११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस, विश्वभर विभिन्न कार्यक्रम !
काठमाडौं । आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर दिवस मनाउने गरिएको हो ।
यस वर्षको महिला दिवसको नारा डिजिटल आविष्कार र प्रविधिमा लैंगिक समानता भन्ने रहेको छ । प्रविधिमा समानता नभएसम्म लैंगिक विभेद अन्त्य नहुने संयुक्त राष्ट्र संघले जनाए अनुसार नारा तय गरिएको छ । राष्ट्र संघले डिजिटल दुनियाँलाई सुरक्षिता, थप सहभागितामूलक र समतामूलक बनाउनका लागि सबै देशका सरकार, अभियन्ता र निजी क्षेत्रलाई आग्रह गरेको छ । नेपालले विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्ष ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नारा तय गरेको छ । महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले उपलब्धि हासिल गरे पनि महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा अझै धेरै काम हुन बाँकी छ । नेपालको संविधानले अंश र वंशमा महिलालाई समान अधिकारका साथै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अङ्गहरूमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको छ । तर, अझै पनि महिलालाई नेतृत्व र जिम्मेवारी दिन आनाकानी हुने गरेको छ । पछिल्लो समय महिलाहरु पनि आत्मनिर्भर र स्वाबलम्बि बन्दै गएका छन् ।
यसैबीच, दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताउनुभएको छ । महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न दिवसले सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गर्नु भएको छ । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताउनुभएको छ । विभिन्न दलका नेताहरुले सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यता, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले लैंगिक समानताका लागि काम गर्न आग्रह गर्नुभएको छ । अहिले पनि लैंगिक विभेद रहेको तथा महिला र पुरुषबीचको समानताका बीचमा खाडल रहेकाले यसलाई समान गराउने क्षेत्रमा अझै धेरै काम गर्नुपर्नेमा गुटरेसले जोड दिनुभएको छ ।
तपाईको प्रतिक्रिया