सिमा खुलेसंगै अष्ट्रेलियामा मानव तस्करी बढ्न सक्ने भन्दै प्रहरीको कडा निगरानी
यस्तो व्यवहार भए मानव तस्करी हुन्छ है
ब्रिजवेन/अन्तराष्ट्रिय सिमा खुल्ला भएसंगै अष्ट्रेलियामा मानव तस्करी बढ्न सक्ने भन्दै संघिय प्रहरीले निगरानी कडा पारेको छ । अष्ट्रेलियन फेडेरल पुलिस एएफपीले यात्रुहरुलाई मानव तस्करीका प्रकार र प्रवृत्तिबारे जानकार रहन समेत आग्रह गरेको छ । एपिएफको तथ्याकं अनुसार पछिल्लो ७ वर्षमा अष्ट्रेलियामा मानव तस्करी ३ गुणाले बढेको छ । कोभिडको कारणले सिमाना बन्द हुदा मानव तस्करी केही नियन्त्रणमा आएजस्तो देखिएको भएपनि सिमा खुलेसंगै सन् २०२२ मा मानव तस्करी बढ्न सक्ने र तस्करहरुले नयाँ नयाँ माध्यमबाट यस्तो अभ्यासलाई बढाउ दिनेमा एएफपी चनाखो भएको बताइएको छ ।
एएफपीका अनुसन्धानकर्ताहरुले सिमा खुकुलो भएसंगै तस्करहरुले कसैको इच्छा विपरित मानिसहरुलाई भित्र्याउनका लागि प्रयास गर्ने प्रयाप्त आधारहरुमा निगरानी बढाएको विज्ञप्तीमा उल्लेख छ । एएफपीका मानव शोषण सम्बन्धी विभागका प्रहरी उपरिक्षक जेनी क्रसलिङका अनुसार अष्ट्रेलियामा मानव तस्करीका निकै कम घटना मात्रै उजुरी हुने गरेका छन् । अध्ययनहरुका अनुसार मानव तस्करीका एक जना पीडित पहिचान हुदा अन्य चार जना बारे भने अधिकारीहरु बेखबर रहने गरेको जेनीले बताउनुभयो ।
‘डर, धम्की र त्रास देखाएर कसैको इच्छा विपरित अष्ट्रेलिया प्रवेश गर्न र छोड्न लगाउनु हाम्रो कानुन अनुसार गैर कानुनी छ’- उपरिक्षक जेनीले भन्नुभयो -‘ यो कमनवेल्थ मानव तस्करी सम्बन्धी अपराध हो र सजाय लागु हुनेछ ।’
सिमाना खुल्ला भएर विदेशी यात्रु बढेसंगै हामी सबै मानव तस्करीका चिन्ह, संकेत र प्रवृत्तिबारे जानकार रहनु महत्वपुर्ण हुनेछ जेनीले भन्नुभयो । ‘अष्ट्रेलियामा मानव तस्करी भइरहेको छ’- जेनीले भन्नुभयो-‘ हामी सबै एक जुट भएर यस्ता शोषणबाट ती जोखिममा रहेका मानिसहरुको सुरक्षा गर्नुपर्छ ।’ एएफपीले अष्ट्रेलियामा हुने मानव तस्करीहरु जस्तै, दासत्व, जबरजस्ती बिवहा, श्रमशोषणहरुको अनुसन्धान गर्दछ । मानव तस्करी पुष्टी भएमा १२ वर्षसम्म जेल सजाय हुने अष्ट्रेलियाको कानुनी व्यवस्था छ ।
मानव तस्करी कसरी चिन्ने ?
प्रहरी उपरिक्षक जेनीका अनुसार यस्ता निम्न कुराहरु भएमा कोही मानिस मानव तस्करीमा परेको बुझिन्छ ।
१. कोही व्यक्ति यात्रा गर्न हिचकिचाएको छ वा उसको हिडडुल कसलै नियन्त्रण गरेको जस्तो देखिएमा ।
२. यात्रा गर्ने व्यक्तिसंग राहदानी छैन वा अन्य कुनै पहिचान खुल्ने कागजात छैन वा त्यस्ता कागजात अरु कसैले नियन्त्रणमा राखेको छ ।
३. कोही व्यक्ति न्युन गुणस्तरको बसाई वा काम गर्ने वातावरणमा छ भने पनि मानव तस्करीको सिकार भएको हुनसक्छ ।
४. कोही मानिस घरबाट कहिल्यै बाहिर निस्किदै वा काम बाहेक अन्य कारणले ज्यादै कम मात्र घरबाट निस्कन्छ ।
५. व्यक्तिले काम गरेको पारिश्रमिक पाउदैन, पाएपनि निकै कम पाउछ वा आफ्नो आम्दानीमा पहुच पुर्याउन सक्दैन भने पनि मानव तस्करी हुन्छ ।
६. दुव्र्येवहार, शारिरिक यातना तथा जोखिमयुक्त कार्यक्षेत्रबाट व्यक्तिको शरिरमा चोटपटक वा घाउ छ भने पनि तस्करीमा परेको हुनसक्छ ।
७. कोही व्यक्ति सधै उसको रोजगारदाता वा अन्य व्यक्तिको निगरानी भइरहन्छ वा सामाजिक जीवनमा जान पाउदैन भने पनि मानव तस्करीको सिकार भएको हुनसक्छ ।
तपाइले पनि आफ्नो वरपर यस्तै कोही माथी पनि यस्तो व्यवहार भइरहेको देख्नु भयो वा कुनै व्यक्ति मानव तस्करीमा परेको थाहा पाएमा वा आफु माथी पनि यस्तै व्यवहार भइरहेको छ भन्ने लाग्छ भने एएफपीको नम्बर १३१ २३७ मा फोन गरेर जानकारी गराउन सक्नुहुन्छ । त्यस्तै ००० मा पनि कल गर्न सक्नुहुन्छ । थप जानकारीका लागि एएफपीको यो लिंकमा जानुहोस् ।
तपाईको प्रतिक्रिया