Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभिजिट भिसाको सेटिङ : अध्यागमन अधिकृतसहित ४ जना पुर्पक्षका लागि जेल चलान !

भिजिट भिसाको सेटिङ : अध्यागमन अधिकृतसहित ४ जना पुर्पक्षका लागि जेल चलान !


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामार्फत विभिन्न देशमा नेपालीलाई पठाउन भुमिका खेलेको आरोपमा अध्यागमन अधिकृतसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले मंगलबार थुनछेकबहसपछि अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । यो प्रकरणमा मुछिएका अन्य ६ जनासँग भने अदालतले धरौटी माग गरेको छ ।

गत बिहीबार दर्ता भएको मुद्दामा सुनुवाई सकेर न्यायाधीश कपिलमणी गौतमको इजलासले अधिकृत खड्कासहित अरुण दाहाल, सरोजकुमार यादव, मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । यही मुद्दामा पक्राउ परेका गीता शाहसँग ५ लाख रुपैयाँ, पदम लामासँग १ लाख, विनोद कार्कीसँग २ लाख, दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७–७ लाख तथा रविन अर्यालसँग १ लाख रुपैयाँ धरौटी माग गरिएको छ। भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा चलाइएको थियोे । माघ १८ गते जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते गरी संगठित अपराध गरेको आरोपमा फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

मंसिर १८ मा अध्यागमन अधिकृत नरवीर खड्कालाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेपछि भिजिट भिसाको सेटिङ प्रकरण बाहिरिएको थियोे । खड्काको साथबाट रामेछापको दोरम्बा गाउँपालिका–७ का ट्राभल एजेन्ट पदम लामाले दिएको दुई लाख रुपैयाँसमेत बरामद भएको थियो । खड्काकै बयानबाट ८ जना अरु अध्यागमन अधिकृत पक्राउ परेर मुद्दा अघि बढेको थियो। अनुसन्धानका क्रममा खड्का र लामाको मिलेमतोमा भिजिट भिसामा विदेश उडाइएका दर्जनौँ युवाको सूची प्रहरीले भेट्टाएको थियो ।

फरार रहनेमा ८ जना अध्यागमनकै अधिकृतहरु छन्। अरु चार जना सेटिङका अन्य भुमिकामा संलग्न व्यक्तिहरु रहेका छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ