पासपोर्टका लागि नेपाल आउनुपर्ने बाध्यताको अन्त्य हुँदै, विदेशस्थित नियोगबाटै इ–पासपोर्ट !
काठमाडौं । कुनै समय थियो पासपोर्टको समयसिमा सकिएसँगै नविकरणका लागि नेपाल नै आउनुपर्ने बाध्यता थियो । तर अबदेखि विदेश स्थित नेपाली दुतावासबाटै इ–पासपोर्ट (विद्युतीय राहदानी) पाईने भएको छ । राहदानी विभागका अनुसार आईतबार पहिलो पटक कतारको दोहास्थित नेपाली राजदूतावासबाट पहिलो विद्युतीय राहदानी उत्पादन भएको हो ।
विदेशस्थित नियोगबाट लाइभ इनरोलमेन्ट गरी ई–पासपोर्ट सफलतापूर्वक उत्पादन भएसँगै अब स्वदेशमा मात्रै नभएर पासपोर्टको उत्पादनले विदेशस्थित नियोगबाट समेत निरन्तरता पाउने विभागले जनाएको छ । विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले आइतवारबाटै बुकिङ खुला गरेको छ । शुरूको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ खोलिएको विस्तारै दायरा बढाएर अन्य खाडी मुलुकहरू र मलेशियामा समेत सेवा विस्तार गरिने विभागले जानकारि दिएको छ । यी नेपाली नियोगहरूमा विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरू पठाइसकिएको राहदानी विभागले जनाएको छ ।
खाडी र मलेसियामा पठाइएका सामानहरू जडान हुनासाथ केही दिनभित्रै विद्युतीय राहदानीको सेवा शुरुआत हुने दाबी विभागले गरेको छ । अन्य मुलुकहरूमा रहेका सबै नेपाली नियोगहरूमा समेत उपकरणहरू पठाउने कार्य भइरहेको र केही हप्ता भित्र सेवा सञ्चालनमा आउने राहदानी विभागले जानकारि दिएको छ ।
विभाले गरेको दाबी पुरा भएमा अबको एक सातामा विद्युतीय राहदानीको सेवा नेपालका विदेशस्थित नियोगबाट सुरु हुने छ भने पासपोर्ट नविकरणका लागि नेपाल आउनुपर्ने बाध्यता सधैका लागि अन्त्य हुनेछ ।
तपाईको प्रतिक्रिया