Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : प्रतिनिधिसभा सभामुख निर्वाचन देखी विमान दुर्घटनाको अनुसन्धानसम्म

नेपाल अपडेट : प्रतिनिधिसभा सभामुख निर्वाचन देखी विमान दुर्घटनाको अनुसन्धानसम्म


काठमाडौं । प्रतिनिधिसभा सभामुख निर्वाचनको रस्साकस्सी, पोखरा विमान दुर्घटनाका अनुसन्धान, मन्त्रीलाई विदेशी प्रतिनिधि भेट्न गरिएको कडाई, मधेश प्रदेशमा सार्वजनिक विदादेखी ६ विकास बैंक र चार वित्त कम्पनीमाथी राष्ट्र बैंकले गरेको कारबाही बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

आज प्रतिनिधिसभाको समामुख चयनका लागि मतदान
प्रतिनिधिसभाको सभामुख छान्न आज मतदान हुँदैछ । सभामुखका लागि सत्ता पक्ष र विपक्ष गठबन्धनबीच भिडन्त हुने भएको छ । सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दलको मोर्चाबाट कांग्रेसकी ईश्वरी न्यौपाने सभामुखका प्रतिस्पर्धी बनेका छन् । सत्ता गठबन्धनका उम्मेदवार घिमिरेको प्रस्तावकमा सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन छन् । कांग्रेसकी उम्मेदवार न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन् । सभामुख जित्न १३८ मत आवश्यक पर्छ । घिमिरेलाई एमाले, माओवादी, रास्वपा र राप्रपा मात्रैका सांसद जोड्दा १४४ मत आउने देखिन्छ । न्यौपानेलाई कांग्रेससहित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदको समर्थन रहेकाले १०२ मत मात्रै पक्षमा छ । आजको निर्वाचनबाट सभामुखको छिनोफनो हुनेछ ।

पोखरा विमान दुर्घटनाबारे फ्रान्सेली विज्ञ टोलीको अनुसन्धान
यति एअरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न आएको फ्रान्सको विज्ञ टोलीले घटनास्थलमा अध्ययनाबाट अनुसन्धान सुरु गरेको छ । एटीआर विमान निर्माता कम्पनी एटीआरको नौ सदस्यीय विज्ञ टोली पोखरा आएर अध्ययन थालेको हो । टोलीले घटनास्थलको अवलोकन, स्थानीय र उडानमा संलग्नहरूसँग कुराकानी गर्ने छ । यता, विमान दुर्घटनापछि सरकारले पूर्व–सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगको टोली पनि पोखरामै रहेर अनुसन्धान गरिरहेको छ । दुर्घटना भएको विमानको ’ब्ल्याक बक्स’ पनि फेला परिसकेको छ । आइतवार बिहान काठमाण्डौबाट पोखरा जाँदैगर्दा विमान दुर्घटना हुँदा सबै ७२ जनाको निधन भएको थियो ।

मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेटन कडाई गरिदै
मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णयमा सरकार पुगेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभएको हो ।

मधेशमा आज सार्वजनिक विदा
मधेस प्रदेश सरकारले आज बिहीवार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो । मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको ज्यान गएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । अहिलेको विदा यही दिवसको निरन्तरता भएको बताइएको छ ।

नेपालका ६ विकास बैंक र चार वित्त कम्पनीमाथी कारबाही
नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंक र ४ वटा वित्त कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएका कानुनी व्यवस्था, मौद्रिक नीति तथा निर्देशनका व्यवस्था उल्लङ्घन गरेको भेटिएपछि कर्णाली विकास बैंक, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नारायणी विकास बैंक, सप्तकोसी विकास बैंक र साल्पा विकास बैंक कारबाहीमा परेका हुन् । यस्तै, वित्त कम्पनीतर्फ नेपाल फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले समेत सीडी रेसियो कायम गर्न नसक्दा जरिवाना तिर्नुपरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो त्रैमासिक अवधिमा तोकिएको मापदण्ड पूरा नगरेका आधारमा जरिवाना तिराईको राष्ट्र बैंकले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ