चौतर्फी बिरोधपछि नेपाल आउँदा दुई सय अमेरिकी डलर नगद बोक्नुपर्ने प्रावधान खारेज !
काठमाडौं । नेपाल आउने विदेशी पर्यटकहरूले विमानस्थलबाटै पाउने भिसा अर्थात् अनअराइभल भिसाका लागि दुई सय अमेरिकी डलर नगद साथमै बोकेर आउनुपर्ने भन्दै गरिएको प्रावधान चौतर्फी बिरोधपछि खारेज भएको छ ।
करिब एक साता अघि विमानस्थल अध्यागमन कार्यालयले सूचना निकालेर एटीएम मेशिन र विद्युतीय भुक्तानी सेवामा समेत समस्या आएको भन्दै नगदै बोेकेर आउन पर्यटकसँग आग्रह गरेको थियो । अध्यागमन कार्यालयको सूचनाको पर्यटन व्यवसायी र पर्यकबाटै चैतर्फी बिरोध भएपछि गृह मन्त्रालयले अध्यागमन कार्यालयको निर्णय खारेज गर्दै सेवा प्रवाह चुस्त बनाउन निर्देशन दिएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले गृह मन्त्रालयको निर्देशनअनुसार विमानस्थलको अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम मेशिन जडानको काम सुरु भइसकेको जानकारी दिनुभयो । अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकका दुई वटा एटीएम मेशिन र दुई वटा पीओएस मेशिन थप गरेर समस्या छिट्टै समस्याको समाधान गरिने बताइएको छ ।
नगदै बोक्नुपर्ने सूचनाले अध्यागमन प्रशासन र विमानस्थल सुरक्षा एवम् आन्तरिक व्यवस्थापनमा देखिएको कमजोरीले देशकै छविमा असर पारेको भन्दै चौतर्फी आलोचना भएको थियो । पर्यटन व्यवसायीले त प्रविधिको जमानामा सरकारलाई नै लज्जित बनाउने काम भएको भन्दै आलोचना गरेका थिए । सोमवार गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायका प्रमुखलाई मन्त्रालयमा बोलाएर समस्या समाधान गर्न निर्देशन दिएसँगै सुधारको काम थालनी भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया