Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको मेलबर्नमा नेपाली पहिचान, मन्दिर र गुम्बा सहितको सामुदायिक भवन !

अष्ट्रेलियाको मेलबर्नमा नेपाली पहिचान, मन्दिर र गुम्बा सहितको सामुदायिक भवन !


मेलबर्न। विश्वको जुनसुकै ठाउँमा पुगेपनि आफ्नो जन्मभूमी, रहनसहन, संस्कार तथा संस्कृति र आफ्नो समुदायप्रतिको माया अनि लगाव संगै रहन्छ। अष्ट्रेलियामा रहेको नेपाली समुदायलाई हेर्दा एउटा मिनी नेपाल जस्तो भएर रहेको महसुस हुन्छ। नेपाली नयाँ वर्षदेखि साना ठूला चाडपर्वसम्म यहाँ रहेको नेपाली समुदायले आफ्नो पहिचान झल्काउँदै धुमधामसंग मनाउने गर्दछ।

यसरी आफ्नो संस्कार, रितिरिवाजको जगेर्ना तथा प्रबर्द्धन गर्दैगर्दा मेलबर्नको नेपाली समुदायले आफ्नै सामुदायिक भवन र सांस्कृतिक केन्द्रको आवश्यकता महसुस गरी त्यसका लागि अगाडी बढिरहेका छन् । यसका अधिकांश कामहरु पूरा पनि गरिसकेका छन् । मेलबर्नवासी नेपाली समुदायले अष्ट्रेलियन नेपाली बहु-सांस्कृतिक केन्द्र (ANMC) नाम दिई आफ्नै सामुदायिक भवन निर्माणका लागि पहल सुरु गरेको हो।

मन्दिर र गुम्बा सहितको सामुदायिक केन्द्र निर्माणको उद्देश्य लिएर सन् २०१४ मा एएनएमसीको स्थापना भएको थियो। त्यसयता समुदायको आर्थिक लगायत विभिन्न योगदान र सरकारी आर्थिक सहयोग मार्फत यस संस्थाले आफ्ना कामहरु अगाडी बढाइरहेको छ। संस्थाले मन्दिर र गुम्बा सहितको भवन निर्माणका निम्ति डिगर्स रेस्टमा खरिद गरेको १०० डण्कन्स लेनको १५ एकड जग्गा किनेको छ। उक्त जग्गामा पूजाआजा तथा त्यस सम्बन्धि कार्य गर्नका लागि स्थानीय काउन्सिलले गत वर्षको जुन २ तारिखमा अनुमति प्रदान गरेसंगै नेपाली समुदायले उक्त जग्गामा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ भने जमघटका लागि भवन निर्माण, मर्मत समेत गरिसकेको छ।

भिक्टोरिया राज्य सरकारको अनुदानमा हालै मन्दिर परिसरमा सार्वजनिक शौचालय निर्माण, कार्यक्रमहरु गर्नका निम्ति छुट्टै स्टेजसहितको व्यवस्था, परिसरको सुरक्षा व्यवस्थाका लागि सीसीटिभी लगायतको जडान गरिएको थियो । केही समय अघि मन्दिरमा भगवान दुर्गा, गणेश र शिवलिङ्गको मूर्ती प्राणप्रतिष्ठा सम्पन्न गरिएको थियो । यस्तै भगवान गौतम बुद्धको मूर्ति स्थापना गरी यसलाई ध्यान केन्द्र समेत सञ्चालन गरिएको छ । आफ्नो उद्देश्य तथा गुरुयोजनालाई मूर्तरुप दिनका लागि एएनएमसीले दसैँको अवसरमा नवाह ज्ञान महायज्ञको आयोजना गर्दैछ। आगामी अक्टोबर १५ देखि २४ तारिखसम्म आयोजना हुने यस धार्मिक अनुष्ठानको नेतृत्व पण्डित दिनबन्धु पोखरेलले गर्नुहुने एएनएमसीले जनाएको छ।

यसै सन्दर्भमा एनएनएमसी संगै महायज्ञ आयोजनाको उद्देश्यका बारेमा संस्थाका अध्यक्ष गान्धी भट्टराई भन्नुहुन्छ, ‘महायज्ञ भन्नासाथ पैसा जुटाउने माध्यम भन्ने धेरैले बुझ्नुहुन्छ, हो हामी ऋणमा छौं र आर्थिक सहयोग संकलन यो महायज्ञको एउटा लक्ष्य हो, तर सम्पूर्ण उद्देश्य नै त्यही भने होइन। कतिपयले एएनएमसीका बारेमा थाहा पाउनुभएको छैन, उहाँहरुलाई यसबारे जानकारी दिनु, र सामुदायिक एकतालाई महत्त्व दिंदै, हाम्रो नेपालीहरुको आपसी सद्भाव तथा एकतालाई प्रबर्द्धन गर्दै, हाम्रो संस्कृति तथा रितिरिवाजको संरक्षण गर्दै एकसाथ दशैं मनाउनु महायज्ञ आयोजनाको अर्को उद्देश्य हो। आर्थिक पक्षको कुरा गर्दा, हामीलाई सरकारले पनि अनुदान दिएको छ तर त्यो पर्याप्त छैन, त्यसैले हामी अहिले ऋणमा छौं, सबैसंग हातेमालो गरेर संस्थालाई ऋणमुक्त बनाउनु हाम्रो आर्थिक संकलन अभियानको उद्देश्य हो। हामीले क्षेत्रीय र केन्द्रिय सरकारको थप अनुदानका लागि पनि पहल गरिरहेका छौं।’

ऋणमा रहेर, सबैसंग आर्थिक संकलन गरेर सांस्कृतिक भवन निर्माण गर्ने विषयमा प्रश्न उठ्ला कि भन्ने हाम्रो जिज्ञासामा उहाँ भन्नुहुन्छ, ूयसअघि हामी सानो कार्यक्रम गर्दा पनि, पूजाआजा गर्दापनि अरुको ठाउँमा गएर गर्नुपर्ने हुन्थ्यो। जसले गर्दा हामीले स्वतन्त्र रुपमा हाम्रो आफ्नै संस्कार र रिति अनुसार ती कार्य गर्न पाउँदैनथियौं। अहिले यहाँ पूजाआजा भइरहँदा हामीले सबैले अपनत्व महसुस गरेर आफ्नो रुचि तथा चाहना अनुसार गर्न पाइरहेका छौं। सामुदायिक एकताको महसुस गर्न पाएका छौं। र, यो आजका दिनका लागि मात्र होइन, नेपाली समुदायका भावी सन्ततिहरुका लागि आफ्नो पहिचान, संस्कार(संस्कृति जान्न, बुझ्न, महसुस गर्न तथा अपनत्व दिलाउनका लागि पनि हो।ू

अध्यक्ष भट्टराईले हाल सामुदायिक भवनको मन्दिरमा दैनिक बिहान बेलुका आरती भइरहेको र आगामी नोभेम्बर १५ देखि मन्दिर खुल्ला हुने समय सहित दैनिक पूजाआजा संचालन हुने जानकारी दिनुभयो। यस्तै, संस्थाको उद्देश्य प्राप्तिका लागि के(के काम गरिरहेको छ र कसरी अगाडी बढ्दैछ भन्ने प्रस्ट्याउँदै संस्थाका सचिव डा तिलक पोखरेल भन्नुहुन्छ ,ूमास्टरप्लान अर्थात गुरुयोजना बनाएका छौं। नेपाली समुदायको आवश्यकता तथा चाहनालाई केन्द्रबिन्दुमा राखीएको छ। हामीले सात चरणमा योजना छुट्टाएर काम गरिरहेका छौं। पहिलो चरण सम्पन्न भइसकेको छ। मानिसहरु बस्ने, जम्मा हुने घर बनाएका छौं। मूर्ति प्रतिस्थापन पनि गर्यौं। हरितालिका तीजमा नेपाली समुदाय जम्मा भएर तीज मनायौं, जुन अहिलेसम्मकै भव्य कार्यक्रम पनि रह्यो। अब अर्को चरणका लागि हामीले ‘ब्रेनस्ट्रोमिङ्गु गरिरहेका छौं।’ उहाँ भन्नुहुन्छ ‘हाम्रो अहिलेको मूख्य चुनौती भनेको ऋण हो। संस्थाको संदेश सहित ऋणबाट मुक्त हुन आर्थिक सहयोग संकलनका लागि महायज्ञको आयोजना गरिएको हो। हामीले यो विश्वास लिएका छौं कि, संस्थाको उद्देश्यका निम्ति हजारौंको संख्यामा सहभागिता जुट्नेछ र नेपालीहरुको एकताको संदेश पनि प्रवाह हुनेछ ।’

एएनएमसीमा दसैंका लागि निःशुल्क जमरा वितरणको यसअघिको कार्यक्रमलाई निरन्तरता दिइने र यस पटक दशमीका दिन मन्दिरमा नै टिका लगाउने व्यवस्था समेत गरिने बताइएको छ। सचिव डा तिलक पोखरेलका अनुसार, १५ अक्टोबरमा कलश यात्राका साथ महायज्ञ सुरु हुनेछ । अन्य दिन सोमबारदेखि शुक्रबारसम्म दिउँसो ४ बजेदेखि राति ८ः३० बजेसम्म, शनिबार र आईतबार दिउँसो २ बजेदेखि साँझ साढे ८ बजेसम्म सप्ताह तथा नवाह कथावाचन गरिनेछ । आरति हरेक दिन साँझ ७ः३० बजे गर्ने योजना रहेको छ ।

महायज्ञको समापन विजया दशमीको दिन अक्टोबर २४ मा टीका जमरा सहित गरिनेछ भने अक्टोबर २२ तारिखका दिन भिक्टोरिया राज्यका बहुसांस्कृतिक मन्त्रीका साथै अन्य अतिथिहरुको उपस्थितिमा नवनिर्मित संरचनाहरुको उद्घाटन गरिनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ