पोखरा जहाज दुर्घटना प्रकरण : १४ सेकेण्ड अघिमात्रै प्रशिक्षक पाइलटको हातमा कमाण्ड !
काठमाडौं । पोखरामा माघ १ मा भएको यती एयरको जहाज दुर्घटना बारे क्रमशः नयाँ तथ्य सार्वजनिक भैरहेका छन् । दुर्घटना जाँच आयोगले बुधबार वेबसाइटमार्फत सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले दुर्घटनाको १४ सेकेण्ड अघिमात्र पाइलट अञ्जु खतिवडाबाट कमाण्ड प्रशिक्षक पाइलट कमल केसीले लिएको औँल्याएको छ ।
जहाज १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती खोँचमा खसेको थियो । त्यसको १४ सेकेन्ड अगाडि को–पाइलटको सिटमा रहेका प्रशिक्षक पाइलट केसीले जहाजको कन्ट्रोल लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जतिबेला जहाजमा खतरा जनाउने संकेत देखिइसकेको प्रतिवेदनमा उल्लेख छ । ल्याण्डिङ गियर भने सामान्य तरिकाले नै खुले भएपनि अवतरणका दौरान पाइलट सिटमा बसेकी अञ्जुले को–पाइलटको सिटमा बसेका प्रशिक्षक पाइलट केसीसँग निरन्तर सुझाव मागेको पाइर्एको छ । जहाजलाई निरन्तर देब्रे मोड्ने कि नमोड्ने भनेर खतिवडाले सोध्दा केसीले मोड्न अनुमति दिएका थिए । खतिवडाले जहाज अझै तल लैजाने वा नलैजाने भनी सोध्दा त्यसो नगरी इन्जिनको पावर बढाउन भनेका थिए । तर, इन्जिनमा पावर नआएको पत्तो पाएसँगै अन्तिम क्षणमा जहाजको कमाण्ड प्रशिक्षक पाइलट केसीको हातमा सुम्पिएको पाइएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘यो महत्वपूर्ण छ कि पाइलट अञ्जु खतिवडा (पीएफ) ले १०ः५७ः१८ मा जहाजको कन्ट्रोल पाइलट कमल केसी (पीएम) लाई हस्तान्तरण गरेकी थिइन् । १०ः५७ः२० मा केसीले पनि इन्जिनबाट कुनै शक्ति नआएको बताए ।’ त्यतिबेला जहाज जमिनदेखि ३११ फिट माथि थियो । दुर्घटनाका बेला जहाज धावनमार्गको बेस लेगमा रहेको थियो । अर्थात जहाज मोड्नुपर्ने अवस्थामा थियो । त्यसबेला जहाजका दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको छ । यस्तो अवस्थामा जहाज अगाडि बढ्न सक्दैन । जसले गर्दा जहाज सेती खोँचमा झरेको आँकलन गरिएको छ ।
यो अवस्था आउनुमा इन्जिनकै खराबी थियो वा मानवीय कमजोरी ? अवतरण गर्ने मार्गमै केही समस्या थियो वा थिएन भन्नेबारे भने विस्तृत प्रतिवेदनले मात्र देखाउने छ । दुर्घटना जाँच आयोगले अबको अनुसन्धान यी तीन विषयमा केन्द्रित हुने जनाएको छ । दुर्घटना भएकै दिन उही चालक दलका सदस्यको यो तेस्रो उडान थियो । जहाज भीएफआर प्रणालीबाट अवतरण गरिरहेको थियो । यो जहाज १०ः३२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । जहाज पोखरा पुगेपछि ६ हजार फिटबाट अवतरणका लागि ३११ फिटको उचाइमा ओर्लिसकेको थियो । ट्राफिक कन्ट्रोलरले जहाजलाई धावनमार्ग ‘थ्री जीरो’बाट अवतरण गर्न अनुमति दिएका थिए ।
पोखरा दुर्घटना नेपालको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा भयानक दुर्घटना थियो । जसमा ७२ जनाको मृत्यु भएको थियो । दुर्घटनालगत्तै सरकारले पूर्वसचिव नागेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको थियो । दुर्घटनाको कारण भने विस्तृत प्रतिवेदनमा मात्र खुल्ने बताइएको छ । दुर्घटना जाँच आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोबाट फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डेटा विश्लेषणको सहयोग लिएको छ । फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको डेटाको विश्लेषण गर्न आयोगको नेतृत्वमा सिंगापुर, फ्रान्स, क्यानडा र आयसाका प्रतिनिधिसमेत बसेर प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया