Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित, भारतको असहयोग लगायत यस्ता छन कारण

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित, भारतको असहयोग लगायत यस्ता छन कारण


काठमाडौं, रुपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुसँगै भिजिविलिटी (आँखाले देख्नसक्ने दूरी) कम हुँदा जहाज उडान तथा अवतरण प्रभावित हुनथालेको छ । इन्स्ट्रमेट ल्याण्डिङ सिस्टम आईएलएस (थोरै भिजिविलिटी हुँदा पनि जहाज उडान, अवतरण गर्न सकिने उपकरण) जडान गरिएको भएपनि भारतीय पक्षले सहमति नदिदा उडान उडान तथा अवतरण प्रभावित भएको हो ।

विमानस्थलका अनुसार करिब १० करोड रुपैयाँ खर्चेर क्याटागेरी–१ को आईएलएस उपकरण जडान भएको छ । यो अत्याधुनिकमात्रै छैन, क्याटागोरी–२ का उपकरणसमेत प्रयोग गरिएको छ । केही उपकरण मात्रै थप्न बाँकी छ । क्याटगेरी–२ को आईएलएस जडानले ३५० मिटरकै भिजिविलिटीमा जहाज उडान तथा अवतरण गर्न सकिने भौरहवा विमानस्थलले जानकारि दिएको छ । तर, नेपाल नागरिक उड्डयन प्राधिकरण र सरकारको समन्वय अभावले जडान भएको उपकरणसमेत सञ्चालनमा ल्याउन सकिएको छैन ।

गौतमबुद्ध विमानस्थल भारतसँगको सीमा नजिक पर्ने र आईएलएस उपकरणको प्रयोगबाट जहाज उडान/अवतरण गर्दा भारतको केही आकाश प्रयोग हुने भएकाले भारतीय पक्षको सहमति आवश्यक पर्छ । भारत यो उपकरण सञ्चालन गर्न अनिच्छुक देखिएको छ भने नेपाल सरकारले स्वीकृति लिन समन्वय नै गरेको छैन । जसका कारण बिहान ६ बजे विमानस्थल पुगेका यात्रु दिउँसो ३ बजेसम्म जहाज उड्ने प्रतीक्षामा बस्नुपर्ने बाध्यता दिनहुँ देखिने गरेको छ ।

जहाज उडाउन सामान्यतया १ हजार ५ सय मिटर भिजिविलिटी आवश्यक पर्छ । अहिलेको मौसम अनुसार भैरहवामा साँझ÷बिहानको भिजिविलिटी ५/६ सय मिटरमात्रै पुग्छ । विमानस्थलमा जडान गरिएको क्याटगेरी–१ को आईएलएस सिस्टम सञ्चालनमा आए मात्रै पनि ५५० मिटरसम्म भिजिविलिटी हुँदा सहजै विमान उडान/अवतरण गर्न सकिन्छ । अहिले उपकरण प्रयोगविहिन हुँदा भैरहवामा सातामा तीन दिन उडान भर्दै आएको कुवेतको जजिरा एयरलाइन्स र चार्टर्ड उडान गर्दै आएको हिमालय एयरले आफ्नो उडान कटौती गरेका छन् ।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले अहिलेको मौसमका कारण आन्तरिक उडान तोकिएको समयमा हुन नसकेको स्विकार गर्नुभएको छ । महाप्रवन्धक दाहालले सरकारी स्तरबाट भारतसँग जडित उपकरणको सञ्चालन बारे कुराकानी अगाडि बढाएको भएपनि भारतबाट कुनै जवाफ नआएको बताउनुभएको छ । दैनिकजसो लाग्ने हुस्सु र कुहिरोसँगै जडित उपकरणको प्रयोग नहुँदा जहाज उडान÷अवतरण प्रभावित भएको छ ।

निर्माण लागत, मुआब्जा गरेर ४३ अर्ब खर्चमा भौरहवा अन्तर्राष्ट्रिय विमानस्थल तयार भएर जेठ २ मा सञ्चालनमा आउँदा यस क्षेत्रका व्यवसायी उत्साहित भएका थिए । तर, पछिल्लो पटक अन्तर्राष्ट्रिय उडान नै रोकिएपछि व्यवसायीसँगै स्थानीय निराश देखिएका छन् । जेठ २ देखि पुस ३ गतेसम्ममा १५४ वटा उडान र अवतरण भएको विमानस्थलबाट ७ महिनाको अवधिमा ३१ हजार ६१८ यात्रुले सेवा लिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ