Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपाल अपडेट : एउटै हेडलाईनभित्र पढौँ प्रमुख ५ खबरहरु

नेपाल अपडेट : एउटै हेडलाईनभित्र पढौँ प्रमुख ५ खबरहरु


काठमाडौं । नेपालमा भ्रष्टाचारको डरलाग्दो अवस्था, रविविरुद्धको उजुरी लिन अश्विकार, आर्थिक मन्त्रीसँगै बजेट कटौँती, हवाई यात्रु निरन्तर घट्दै र क्रिकेटर सन्दीपको निलम्बन फुकुवा बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

यस्तो छ ट्रान्सपरेन्सीको अध्ययन, नेपालमा घट्न सकेन भ्रष्टाचार
नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टीआई) ले मङ्गलवार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई) २०२२ अनुसार एक सयमा ३४ अङ्क पाएर नेपाल ११० औँ स्थानमा पुगेको हो । सन् २०२१ मा नेपाल ३३ अङ्कका साथ ११७ औँ स्थानमा थियो । पछिल्लो सूचकाङ्कअनुसार नेपालले अघिल्लो वर्षको भन्दा एक नम्बर बढी पाएको छ भने सात स्थान सुधार भएको देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्ग भने यो उल्लेख्य सुधार मान्न नसहिने बताउनुहुन्छ । अझपनि ठूला–ठूला भ्रष्टाचार त केन्द्रीयस्तरमै भएका छन्, जहाँ धेरै रकमको चलखेल भएको पाइन्छ । यस्तै सेवा प्रदायक कार्यालयहरू मालपोत, कर कार्यालय, यातयात लगायतमा भ्रष्टाचार हुने गरेकोमा पछिल्लो समयमा पालिकामा पनि धेरै भ्रष्टाचार बढेको, निर्माण कार्यमा धेरै भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेशनलले औंल्याएको छ ।

रविविरुद्धको जाहेदी दर्ता गर्न अश्विकार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको दाबीसहित राहदानी ऐनअनुसार कारवाही गर्न माग गर्दै युवराज सफल (पौडेल)ले दर्ता गर्न लागेको निवेदन काठमाडौं प्रहरी परिसरले अस्वीकार गरेको हो । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले जाहेरी दर्ता नगरिएको बताउनुभयो । सिन्धुलीका पौडेलले लामिछानेविरुद्ध अध्यागमन विभाग कालिकास्थानमा दिएको जाहेरी समेत अस्वीकार गरिएको छ । प्रहरीमा राहदानी ऐन अनुसार कारवाही हुनुपर्ने माग सहितको जाहेरी छ भने अध्यागमन विभागमा अध्यागमन ऐन अनुसार कारवाही हुनुपर्ने माग दाबी गरिएको छ । राहदानी ऐनको दफा २१ (क)मा झुटो विवरण दिई राहदानी लिन नहुने उल्लेख छ । त्यसरी राहदानी लिएमा दुईदेखि पाँच लाख रुपैयाँ जरिवाना, एकदेखि तीन वर्ष कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ । उजुरीमा लामिछानेमाथि ‘जाली राहदानी’ प्रयोग गरेको आरोप लगाइएको छ । पौडेल लामिछानेको नागरिकताको बैधानिकतामाथि प्रश्न उठाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नेमध्येका एक हुन ।

सबै संघीय निकायको चालु बजेट २० प्रतिशतले कटौँती
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययीता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको छ । कोरोना महामारी र रुस–युक्रेन युद्धको प्रभावका कारण अर्थतन्त्रमा चाप परेको भन्दै अर्थ मन्त्रालयले खर्च कटौती र मितव्ययीताका लागि विभिन्न निर्णय लिएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ मा भएको व्यवस्था बमोजिम विभिन्न निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ । सङ्घीय सरकारको सबै मन्त्रालय र निकायको स्वीकृत बजेटको इन्धन, मर्मत–सम्भार, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका, छपाइ तथा सूचना प्रकाशन, सेवा र परामर्श, सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्च, भ्रमण, अन्य भत्ता लगायतको बजेट तत्काल लागू हुने गरी २० प्रतिशत कटौती गरिएको छ । चालु आर्थिक वर्षका लागि स्वीकृत बजेट तथा कार्यक्रमभित्र परेका तर खरिद प्रक्रिया सुरु भइ नसकेका आयोजना तथा कार्यक्रमको हकमा अर्थ मन्त्रालयको पूर्वस्वीकृति र सहमतिमा मात्र खरिद प्रक्रिया अगाडि बढाउने, अर्थ मन्त्रालयको पूर्वस्वीकृतिविना कुनै प्रकारको नयाँ दरबन्दी सिर्जना थप नगर्ने, नेपाल सरकारको स्रोततर्फका सबै प्रकारका गोष्ठी, सेमिनार र कार्यशाला अहिलेलाई स्थगन गर्ने र फर्निचर र नयाँ गाडी खरिद शीर्षकमा विनियोजित रकम खर्च नगर्ने गरी रोक्का राख्ने निर्णय भएको छ ।

आन्तरिक हवाई यात्रुको संख्या ३८ प्रतिशतले घट्यो
पोखरामा हालै भएको यती एयरलाइन्सको दुर्घटना र प्रतिकूल मौसमका कारण आन्तरिक हवाई यात्रुको संख्या ३८ प्रतिशतले घटेको पाइएको छ । तराईका विभिन्न गन्तव्यमा लाग्ने हुस्सुले समयमा उडान नहुने समस्यासँगै यात्रुको संख्या घटाएको छ । यस्तै, जाडोमा सर्वसाधारणको गतिविधि पनि कम हुने भएकाले अघिल्ला वर्षहरुमा पनि यो बेला आन्तरिक हवाई यात्रुको संख्यामा कमी आउने गरेको थियो । अझ, माघ महिनामा पोखरामा भएको यतीको विमान दुर्घटनाले पनि हवाई यात्रु घटाउन ठूलो भूमिका खेलेको छ । पोखराजस्तो सुरक्षित स्थानमा अहिलेसम्ममकै ठूलो हवाई दुर्घटना भएपछि आम सर्वसाधारणले हवाई यात्राको विकल्प खोजेको आँकलन गरिएको छ । विगतमा हवाई यात्रामा निस्कनेहरुको रोजाइ अहिले बस वा साना सवारीसाधन बनेसँगै हवाई यात्रुहरुको संख्या घटेको छ ।

क्रिकेटर सन्दीपको निलम्बन फुकुवा
नेपालस्थित राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को पोखरामा बसेको बोर्ड बैठकले लामिछानेमाथिको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवाको एजेन्डा बैठकबाट पास भएपनि निलम्बन फुकुवाबारे क्यानले औपचारिक रुपमा धारणा सार्वजनिक गरेको छैन । निलम्बन फुकुवापछि सन्दीपलाई राष्ट्रिय टोलीमा समावेश गर्ने वा नगर्नेबारे समेत स्पष्ट धारणा सार्वजनिक भइसकेको छैन । बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएपछि क्यानले सन्दीपलाई गएको भदौ २३ मा निलम्बन गरेको थियो । उच्च अदालत पाटनले काठमाण्डौ जिल्ला अदालतको आदेश बदर गरी पुस २९ मा २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै हिजो महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ । सन्दीपलाई गएको भदौ ५ गते काठमाण्डौको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप लागेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ