Tuesday, 26 November 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsलागुऔषध ओसारपसारको ‘ट्रान्जिट हब’ बन्दै नेपाल, भारतीय र नेपाली भरिया !

लागुऔषध ओसारपसारको ‘ट्रान्जिट हब’ बन्दै नेपाल, भारतीय र नेपाली भरिया !


काठमाडौं । अबैद्य लागुऔषध ओसारपसारको ‘ट्रान्जिट हब’ का रुपमा नेपाली भूमि प्रयोग हुँदै आएको विभिन्न तथ्यहरुले देखाएपनि रोकथामको प्रयास सार्थक हुन सकेको छैन । छ जना विदेशी नागरिकसहित १३ जनालाई मङ्गलवार मात्रै पक्राउ गरेर नेपाल प्रहरीको लागु औषध ब्यूरोले सार्वजकि गरेसँगै यो तथ्य फेरी उजागर भएको छ ।

गत माघ २४ गते काठमाडौं महानगरपालिका २८ बाट सोलुखुम्बुका ३५ वर्षीय लाक्पा शेर्पा पक्राउ परेसँगै नयाँ तस्करीको जालो बारे प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा भारतीय नागरिक फैज अहमद, धनुषाका अयान रेजा र जाकिर नदाफ, काभ्रेका दीपक तामाङ र नुवाकोटका लक्ष्मण बखती लगायत पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो । माघ २८ गते चार जना थाई नागरिक लागुऔषध चरेससहित पक्राउ परेका थिए । पछिल्लो पटक लागुऔषध कारोबारमा संलग्न अभियोगमा पक्राउ परेकामध्ये चार जना थाई नागरिक, दुई जना भारतीय र सात जना नेपाली नागरिक रहेका छन् ।

माघ २० मा खैरो हेरोइनसहितका विभिन्न लागुऔषधसहित ५ जना पक्राउ परेको घटना होस वा साउन १ मा ४ किलो चरेससहित साउथ अफ्रिकन, भारतीय र नेपाली पक्राउ परेको अर्को घटना, यी तथ्यले नेपाल लागुऔषधको अबैद्य कारोबारीका लागि सुरक्षित ट्रान्जिट गन्तब्य बन्नेगरेको देखाएको छ । यस्तै, असार ९ गते करिब ५ केजी हेरोइनसहित एक तान्जिनियन र तीन भारतीय नागरिक, असार २ गते ठूलो परिणाममा अर्थात ५१ किलो हेरोइनसहित ७ जना विदेशी नागरिक पक्राउ परेर ट्रान्जिट हबको उजागर भएको थियो । बैशाख ११ मा ७ किलो सेतो हेरोईनसहित एक जाम्बियन नागरिक र लिन आएको अवस्थामा एक भारतीय पक्राउ परेका थिए । गत वर्ष मात्रै अफ्रिकाबाट नेपालको बाटो हुँदै भारत पु¥याउन लागेको ९ करोड रुपैयाँ बराबरको कोकिनसहित एक भारतीय एक दक्षिण अफ्रिकन नागरिक र एक तान्जानीयान पक्राउ परेका थिए ।

पछिल्लो एक दशकमा करिब ६० केजी कोकिन नेपाल भित्रिएको छ । कोकिन तस्करीमा धेरैजसो विदेशी नागरिक भरियाका रुपमा प्रयोग भएका छन् । यस्तै यो अवधिमा सयौँ किलो हेरोइन बरामद भएको छ । पक्राउ पर्ने अधिकांश भारतीयसहित विदेशीहरु रहेकोमा भरियाका रुपमा केही नेपाली समेत प्रयोग भएका छन् । बरामद भएको कोकिन युरोप तथा अफ्रिकन राष्ट्रबाट नेपालको बाटो हुँदै थाइल्याण्ड, ब्राजिल, भारत, हङकङ, भेनेजुयला, लगायतका देशमा तस्करी हुने गरेको प्रहरी अध्ययनले देखाएको छ । कोकिन तस्करीमा नेपाल, भारत, थाइल्याण्ड, बोलिभिया, मलेसिया र पाकिस्तानका नागरिक बढी प्रयोग गरिएका छन् । यस्तै, ब्राजिल, पेरु लगायतका अमेरिकी महादेशीय राष्ट्रबाट नेपालमा कोकिन र हेरोइन भित्रिन्छ ।

कोकिन र हेरोइन नेपालमा प्रयोग नभएर भारत हुँदै चीन, थाइल्यान्ड, हङकङ, सिङगापुर, मलेसिया लगायतका पूर्वी एसियाका मुलुकमा पुग्ने गरेको प्रहरी अधिकारिहरु बताउँछन् । ‘आइस ड्रग’ को रुपमा रहेको एम्फिटामाइन हङकङ, थाइल्यान्ड हुँदै ट्रान्जिटका रुपमा नेपाल ल्याइने गरेको छ । यस्ता लागुऔषध नेपालमा खपत हुने नभई विभिन्न देशबाट नेपाललाई ट्रान्जिट बनाएर आउने र बाहिरिने गरेको अनुसन्धानमा संलग्न अधिकारिहरुले बताउने गरेका छन् । भरिया पक्राउ गरेर सार्वजनिक गरिरहेको प्रहरी मुख्य लागुऔषध कारोबारिसम्म पुग्न सकिरहेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ