काठमाडौंका किन बढ्दै छ प्रदुषण ? प्रदुषणका कारण १ खर्ब ३० अर्बको नोक्सानी भएको अनुमान !
काठमाडौं । सोमबार साँझ प्रदूषण १५५ एक्यूआई मापन भएसँगै काठमाडौं विश्वको प्रदूषित सहरमध्ये पहिलो नम्बरमा परेको थियो । सोमबार काठमाडौं विश्वकै सबैभन्दा बढी प्रदूषणयुक्त सहर बनेपनि आज चौथो नम्बरमा पुगेको छ । अझपनि उच्च प्रदुषणको सूचकबाट भने हट्न सकेको छैन । अघिल्लो वर्ष प्रदुषणका कारण तीन दिन विद्यालय बन्द समेत गरिएको छ ।
काठमाडौं मात्रै नभएर नेपालका शहरहरु नै प्रदुषित बनेको पाइएको छ । सडक पूर्वाधार व्यवस्थित नहुँदा धुलोले प्रदुषण बढाएको छ । उद्योग कलकारखानाबाट निश्किने धुलो, फोहोरमैलाको उचित व्यवस्थापन नहुँदा र बर्षेनी ठूलो मात्रामा हुने आगोलागी अनि डढेलोले समेत प्रदुषण बढाइरहेको छ । पुराना सवारी साधनको प्रदुषण पनि शहरी क्षेत्रमा उस्तै छ । प्रदुषण बढ्दा बारम्बार जोखिम निम्तिने गरेपनि रोकथामतर्फ राज्यको ध्यान पुग्न सकिरहेको छैन ।
नेपालमा कस्तो पर्दैछ त प्रदुषणको असर ?
राष्ट्रिय योजना आयोगले प्रदूषणका कारण मुलुकमा पर्ने वित्तीय भारको विषयमा अध्ययन गर्ने प्रतिबद्धता जनाएको दुई वर्ष बितिसक्दा पनि आफ्नो प्रतिबद्धता पुरा गरेको छैन । आधिकारिक रुपमा वायु प्रदूषणका कारण नेपालमा परेको वित्तीय भारको विषयमा अध्ययन हुन नसके पनि वायु प्रदूषणका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष गरी १३० मिलियन अमेरिकी डलर (करिब १ खर्ब ३० अर्ब) नोक्सानी भएको आँकलन गरिएको छ । विश्व बैंकको २०१५ को तथ्यांकले यो तथ्य बाहिर ल्याएको हो । सन् २०३० सम्ममा नेपालमा वायु प्रदूषणको वित्तीय भार २५६ मिलियन अमेरिकी डलर (करिब तीन खर्ब) पुग्ने विश्व बैंकको अनुमान रहेको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति तथा वातावरणविद् डा. सुनिलबाबु श्रेष्ठ वनजंगलमा लाग्ने डढेलो, कृषकले खेतीबारीमा जलाउने कसिङ्गर, धुलोधुवाँ र पश्चिमी तथा पूर्विय वायु सक्रिय हुन नसक्दा काठमाडौंमा प्रदूषण बढ्दै गइरहेको बताउँछन् । वढ्दै गएको वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा पर्ने असर तथा सेवा प्रभावित हुँदा आर्थिक क्षति थप बढ्ने आँकलन गरिएको छ ।
तपाईको प्रतिक्रिया