नेपालमा चिसो बढेसँगै जनजीवन प्रभावित, यस्तो छ देशभरको मौसम
काठमाडौं । देशभरको तापक्रम क्रमिक रुपमा घटेसँगै चिसो बढ्न थालेको छ । चिसो बढेसँगै देशैभरको जनजीवन प्रभावित हुन थालेको छ ।
मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । विरेन्द्रनगरको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस छ । ताप्लेजुङको ३ दशमलव ५, लुम्लेको ४, डडेल्धुराको ४ दशमलव ४ डिग्री सेल्सियस छ । जिरीको न्यूनतम तापक्रम माइनस १ दशमलव ८, जोमसोमको माइनस ५ र जुम्लाको माइनस ६ दशमलव ५ डिग्री सेल्सियस छ । न्यूनतमसँगै देशभरकै अधिकतम तापक्रम पनि घट्न थालेकाले मौसम थप चिसिएको छ । मौसमविद् राजु प्रधानांगले देशभरकै तापक्रम क्रमिक रुपमा घट्दै गइरहेकाले चिसो बढेको जानकारी दिनुभयो ।
डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । अहिले पहाडीसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । पहाडी क्षेत्रको कुहिरो हटेर घाम लाग्ने सम्भावना भएपनि तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने मौसमविद्ले बताएका छन् । चिसिएको मौसममा झोलिलो खानेकुरा खान, न्यानो कपडा लगाएर सुरक्षित हुन चिकित्सकहरुले सुझाब दिएका छन् ।
तपाईको प्रतिक्रिया