Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsओमिक्रोनको जोखिम रोक्न भिडभाड हुने कार्यक्रम रद्द गरौँ : डब्लुएचओ

ओमिक्रोनको जोखिम रोक्न भिडभाड हुने कार्यक्रम रद्द गरौँ : डब्लुएचओ


एजेन्सी, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण थप फैलिन सक्नेतर्फ चेतावनीसहित सचेत गराएको छ । क्रिसमस तथा नयाँ वर्षको बिदा पारेर हुने यात्राका क्रममा ओमिक्रोनको संक्रमण फैलिन सक्नेतर्फ सचेत गराउँदै डब्लुएचओले यात्राका केही योजनाहरु रद्द गर्न समेत आग्रह गरेको हो ।

डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भनेका छन्, ‘जीवन नै गुमाउने भन्दा केही कार्यक्रमहरु रद्द गर्नु उपयुक्त हुन्छ । यो कठिन निर्णय हो तर गर्नै पर्ने चाहिँ हो ।’ डेल्टा भन्दा ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएको तथ्य विभिन्न देशमार्फत बाहिरिएको तर्फ समेत उनले सचेत गराएका छन् । ५० भन्दा बढी उत्परिवर्तन (म्युटेशन) भएको ओमिक्रोन अरु भेरियन्टको तुलनामा निकै संक्रमक रहेको प्रारम्भीक तथ्यहरुले देखाएका छन् ।

संक्रमण रोक्नका लागि विभिन्न देशहरुले प्रतिबन्धात्मक नियम कडा पारेपनि संक्रमणले विस्तार पाइरहेको छ । युरोपमा फ्रान्स तथा जर्मनीसहितका कतिपय देशले यात्रा प्रतिबन्ध लगाएका छन्, नेदरल्याण्ड्सले कडा लकडाउन लागु गरेर ओमिक्रोनको महामारि रोक्ने प्रयास जारी राखेको छ । हाल कायम रहेका खोपको थप अर्थात बूस्टर मात्रा ओमिक्रोनको संक्रमण रोक्न वा कम्तीमा गम्भीर बिरामी हुनबाट जोगाउन लाभदायी हुने आँकलनसहित अमेरिकासहितका देशले बूस्टर मात्राका लागि जोड दिइरहेका छन् । पछिल्लो एक अध्ययन अनुसार हालको खोपको बूस्टर मात्रा ओमिक्रोन भेरियन्टविरुद्ध कम्तीमा गम्भीर बिरामी रोक्न ८५ प्रतिशत प्रभावकारी हुने देखाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ५ विश्वभर ५ लाख ४५ हजार बढी कोरोना भाइरसका संक्रमित थपिदा संक्रमणबाट ४ हजार ९ सय ३९ जनाको ज्यान गएको छ । रसिया, अमेरिका, हंगेरी जर्मनी लगायतका देशमा संक्रमण र मृत्युदर उच्च बन्न थालेको छ । अष्ट्रेलियामा समेत पछिल्लो २४ घण्टामा ३ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ