Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढ्न छुटाउनुभयो कि यी पछिल्ला प्रमुख ५ खबरहरु

नेपाल अपडेट : पढ्न छुटाउनुभयो कि यी पछिल्ला प्रमुख ५ खबरहरु


काठमाडौं । महाशिवरात्रीको रौनक, बलात्कार अभियोगमा एमाले सांसद पक्राउ, दोश्रो अन्तर्राष्ट्रि विमानस्थलमा भैरहेको उडान परिक्षण, मल खरिमा भएको समझदारी र आन्दोलन गर्दा निकालिएका शिक्षकको पुनर्वहाली सहितका प्रमुख ५ खबर यस्ता छन् ।

महाशिवरात्रि पर्व, पशुपतिसहित देशभरका शिवालयमा भीडभाड
महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन महाशिवरात्रि पर्व मनाइने गरिन्छ । यो पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहिआएको छ । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने प्रचलन छ । राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिदैछ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न स्थानसँगै छिमेकी राष्ट्र भारतका तीर्थयात्री पशुपतिनाथ मन्दिरमा आइपुगेका छन् । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिन मात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको बताइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । काठमाडौं उपत्यका बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।

एमाले सांसद बलात्कार आरोपमा पक्राउ
नेकपा एमाले, मुगुका सांसद मोहन बानियाँ महिला बलात्कारको आरोपमा पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसूदन न्यौपानेले बानियाँले ४० वर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा पक्राउ गरिएको बताउनुभयो । आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । बानियाँले भने बद्नाम गर्न बलात्कारको आरोप लगाइएको भन्दै बारम्बार आफ्नो बचाउ गर्दै आउनुभएको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान पुरा
राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइएको देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलको यान्त्रिक परीक्षण उडान सम्पन्न भएको छ । रुपन्देहीको भैरहवामा निर्माणसम्पन्न अवस्थामा पुगेको विमानस्थलमा प्राविधिक टोलीले डेढ हप्ता लगाएर यान्त्रिक परीक्षण सम्पन्न गरेको हो । थाइल्याण्डबाट ल्याइएको विशेष विमानमार्फत उडान भरेको विमानको दुरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङ लगायतका परीक्षणहरु गरिएको छ । विमानस्थल संचालन पूर्व जडान गरिएको सञ्चार उपकरणहरुको परीक्षणका लागि क्यालिब्रेसन उडान पुरा भएपनि रिपोर्ट आउन भने बाँकी छ ।

प्रारम्भिक प्रतिवेदनअनुसार विमानस्थलको यान्त्रिक परीक्षण सफल भएको बताइएको छ । अबको दुई हप्ताभित्र एरोथाई कम्पनीले नेपाल नागरिक उड्डयन यान्त्रिक परीक्षण उडानको अन्तिम प्रतिवेदन दिने बताएको छ । त्यसपछि आइकाओलगायतका ठाउँबाट प्रतिवेदन स्वीकृत गरिएपछि टेस्ट फ्लाइट गरेर व्यवसायिक उडान सुरु गरिनेछ । विमानस्थल आयोजनाको आइसीपी २ का प्रमुख प्रवीण न्यौपानेले गौतमबुद्ध विमानस्थलका सम्पूर्ण यान्त्रिक परीक्षण सफल भएको बताउनुभएको छ । विमानस्थलको दुई चरण आइसीपी वान (भौतिक संरचना निर्माण) र आइसीपी टू (संचार उपकरण जडान) अन्र्तगतमा काम भएको थियो । विमानस्थल संचालनका लागि ‘मिसन भैरहवा’ नाम दिएर माघ १२ गतेदेखि सय दिनको योजना अन्तर्गत अन्तिम चरणका कामहरु भइरहेका छन् । विमानस्थल आउँदो जेठ पहिलो हप्ताबाट व्यवसायिक उडान भर्ने गरी तयारी अवस्थामा रहेको विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारि दिनुभएको छ ।

अब भारतबाट प्रत्यक वर्ष एक लाख ५० हजार मेट्रिकटन मल आउने
एक वर्ष ७ महिना लामो प्रयासपछि भारतबाट सरकारी स्तर (जीटूजी)मार्फत रासायनिक मल खरिद गर्ने समझदारी बनेको छ । नेपालको कुल मागको ३० प्रतिशत रासायनिक मल पाँच वर्षसम्म निरन्तर उपलब्ध गराउन नेपाल र भारतका सरकारी अधिकारीबीच सोमबार सम्झौता भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एवम् सहसचिव प्रकाशकुमार सञ्जेलले अब प्रत्येक वर्ष भारतबाट कम्तीमा एक लाख ५० हजार मेट्रिकटन देखि बढीमा २ लाख १० हजार मेट्रिकटन युरिया र डीएपी मल खरिद सुनिश्चित भएको छ बताउनुभयो ।

नेपालले ग्लोबल टेन्डरबाट खरिद गर्ने गुणस्तरकै मल ल्याइने गरी भएको सम्झौतामा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्मा र भारतको तर्फबाट भारत सरकार रसायन एवम् मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीले हस्ताक्षर गर्नुभएको छ । दुवै सरकारले मलको मूल्य निर्धारण गर्न खरिद सम्बन्धी छुट्टै संयन्त्र बनाउने तयारी थालिएको छ । नेपालका लागि मल आपूर्तिकर्ताको रुपमा कृषि सामाग्री कम्पनी तोकिएको छ भने भारतले कुन निकाय भन्ने निश्चित भएको छैन । सम्झौताअनुसार पाँच वर्षमा नेपालले कुल ९ लाख ३५ हजार मेट्रिकटन रासायनिक मल भारतबाट खरिद गर्नेछ । जसमा ५ लाख ६५ हजार मेट्रिकटन यूरिया र ३ लाख ७० हजार मेट्रिकटन मल डीएपी हुनेछ । आव ७८÷७९ देखि आर्थिक वर्ष २०८२÷०८३ सम्म मल जीटूजीमा उपलब्ध हुने बताइएको छ । ठेक्का प्रणालीबाट मल ल्याउन खोज्दा बारम्बार ठेकदारको धोका पाएपछि सरकार जीटूजीमा जान बाध्य भएको हो ।

आन्दोलनमा लागेका कारण हटाइएका शिक्षकलाई पुनर्वहाली
सरकारले आन्दोलनमा लागेका कारण हटाइएका २३३ शिक्षकलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आन्दोलनमा लागेका कारण सेवाबाट हटाइएका ५८६ शिक्षक तथा कर्मचारीहरुको व्यवस्थापन गर्ने निर्णयसहित २३३ शिक्षकको पुर्नवहाली गर्न लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार १८ जना शिक्षकले नियुक्ति पाउने छन् भने ४१ जना शिक्षकले सेवा सुविधा र २८४ जनाले एकमुष्ट आर्थिक सहायता पाउने छन् । तत्कालिन पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित कार्यदलले २६ मंसिर २०७३ सालमा दिएको प्रतिवेदनका आधारमा यो निर्णय भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारि दिएको छ । मन्त्रालयका अनुसार सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार ६० वर्षको उमेर हद नकटेका २३३ जना शिक्षकलाई स्वीकृत दरबन्दीको रिक्त स्थानमा पुनर्बहाली गरिनेछ । यी शिक्षकहरुले विद्यालयमा हाजिर भएको मितिदेखि तलब भत्ता लगायतका सुविधा पाउनेछन् । सेवाबाट हटाइएको मितिदेखि पुनर्बहाली भई हाजिर नहुन्जेलको अवधिको तलब, भत्ता, विदा, पोशाक, चाडपर्व खर्च लगायतका सुविधा भने शिक्षकहरुले नपाउने भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ