Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा,यस्तो छ ४ दिने भ्रमण तालिका

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा,यस्तो छ ४ दिने भ्रमण तालिका


काठमाडौं । चारदिने औपचारिक भ्रमणका क्रममा आज संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुग्नुभएको छ । महासचिव गुटेरेसलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभएको हो ।

महासचिव गुटेरेस आउने क्रममा विमानस्थलमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनको कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्ला–बेग्लै शिष्टाचार भेट गर्ने तालिका छ । उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसले छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ । भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्नुहुन्छ ।प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्दैहुनुहुन्छ ।

भ्रमणका क्रममा सोमबार गुटेरेस नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी भ्रमणमा निस्किनुहुनेछ। आगामी मङ्गलबार अपराह्न ४ः०० बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लाग्नु भएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री दाहालको निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक भ्रमणका क्रममा नेपाल आउनु भएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ