Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalतिहारको चौथो दिन : यमपञ्चक अन्तर्गत गोवर्द्धन पूजा गरिदै, नेवारी समुदायमा महः पूजा !

तिहारको चौथो दिन : यमपञ्चक अन्तर्गत गोवर्द्धन पूजा गरिदै, नेवारी समुदायमा महः पूजा !


काठमाडौं । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी आज पूजा गरिदैछ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन रहिआएको हो । आजै नेवारी समुदायले म्हः अर्थात् (आत्म) पूजा गर्दैछन् ।

कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवर्द्धन पूजा गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भगवान विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन छ । यस्तै, वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरु, गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ । आजको दिनलाई हली तिहार पनि भनिन्छ । बुधबार तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ । भोलि बिहान १० बजेर ५१ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारि दिएको छ । भोलि दिनभरि नै टीका लगाउन सकिने छ ।

आजै नेवारी समुदायले नयाँ वर्ष प्रारम्भ भएको रुपमा नेपाल संवत् ११४४ मनाउँदैछन् । सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल सम्वत् ११४४ लाई समेत आजदेखी बिक्रम संवत जस्तैगरि सरकारी कागजातमा उल्लेख गर्ने निर्णय गरेको छ । नेपाल सम्बत्का अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा राष्ट्रिय विभूति शङ्खधर साख्वाले खेलेको भूमिका अविस्मरणीय रहेको स्मरण गराउनुभएको छ । नेपाल संवत्का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र एकताको शुभकामना समेत प्रधानमन्त्री प्रचण्डले दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ