दुई वर्षमै करिब ६९ करोडको प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जना पक्राउ !
काठमाडौं । पछिल्लो दुई वर्षमै ६६ करोड ७९ लाख रुपैयाँको प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २२ वर्षीय, २४ वर्षीय र २७ वर्षीय तीन जना युवालाई पक्राउ गरेको हो ।
सन् २०२१ देखि कारोबार गरेका २२ वर्षिया युवाले यो अवधीमा मात्रै ३५ करोड ४६ लाख रुपैयाँभन्दा धेरैको कारोबार गरेको र खातामा १२ हजार ८ सय अमेरिकी डलर बराबरको बिटक्वाइन समेत भेटिएको प्रहरीले जानकारि दिएको छ । अर्का २४ वर्षिया थापाले पनि सन् २०२१ देखि नै क्रिप्टोकरेन्सीको कारोबार गरेको र उनले यो अवधीमा २४ करोड ७९ लाख भन्दा धेरैको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनको खातामा १३ सय ९९ अमेरिकी डलर बराबरको बिटक्वाइन फेला पारेको छ । पक्राउ परेका राहुल भनिनेले भने पछिल्लो एक वर्षदेखि क्रिप्टोकरेनसीको कारोबार गरेको पाइएको छ । उनले ६ करोड ५३ लाखभन्दा धेरैको कारोबार गरेको र खातामा ६ सय ५१ अमेरिकी डलर बराबरको बिटक्वाइन मौज्दात रहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारिका अनुसार पक्राउ अभियुक्तले दैनिक ५ हजारदेखि ५० हजार अमेरिकी डलरसम्मको बिटक्वाइनको कारोबार गर्ने गरेको खुलेको छ । एक अनुसन्धान अधिकारीले भन्नुभयो, ‘उनीहरुले व्यापारिक प्रयोजनका सामाग्रीहरु विदेशबाट आयात गर्दा समेत अनलाइनमार्फत क्रिप्टोमै रकम तिर्ने गरेको समेत देखिन्छ ।’
तपाईको प्रतिक्रिया