२ को मृत्यु, बढ्दै कोरोना संक्रमण, हजार बिरामी धान्न नसक्ने स्वास्थ्य पुर्वाधार
पुण्यप्रसाद धमला, काठमाडौं । पहिलो केसबाट दोस्रो केस देखिन ५८ दिन लागेको नेपालमा पछिल्लो एक महिनामै दुई सय बढी संक्रमित पहिचान भए । हुन त, संक्रमणको सुरुवाती चरणमा स्वास्थ्य मन्त्री सहित मन्त्रालयका अधिकारीहरुले १ बाट २ भयो अब १ सयभन्दा कट्न दिन्नौं भन्ने दाबी गरिरहेका थिए । विशेषज्ञता नै नभएका राजनीतिक विज्ञको पूर्वानुमानको भर पर्दा स्वास्थ्य मन्त्री चिप्लिए, सरकार चिप्लियो र अहिले कोरोनाको महामारीको आँकलन गर्न थालिएको छ ।
पछिल्लो समय पहिचान भएका अधिकांश संक्रमित भारतबाट स्वदेश भित्रिएका छन् । उनीहरुकै कारण व्यक्ति हुँदै समुदायमा समेत संक्रमण सरेको पाईएपछि काठमाडौं उपत्यका सहित प्रदेश पाँच र दुईमा थप जोखिमको आँकलन गरिदैछ । बागमती प्रदेशको काभ्रेमा एक सुत्केरी महिलाको कोरोनाकै कारण मृत्यु भएपछि काठमाडौं उपत्यका नै असुरक्षित बन्न थालेको छ । अझ, वैशाख ३० गते भारतबाट नेपाल आएका एक युवाले स्वास प्रश्वासमा समस्या आएपछि क्वारेन्टाइनमै ज्यान गुमाए । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका अर्का २५ वर्षीय युवा उपचार नै नपाएर मरेको अर्को घटनाले कोरोना संक्रमण नेपालमा थप भयाबह हुने शंकेत गर्छ ।
संक्रमित सयबाट ननाघ्ने आँकलन गर्ने स्वास्थ्य मन्त्रालयका बिज्ञ अनि नेपालमा कसैले ज्यान गुमाउनु पर्दैन स्थिति सामान्य रहन्छ भन्दै ठोकुवा गर्ने स्वास्थ्य मन्त्री भानुभक्त ढकाल कहिल्यै क्वारेन्टाइन, आइसोलेसन लगायतको पूर्वाधार व्यवस्थापनमा गम्भिर भएनन् ।
वीरगञ्जको नारायणी अस्पतालमा आइसोलेसनमा बसेका २ जना बिरामी भागे । नारायणी अस्पतालमा बेडको अभाव भएर कतिपय संक्रमित स्कुल र मदरसामा राखेर उपचार गर्नुपर्ने बाध्यता आयो । यो तथ्यले संक्रमितको सङख्या बढ्नासाथ उपचार पाउन गाह्रो हुने संकेत गरेको छ । पूर्वतयारी गर्ने ४ महिना लामो समय पाउँदा पनि सरकारले केही नगरेको प्रमाणित क्वारेन्टाईन र संक्रमित उपचार गर्ने आइसोलेसनको अवस्थाले आफै देखाएको छ ।
संक्रमित भागे गोली हान्ने आदेश दिनसक्ने सरकारले अस्पतालको अस्तव्यस्त आइसोलेसन वार्डका बारेमा कतै बहस गरेन । अन्य देशमा भएको मानवीय क्षतिलाई नजरअन्दाज गरियो । परीक्षणको दायरा बढाउन चासो दिइएन । कतिपय जनस्वास्थ्य विज्ञ त महामारीविरुद्द लड्ने मानसिकता नै सरकारले नबनाएको दाबी गरिरहेका छन् ।
आखिर नेपालको स्वास्थ्य अवस्था कस्तो छ त ?
मन्त्रालयको तथ्यांकअनुसार देशभर निजी र सरकारी अस्पतालको कुल बेड सङख्या नै २६ हजार नौ सय ३० छ । यी अस्पतालमा तीन हजार ७६ आइसोलेसन बेड छन् । जहाँ कोभिड १९ बाहेकका अन्य बिरामीहरूको पनि उपचार भैरहेको छ र गराउनुपर्छ । देशभरका अस्पतालमा १ हजार पाँच सय ९५ आईसीयू बेड, ८ सय ४० भेन्टिलेटर रहेको सरकारी आँकडा छ । देशभरका एक सय ९४ वटा अस्पतालमा मात्रै आईसीयू सुविधा छ ।
पूर्वाधार र सुविधाका आधारमा लेभलिङ गरिएका अस्पताल २७ मात्रै छन् । लेभल एक अस्पताल १३ वटा, लेभल २ अस्पताल १२ र लेभल ३ अस्पताल तीनवटा छन् । सरकारले डेन्जर जोन मानेको प्रदेश २ र ५ मा त अस्पताल र स्वास्थ्य पूर्वाधारको अवस्था भद्रगोल छ ।
जिवाणु वैज्ञानिक समिरमणि दीक्षित, संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी र जनस्वास्थ्य विज्ञ शरद वन्तले बारम्बार सरकारलाई भनिरहे । उच्चस्तरको सावधानी पुगेन भने नेपालमा कोरोना नियन्त्रण बाहिर जान सक्छ । तर सरकारले सुनेन । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पहिलो केस भेटिँदा तयार पारिएको ५ वटा आइसोलेसन बेड, र एक जनाको कोरोनाकै कारण मृत्यु भइसक्दा पनि उही ५ वटै बेड । देशको केन्द्रीय अस्पतालको यो हालतले अन्य प्रदेशस्तरीय अस्पतालहरुको पूर्वाधार र अवस्था आफै झल्काएका छन् ।
प्रदेशस्तरीय अस्पतालको आइसोलेसनमा बस्ने संक्रमित अस्तव्यस्त र भद्रगोल आइसोलेसन वार्डका कारण अन्य रोगले थला परिने चिन्तामा छन् । रपनि आइसलोसेन बेड अभाव र भद्रगोल ब्यवस्थापन सुधार्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तयार देखिदैन । बरु स्वास्थ्य विज्ञहरु अझै एक लाख मानिस संक्रमित भए पनि उपचार गर्न सक्ने दाबी गरिरहेका छन् । यता, स्वास्थ्य मन्त्रालयका विज्ञ टोलीले कोरोना संक्रमण र उपचारको आवश्यकता बारे गरेको अध्ययनले नै संक्रमण बढ्दा नेपालको स्वास्थ्य पूर्वाधारले धान्न नसक्ने देखाएको छ ।
यस्तो छ विज्ञको संक्रमण र उपचार बारेको आँकलन
पहिलो चरणको संक्रमण र उपचार : दुई हजार संक्रमित पुगेको अवस्थामा १६ सय जनालाई आइसोलेसनमा राख्नुपर्ने, उनीहरुमध्ये तीन सयलाई अक्सिजन सपोर्ट र एक सय जनालाई आईसीयू चाहिने आँकलन
दोश्रो चरणको संक्रमण र उपचार : दुई हजारदेखि पाँच हजारसम्म संक्रमित पुग्यो भने ४ हजार जनालाई आइसोलेसनमा राख्नुपर्ने ७ सय ५० जनालाई अक्सिजन सपोर्ट र २ सय ५० जनालाई आईसीयू केयर चाहिने ।
तेश्रो चरणको संक्रमण र उपचार : ५ हजारदेखि १० हजार संक्रमित पुगेको अवस्थामा ८ हजारलाई आइसोलेट गर्नुपर्ने, १५ सयालाई अक्सिजन सपोर्ट र पाँच सयलाई आईसीयू चाहिनसक्ने आँकलन ।
सरकारको पूर्वतयारी र अन्य देशको भयावह तथ्यांक हेर्दा सरकारी विज्ञहरुले मात्रै होइन्, आम नागरिकले पनि कोरोना नियन्त्रण कठिन भनिरहेका छन् । अझ, पछिल्लो समय भारतबाट स्वदेश फर्किएकामा भाइरसको लोड बढी पहिचान हुँदा थप महामारिको आँकलन गरिदैछ । यस्ता संक्रमित एक जनाले १० र १० ले सयलाई संक्रमित गराउन सक्नेछन् ।
अझ, मृत्युपछि कोरोना पहिचान भएको पछिल्लो घटनाले कोरोनाको महामारी भित्रभित्रै भयाबह भएको त छैन भन्ने आशंका उब्जाइदिएको छ । सरकार नागरिकको ज्यानसँग खेलवाड होइन संक्रमणको पहिचान, जोखिमको आँकलन र सम्भावित उपचारको पूर्वतयारीमा गम्भिर बनोस्, अहिले आम नागरिक सरकारसँग यहि भनिरहेका छन् ।
तपाईको प्रतिक्रिया