नेपालको हिमाली क्षेत्रमा हिमपात, बढ्न थाल्यो देशैभर चिसो !
काठमाडौं । सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएसँगै आसपासको क्षेत्रको मौसम थप चिसिएको छ । अधिकांश हिमाली क्षेत्रमा विहानदेखी जारी हिमपातले आसपासको क्षेत्रमा अत्यधिक चिसो बढेको छ भने देशभरकै मौसम थप चिसिएको छ ।
हुम्ला सदरमुकाम सिमकोटमा बिहान ६ बजेदेखि नै हिमपात जारी छ । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । सुर्खेतको वीरेन्द्रनगर र आसपासका क्षेत्रमा गएरातिदेखि आज बिहानसम्म पानी परेको छ । दैलेखमा पनि पानी परेको स्थानीयले बताएका छन् । बाजुरामा पनि हिमपात भईरहेको बताइएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिमपात र वर्षा हल्का खालको रहेको जनाएको छ । मौसमविद सरोज पुडासैनीले पश्चिमी वायुको प्रभावले हल्का हिमपात र हल्का वर्षा भइरहेको र यसको प्रभाव आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको जानकारि दिनुभएको छ ।
मौसमविदका अनुसार गण्डकी र बागमती प्रदेशमा सामान्य बदलीको अवस्था छ । कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली छ भने मधेश प्रदेश र कोशी प्रदेशको दक्षिणी भूभागमा मौसम सफा छ । काठमाडौं उपत्यकामा कहिले घाम लाग्ने र कहिले बादल लाग्ने भइरहेको छ । काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ ।
तपाईको प्रतिक्रिया