देशभरका शिवालयमा भक्तजनको भिड, यसरी मनाइदैछ महाशिवरात्रि पर्व
काठमाडौं । महाशिवरात्रि पर्व, आज देशभर भगवान महादेवको पूजा आराधनासहित मनाइँदैछ । शिवरात्रिको अवशरमा महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ ।
महाशिवरात्रिका दिन नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ । पशुपतिनाथ मन्दिरमा यतिबेला भक्तजनको भिड लागेको छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिने गरिन्छ ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुगेका भक्तजनहरुलाई व्यवस्थापनमा कुनै कमी नराखेको जानकारि गराएको छ । बिहान १० बजेसम्म नै करिब डेढ लाखले पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्रविकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारि दिनुभएको छ । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआराधना एवम् दर्शनका लागि जम्मा भएका थिए ।
तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेश्वर महादेव लगायतका शिवालयमा भक्तजनको भिड लागेको छ । आज शिवालयमा पुगेर पुजा आराधना गर्दा मनोकांक्षा पुरा हुने आफुले खोजेजस्तो मनोकांक्षा पुरा हुने जनविश्वास रहिआएको छ ।
तपाईको प्रतिक्रिया