Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News१ क्वीन्टल सुन तस्करी प्रकरण : मालिक नजिक अनुसन्धान, सुन गालेको प्रत्यक्ष प्रशारण !

१ क्वीन्टल सुन तस्करी प्रकरण : मालिक नजिक अनुसन्धान, सुन गालेको प्रत्यक्ष प्रशारण !


काठमाडौं । करिब १ सय किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदैगर्दा बरामद गरेर अनुसन्धान अघि बढाएको राजश्व अनुसन्धान विभाग सुनका मालिकको नजिक पुगेको छ । पहिलो चरणमा पक्राउ परेकाहरुको बयानका आधारमा विवादास्पद व्यवसायी राकेश अडुकियासँगै हङकङ र दिल्लीका हुण्डी कारोबारी जेएन भनिने जगन्नाथ ज्ञवाली र पवन सरियालाई तर्फ अनुसन्धान सोझिएको हो ।

राजश्व अनुसन्धान विभागले बुधबार विवादास्पद व्यवसायी अडुकियाको कमलपोखरीस्थित घरमा छापा मारेर ब्रेक सु लेखिएका ६६ काटुनसँगै केही महत्वपुर्ण कागजात बरामद गरेको छ । अडुकिया विगतमा गोरखा विकास बैंक घोटाला प्रकरण, सेयर कारोबारमा समेत बिवाद पर्दैआएका व्यक्ति हुन । भारत, हङकङ र दिल्लीको पछिल्लो ट्राभल हिस्ट्रीका आधारमा समेत नेपाल हुँदै तस्करीको सुन भारत लग्न अडुकियाले भुमिका खेलेकोमा विभागको आशंका छ । उनीसँगै तस्करीमा सरिया र ज्ञवालीको समेत संलग्नतालाई पुष्टि हुने आधारको खोजीमा अनुसन्धान केन्द्रीत भएको छ । गत साता बाहिरिएको एक क्विन्टल सुन काण्डमा मुछिएका राकेशको घरमा छापा मारेर केही कागजात र ब्रेक सु बरामत गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । भारतीय नागरिक थुप्तेन छिरिङ र चिनियाँ नागरिक जेक्युयाङ लीन अहिले अनुसन्धान लक्षित गरिएकाहरुका सहयोगी रहेको प्रारम्भिक आँकलन गरिएको छ । अडुकियाले पछिल्लो छ महिनामा गरेको हङकङ,दुबई,नयाँ दिल्ली र बैंककतिरको शंकास्पद यात्राले समेत अनुसन्धान सहज भएको छ । चिनियाँको अर्को सेल्टरमा पनि प्रहरीले छापा मारेर अभियोग पुष्टि हुने प्रमाणको खोजी गरिरहेको छ ।

संसदमा उठ्यो उच्चस्तरिय छानविनको माग
यता, विमानस्थलको भन्सार पार भएर बाहिरिएको करिब एक क्वीन्टल सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरिय छानविन आयोग नै बनाउनुपर्ने आवाज समेत उठिरहेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले त भरियाहुँदै मालिकसम्म पुग्नेगरि अनुसन्धान अघि बढाउनुपर्ने माग राखेर संसद अवरोध समेत गरिरहेको छ । कतिपय सांसदहरुले विमानस्थल भन्सार मात्रै नभए गृहमन्त्री, अर्थमन्त्री समेत नैतिक परिबन्धमा परेको भन्दै मिलेमतोको आशंका अभिव्यक्त गरिरहेका छन् ।

प्रत्यक्ष प्रसारण गरेर तस्करीको करिब १०० किलो सुन गालिने
हालसम्मकै ठूलो सुन तस्करी घटना कसरी भयो र सुन लुकाउनका लागि के–केसम्म भयो भन्ने जानकारी आम सर्वसाधारणलाई दिने हिसाबले सरकारी टेलिभिजनबाट सुन गालिएको प्रत्यक्ष प्रसारण गर्नेगरि तयारी गरिएको छ । सुरक्षाको उपाय अवलम्बन गर्दै सरकारी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने गरी छलफल भएको राजश्व अनुसन्धानले जनाएको छ । प्रधानमन्त्री स्वदेश फर्किए पछि मात्रै तस्करीको सुन गाल्नेगरी तयारी अघि बढाइएको छ । सुन गाल्नका लागि राजस्व अनुसन्धन, भन्सार विभाग, राष्ट्र बैंक आन्तरिक लेखा परीक्षण विभाग, टक्सार लगायत ८ देखि १४ जना अधिकारीको प्रत्यक्ष निगरानी चाहिन्छ । ‘ब्रेक शु’बाट सुन छुट्ट्याउन एक दिन लाग्ने र गुणस्तर जाँचका लागि थप केही घण्टा लाग्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ