अपराधको राजनीतिकरण, गणेश लामा र राजु गोर्खाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार !
काठमाडौं । गुण्डागर्दी र अपराधको दुनियाँमा चर्चित भएर जेलनेल भोगेपछि राजनीतिमा लाग्ने र राजनीतिक आवरणमा सुरक्षित हुनेहरु बढ्न थालेका छन् । आधा दर्जन अपराधिक पृष्ठभुमिका व्यक्तिहरु नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेकोमा दुई ‘बाहुबली नेता’ कांग्रेसको केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन् ।
जीवनभर कांग्रेसको निष्ठाको राजनीति गरेका रामचन्द्र पौडेल अस्वस्थ प्रतिस्पर्धा भयो भनेर बाहिरिँदै गर्दा गुण्डा नाइकेको उपाधी पाएका गणेश लामा र राजु गोर्खाली भने कांग्रेस नेतृत्वका लागि अहिले दौडधुप गरिरहेका छन् । कांग्रेसको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा राजु गोर्खाली र गणेश लामा क्रम ७६ नम्बर र १०२ नम्बरको उम्मेदवार बनेका छन् । उनीहरू दुवैजना प्यानलसहित सभापतिको उम्मेदवारि दिइएको प्यानलमा पर्ने प्रयासमा छन् ।
को हुन त राजु गोर्खाली ?
राजेन्द्रबहादुर गोर्खाली उर्फ राजु गोर्खाली ५० को दशकमा गुण्डागर्दी र अपराधको दुनियाँका चर्चित पात्र हुन । २०५९ सालमा उनले रोयल डिस्को दरवारमार्गमा राजन लिम्बुलाई तरबार हानेर हत्या गरेपछि १० वर्ष जेल सजाय भोगेका थिए । जेलबाटै अपराधको दुनियाँ चलाउँथे उनले । पछिल्लोपटक २०७६ माघमा अपराध महाशाखाले विभिन्न व्यक्तिलाई धम्की दिएर पैसा असुल गरेको आरोपमा पक्राउ गरी उनीविरुद्ध आपराधिक ठगी तथा संगठित अपराधअन्तर्गत मुद्दा चलायो ।
गोर्खा घर भएका गोर्खालीले काठमाडौंको चाबहिल क्षेत्रलाई आफ्नो आधार इलाका बनाएर गुण्डागर्दी थालेका थिए । काठमाडौंका चर्चित डनका रुपमा कहलिएका उनी सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधि चुनिए । गोर्खा घर र काठमाडौं कार्यथलो भएका गोर्खाली ईन्द्रावती गाउँपालिकाको भोटशिपाबाट क्रियाशील सदस्य लिएको पाइएको छ । कांग्रेस सहमहामन्त्रीका उम्मेदवार विकास लामाको वडाबाट उनले सदस्यता लिएर ३० लाखभन्दा बढी नगद खर्च गरी चौथो लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधि जितेका थिए । शेरवहादुर देउवा निकट मानिने उनी अहिले डा. शेखर कोइरालाको प्यानलमा पर्न खोजिरहेका छन् ।
गणेश लामाको विगत र वर्तमान
अपराधको दुनियाँका चर्चित डन गणेश लामा भने यसअघि काभ्रेबाट कांग्रेसको उम्मेदवार भइ प्रदेशसभा सदस्य निर्वाचनमा पराजित भएका पात्र हुन । उनीविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतका मुद्दा अहिले पनि चलिरहेका छन् । हत्या, अपहरण, फिरौतीलगायतका मुद्दामा पटक–पटक जेल परेका लामामाथि अर्को गुण्डा समूहले दुई वर्षअघि गौशालामा गोली हाने पनि बाँच्न सफल भएका थिए । काभ्रेबाट महाधिवेशन प्रतिनिधि चुनिएका लामा बिजयकुमार गच्छदारको तत्कालिन पार्टी मधेशी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै कांग्रेस प्रवेश गरेकाले सभापति देउवा प्यानलमै समेटिने देखिन्छ ।
तपाईको प्रतिक्रिया