Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : रविको सत्ता मोहदेखी मलेसियाका गृहमन्त्रीको नेपालमा ब्यस्थतासम्म

नेपाल अपडेट : रविको सत्ता मोहदेखी मलेसियाका गृहमन्त्रीको नेपालमा ब्यस्थतासम्म


काठमाडौं । रास्वपाको सरकार मोह, वन समितिमा करोडौँको अनियमितता, जेल फोडेर भाग्ने कैदी पक्राउ, विमानस्थल बन्द हुँदाको मार र मलेसियन गृहमन्त्रीको ब्यस्थता बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

रविको रास्वपाले तत्काल सरकार नछाड्ने, दुई दिने अल्टिमेटम
राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकारको विषयमा निर्णय लिन दुई दिन पर्खिने निर्णय गरेको हो । सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन समेत राष्ट्रिय स्वतन्त्र पार्टीले माग गरेको छ । बैठकमा धारणा राखेका अधिकांश केन्द्रीय सदस्य र सांसदहरूले हतारिएर सरकारबाट बाहिरिन नहुने धारणा राखेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारि दिनुभयो । माघ १३ गते नागरिकताको मुद्दामा अदालतको फैसलाले उपप्रधानसहित गृहमन्त्री रहेका रवि लामिछानेले पद गुमाउनुभएको थियो । पार्टी सभापति र सांसद पद समेत गुमाएका लामिछाने नागरिकता पुन प्राप्तिपछि पार्टीको पुरानै शक्तिमा स्थापित भएपनि गृहमन्त्री बन्ने चाहानामा प्रधानमन्त्री पुष्पकमल दाहाल तगारो बन्दै आउनुभएको छ ।

वन व्यवस्थापन समितिमार्फत ३० करोड भ्रष्टाचार भएको आरोप
मोरङको सुन्दरहरैँचा नगरपालिका– १० मा लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले विगत एक महिनादेखी वन कार्यालयमा लगाएको ताला अझै खुल्न सकेको छैन । वन समितिको मिलेमतोमा ३० करोडभन्दा बढी आर्थिक अनियमितता भएको आरोप लागेको हो । ३० देखि ३५ करोड संस्थाका अध्यक्ष दीपनारायण खाँ र सदस्यसचिव सबडिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझीलगायतको मिलेमतोमा भ्रष्टाचार गरिएको स्थानीय उपभोक्ता मित्रसेन योञ्जनले बताउनुभयो । वन कार्यालयको भवन निर्माणमा समेत भ्रष्टाचार भएको स्थानीयको आरोप छ ।

जेल ब्रेक गरेर भागेका ५ बन्दीमध्ये ३ जना पक्राउ
धनुषाको इलाका प्रहरी कार्यालय, महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोरेर भाग्ने ६ बन्दीमध्ये तीन जना पक्राउ परेका छन् । मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका–६ का रोशनकुमार महतोलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका हरिदीपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ पक्राउ गरिएको छ । गत आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए । बाँकी तीन जनाको खोजी भैरहेको छ । मधेस प्रदेश प्रहरी कार्यालयले घटनामा लापरबाही गरेको भन्दै हिरासत व्यवस्थापन अधिकृतसहित तीनजना प्रहरी निलम्बन गरेको छ ।

लामिडाँडा विमानस्थल बन्द हुँदा दर्जनौँ होटेलमा लाग्यो ताला
खोटाङको लामिडाँडा विमानस्थलमा उडान बन्द हुँदा दर्जनौँ होटेल बन्द भएका छन् । रावाबेँसी गाउँपालिका–३ लामिडाँडास्थित विमानस्थलमा २०७३ सालदेखि उडान नहुँदा दर्जनौँ होटेलमा ताला लागेको हो । २०२८ सालदेखि लामिडाँडा विमानस्थल सञ्चालनमा आएसँगै आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको लामिडाँडा हिजोआज सुनसान बनेको छ । स्थानीय व्यवसायी जगत थापाले दुई चार वटा बाहेक अन्य होटेलहरुमा ताला लागेको बताउनुभयो । खोटाङका तीन वटा विमानस्थलमध्ये लामिडाँडा विमानस्थल सबैभन्दा पुरानो विमानस्थल हो । पर्यटकीय सिजनमा लामिडाँडा विमानस्थलमा एकै दिन हजाइजहाज र हेलिकोप्टर गरी ६० देखि ६८ उडान हुने गरेको थियो । कच्ची र धुलाम्मे विमानस्थल कालोपत्रे गरेपछि नियमित उडान हुने दाबी गर्दै २०७६ असार ३ गते परीक्षण उडान भरिएको भएपनि उडान सुरु गर्न सरकारले तदारुकता नदेखाएको लामिडाँडाका वडा सदस्य महेशकुमार श्रेष्ठले बताउनुभयो ।

राजनीतिक भेटवार्तामा ब्यस्त मलेसियाका गृहमन्त्री
तीन दिने नेपाल भ्रमणका लागि नेपाल आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता गर्नुहुने भएको छ । बिहिबार साँझ काठमाडौँ ओर्लिनुभएका इस्माइलले नेपालका समकक्षी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाली गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुनेछ । भ्रमणका क्रममा दलका नेताहरुसँग समेत सिष्टाचार भेटघाट हुने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ