देशभर प्रहरीको जुवा अप्रेशन, एकैदिन ९८ जुवाडे पक्राउ पर्दा २२ लाख ३२ हजार बरामद !
काठमाडौं । प्रहरीले चलाएको जुवातास विरुद्धको अप्रेशनका क्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट ९८ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले २२ लाख ३२ हजार १४८ रुपैँया बरामद गरेको छ । प्रहरीले चलाएको सर्च अप्रेशनमार्फत काठमाडौं र ललितपुरबाट २५ जना, कञ्चनपुरबाट ४२ जना, सिन्धुलीबाट ४ जना, डडेलधुराबाट १३ जना, दार्चुलाबाट ७ जना र संखुवासभाबाट ७ जना गरी जम्मा ९८ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर, ललितपुरले क्लासिक टावरको ए ब्लकमा खेलाइएको जुवाखालमा छापा मारेर नेपाली सेनाका एक जना पूर्वउपरथीसहित ८ जनालाई पक्राउ गरेको छ । विशेष अपरेशनमा पक्राउ पर्नेमा पूर्वउच्च सैनिक अधिकृतसहित ललितपुरका केही व्यवसायीहरु रहेको बताइएको छ । पूर्वउपरथीले पछिल्लो समय नियमित रुपमा जुवा खेल्दै खेलाउँदै आएको सुराकी पछ्याएर प्रहरीले नगद १६ लाख ८२ हजार ५ सय रुपैयाँ सहित जुवाडे पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा एनआरएनएका पूर्व उपाध्यक्ष कतार निवासी टेक बहादुर कार्कि (टिबि कार्की) र स्विजरल्यान्ड एनआरएनमा सक्रिय सन्जय मुडभरि रहेको बताइएको छ । यता, काठमाडौं, शंखरापुर नगरपालिका–१ नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दंगालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दंगाल समेत ८ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट नगद ७६ हजार ८ सय ३५ रुपैयाँ बरामद गरेको छ । नाङ्लेभारेस्थित शिव मन्दिरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ ढुङ्गाना गाउँ बस्ने ४२ वर्षीय मधु रमालसमेत ९ जनालाई ४० हजार ८ सय ५५ रुपैया सहित पक्राउ गरिएको छ ।
कञ्चनपुर, भिमदत्त नगरपालिका–१७ बाँसखेडा बस्ने भिम बहादुर ठगुन्नाको घरमा जुवातास खेलिरहेको अवस्थामा २८ जनालाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट २ लाख ५८ हजार ६ सय ९४ रूपैयाँ बदामद गरिएको छ । सोही नगरपालिका–१६ मझगाउँस्थित मनोज धानुकको मनोज रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ६ जना नगद २५ हजार ४ सय ६० रूपैयाँसहित पक्राउ परेका छन् । कञ्चनपुर, बेलौरी नगरपालिका–६ दुम्लीस्थित गजेन्द्र रानाको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय राम बहादुर रानासहित ८ नगद २२ हजार ४० रुपैयाँसहित पक्राउ परेका छन् । सिन्धुली, सुनकोशी गाउँपालिका–६ खाल्टे बस्ने ५० वर्षीय रामे माझीको घरमा जुवातास खेलिरहेको अवस्थामा ४ जना नगद २२ हजार ७ सय ६० रुपैयाँसहित पक्राउ परेका छन् । डडेल्धुरा, अमरगढी नगरपालिका–१ मौरडास्थित धर्मराज जोशीको घरमा जुवातास खेलिरहेको अवस्थामा स्थानीय ओम प्रकाश जोशीसहित १३ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले नगद २१ हजार ३ सय ७९ रुपैयाँ बरामद गरेको छ । दार्चुला, महाकाली नगरपालिका–५ गल्फै बस्ने ३२ वर्षीय केशव दत्त भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट लगायत ७ जनालाई नगद ४३ हजार ३ सय रुपैयाँ सहित पक्राउ गरिएको छ । संखुवासभा, चैनपुर नगरपालिका–३ तिनखोप्रे बस्ने ३६ वर्षीय हर्कमणि कटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा स्थानीय प्रेम बहादुर कटुवालसहित ७ जना नगद ३८ हजार ३ सय २५ रुपैयाँसहित पक्राउ परेका छन् ।
मंगलबार एकदिनमा पक्राउ गरिएका यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया