएकाले आम्दानी कम हुने र कोठाभाडा बढी तिर्नुपर्दा अवस्था झनै भयाभय हुनसक्छ’- सापकोटाले भने ।

रिजनल क्षेत्रमा पिआरका लागि जादा जागिर र आवाससम्बन्धी जानकारी र तयारी गरेर मात्र जान पनि सापकोटाले सुझाव दिएका छन् ।

होबार्टमा अहिले झण्डै १२ सय नेपाली विद्यार्थी पढिरहेका छन् । रिजनल क्षेत्रमा पिआर नीति आएपछि होबार्टमा मात्रै ३६ प्रतिशतले विद्यार्थी बढेको शिक्षा विभागको तथ्यांक छ ।

यो क्रम अझै बढ्ने देखिन्छ । सानो ठाउ, रोजगारीको अवसर कम र कोठाभाडा महंगो हुदा पिआरका लागि बसाईसरेकाहरुलाई समस्या परेको छ ।

गैर आवासिय नेपाली संघ तास्मानियाका संयोजक सन्देश परियार त, अन्य राज्यबाट बसाईसरेकाहरुको भन्दा नेपालबाट सिधै तास्मानिया आएका विद्यार्थीको समस्या बढी देख्छन् ।
‘पिआरका लागि अन्य स्टेटबाट आउनेहरु मानसिक रुपमा तयार हुन्छन्,उनीहरुसंग कामको अनुभव हुन्छ र यहाँको रहनसहन पनि सिकिसकेका हुन्छन्स’-सन्देश भन्छन् -‘सिधै नेपालबाट आउनेहरु त यहाँ काम पनि नपाउने र महंगो दैनिकी चलाउन नसक्दा छिटै मानसिक तनावमा पुगिरहेका छन् ।’

विश्वविद्यालयको नजिकै बस्दा भाडा झनै महंगो हुने र टाढा बस्दा सार्वजनिक सवारीसाधान सजिलै नपाईने पनि होबार्टको अर्को समस्या हो ।

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलले विद्यार्थीहरुलाई आवश्यक रिसर्च गरेर मात्र अन्य स्टेटमा बसाईसर्न सुझाव दिएका छन् । 

नेपालीले नेपालीलाई नै ठगेपछि

अष्ट्रेलियाका ठुला शहरमा एउटै युनिट वा घरमा चारदेखि ६ जनासम्म विद्यार्थी सेयरमा बस्नु सामान्य हो । घरभाडा सस्तो पराेस् भनि भाडामा लिएको युनिट वा घरको एउटा कोठामा आफु बसेर बाकी कोठामा अरुलाई भाडामा राख्ने गरिन्छ । नेपाली समुदायमा त यस्तो सेयरिङ कोठा निकै प्रचलित छ । सिड्नी, मेलवर्न र ब्रिजवेन जस्ता ठुला शहरमा मुख्य भाडावालाले खाली कोठामा केही डलर बढी लिएर भर्खरै नेपालबाट आएका विद्यार्थीलाई भाडामा राख्ने गर्छन् ।
कहिलेकाही मुख्य भाडावालले अरु कोठामा भाडाबस्नेसंग बढी पैसा लिएको गुनासो सुनिने गरेका छन् । होबार्टमा भने यस्तो बढी भाडा लिने विकृत्ति चरम उत्कर्षमा पुगेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
भाडा यतिसम्म चर्को लिन्छन् की, तीन वेडरुमको घरमा दुई कोठाको भाडाले नै घरको भाडा तिरेर मुख्य भाडावाला भने सित्तैमा बसिरहेको तथ्य भेटिएको छ ।

तास्मानियाका नेपाली मुख्य भाडावाला र काेठा खाेजिरहेका विद्यार्थीबिचकाे एसएमएस

होबार्टमा पढिरहेका एक नेपाली विद्यार्थीले आफुलाई एक नेपालीले ४ वेड रुम घरको एउटा कोठाको भाडा २ सय १५ डलर मागेको गुनासो गरेका छन् ।
भर्खरै नेपालबाट आएका ती विद्यार्थीले होबार्टमा कोठा खोज्दा नेपाली भाडावालाले बजारमा चलेको भन्दा निकै बढी भाडा मागेको दुखेसो गरे ।
‘म त नेपालबाट भर्खरै आएको, न काम छ न त पैसा नै’- गोप्य रहन चाहाने ती विद्यार्थी भने-‘ यहाँ त अग्रजले सहयोग गर्दा भनेको त उल्टै ठग्ने पो रहेछ ।’
होबार्टमा ३ वेड रुम घरको ४ सयदेखि ४५० डलरसम्ममा भाडामा पाईन्छ । नेपाली भाडावालाले एउटामा आफु बसेर अन्य दई प्रतिकोठा २३० देखि २५० डलरसम्म भाडामा लगाउने गरेको पाईएको छ ।

तास्मानियाका एनआरएनए संयोजक सन्देश परियारपनि यसबारे जानकार छन् । उनी भन्छन् -‘ नेपालीले बढी भाडा लिएको गुनासो धेरै नै आउने गरेको छ ।’
नेपालीले नै नेपालीलाई भाडामा ठग्न थालेपछि सन्देशले आफ्नो नाममा घर भाडामा लिएर नेपाली विद्यार्थीलाई सस्तोमा बस्ने व्यवस्था मिलाएका छन् ।
‘यो समस्याले लाजै मर्दो भईसक्यो’ – सन्देशले भने- ‘घरवेटीको भाडादर सन्तुलित गर्ने काम सरकारले गर्ला, तर, नेपाली भाडावालाले लिने भाडा दर सन्तुलित गर्न चाहि हामी अभियान चलाउछौ ।’



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ