कोरोना विरुद्धको खोप : अर्बौ डलर खर्चेर यसरी चल्दैछ छिटो ल्याउने होड
एजेन्सी, काठमाडौं । यतिबेला कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप बनाउने दौडधुप जारी छ । दर्जनौं शोधकर्ताको टोली कोरोना भाइरसविरुद्धको खोप बनाउन क्रियाशिल छन् । स्थापित र नयाँ प्रविधिको प्रयोग गरेर गरिएको खोपको खोजीमा उल्लेख्य मात्रामा लगानी भइरहेको छ । वैज्ञानिकहरु एक वर्षभित्रै कोभिड–१९ विरुद्ध खोप तयार गर्ने दौडमा देखिदा अर्बौ डलर लगानी गरिएको छ । सबैभन्दा धेरै लगानी अमेरिका, युरोप र चीनबाट भएको देखिन्छ ।
खोपका लागि यसअघि यति धेरै लगानी गरिँदैनथ्यो । इतिहास हेर्ने हो भने अहिलेसम्म सबैभन्दा छिटो बनेको खोप निर्माणका लागि चार वर्ष लागेको देखिन्छ । अन्य सरुवा रोग लगायतका खोप निर्माणमा १० देखि १५ वर्ष समय लागेको पाइन्छ । आम मानिसमा कोरोना भाइरसविरुद्धको खोप बन्न कति समय लाग्ला, कहिले आउला भन्ने जिज्ञाशा छ । अहिले खोप निर्माणमा अगाडि देखिएका विश्वका प्रमुख तीन शक्तिले कसरी सकेसम्म छिटो खोप उपलब्ध गराउन सक्लान् भन्नेमा धेरैको ध्यान तानिएको छ । निर्माणको चरण पुरा गरेपनि कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेका वा यो खोपको आवश्यकता सबैभन्दा बढी भएका मानिसहरुसँग खोप पुग्न धेरै काम र सम्झौताहरु पार गर्नुपर्ने हुन्छ ।
कोरोना भाइरसविरुद्धको खोप
खोपको खोजमा लागेका वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको खोप सन् २०२१ को सुरुवातसम्म बनिसक्ने दाबी गर्दै आएका छन् । यसैले अहिले खोप निर्माणको प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ । खोप निर्माणका लागि धेरै चरणको परीक्षण पार गर्नुपर्छ । सबै परीक्षण पार गरेपछि मात्र खोप आम मानिसमा प्रयोगको लागि उपयुक्त हुन्छ । हतार हतारमा गरिएको खोपको विकासमा शंका गनेहरु पनि धेरै छन् ।
कसरी हुन्छ र खोपको विकास ?
खोप निर्माणका लागि सुरुवातमा अध्ययन र विकासको काम हुन्छ । यो चरण पार गरेपछि प्रि–क्लिनिकल र क्लिनिकल परीक्षण हुनुपर्छ । यसपछि सुरु हुन्छ, तीन चरणको क्लिनिकल परीक्षण । यी प्रत्यक चरण पार गर्न दुई वर्ष वा सोभन्दा लामो समय लाग्छ । तर कोरोना भाइरसविरुद्धको खोप निर्माण भने छिटो गर्न दुई वा बढी चरण एउटैमा गाभ्ने वा त्यसलाई छाड्नेजस्ता काम भइरहेका छन् ।
प्रि–क्लिनिकल परीक्षण
मानिसमा कुनै पनि नयाँ खोपको परीक्षण गर्नुभन्दा पहिला जनावरहरुमा गरिने परिक्षण हो । जनावरहरुमा यो खोपले काम गर्छ कि गर्दैन र रोगविरुद्धको प्रतिरोधी क्षमताका साथै यसको असरबारेमा अध्ययन गरिन्छ । तर कोरोना भाइरसविरुद्धको केही खोपको एकैसाथ मानिस र जनावरमा परीक्षण भइरहेको छ ।
क्लिनिकल परीक्षण
यो परीक्षण तीन चरणको हुन्छ । यो परीक्षणको पहिलो चरणमा सानो समूहका मानिसलाई खोप दिइन्छ । १० देखि १५ जनामा खोप सुरक्षित छ वा छैन भन्ने मापन यसबाट हुन्छ । पहिलो चरण पार गरेपछि ठूलो समुहमा खोप कत्तिको सुरक्षित छ र कुनै साइट इफेक्ट छ कि छैन भन्ने अध्ययन गरिन्छ । क्लिनिकल परीक्षणको अन्तिम चरण वा तेश्रो चरणमा फरक उमेर समूह र फरक स्थानका हजारौं मानिसहरुमा गरिने परिक्षण हो । खोपले संक्रमण घटाउन कत्तिको सहयोग गर्छ भन्ने कुरालाई ध्यानमा राखेर प्रभावकारिताको अध्ययन यो चरणमा गरिन्छ ।
कार्यान्वयनको चरण
तीनै चरणको क्लिनिकल परीक्षण पछि नियामकहरुले परीक्षणको नतिजाको अध्ययन गरेर प्रयोग तथा उत्पादनको अधिकार दिइन्छ । कतिपय खोपमा प्रयोगको अनुमति पाएपछि पनि चौथो चरणको परीक्षण हुने गरेको छ ।
खोप निर्माणमा लगानी
अमेरिकाले कोरोना भाइरसविरुद्धको खोप निर्माणको लागि अहिलेसम्म १२ अर्ब ३० करोड डलरभन्दा धेरै गानी गरिसकेको छ । खोप विकास र खरिदका लागि १० अर्ब ८० करोड डलर र एक अर्ब ५० करोड डलर म्यानुफ्याक्चरिङ्ग र वितरणको लागि छुट्याएको छ । युरोपले पनि ४१ करोड २० लाख डलरभन्दा बढी रकम खोपको अनुसन्धान र विकासको लागि लगानी गरिसकेको छ । उसले तीन अर्ब २० करोड डलरको आपतकालीन कोषको सहयोगमा खोप खरीद गरी युरोपेली संगठनका सबै सदस्य राष्ट्रमा पुर्याउने लक्ष्य राखेको छ । अहिले विश्वभर कोरोना विरुद्धका २९ खोप मानव क्लिनिकल परीक्षणको क्रममा छन् । यी मध्ये ६ खोप तेस्रो चरणमा, एक खोपले दोस्रो चरण पुरा गरेर तेस्रो चरणको परीक्षण सुरू गर्न बाँकी रहेको बताइएको छ ।
मानव परीक्षण गरिरहेका खोपमध्ये अधिकांश अमेरिकी, युरोपेली वा चिनियाँ वित्तीय सहयोगमा निर्माण भइरहेका छन् । तीनमध्ये एक क्षेत्रको नियामकले सुरक्षित र प्रभावकारी पहिलो खोपका लागि अनुमति दिने विश्वास विश्वभर गरिदैछ । तेस्रो चरणको क्लिनिकल परीक्षणमा रहेका खोप मध्ये तीनओटा चिनियाँ खोप छन् । तीनमध्ये दुई खोप सरकारी कम्पनी सिनोफर्म र एक खोप निजी कम्पनी सिनोभ्याक बायोटेकले निर्माण गरिरहेका छन् । एक खोप बेलायतले अक्सफोर्ड युनिभर्सिटीको सहयोगमा निर्माण गरिरहेको छ भने दुई खोप अमेरिकी कम्पनीले निर्माण गरिरहेका छन् । विज्ञहरु ६ महिनामा खोप निर्माण यो चरणमा पुग्नुलाई ऐतिहासिक गति भनिरहेका छन् । अक्सफोर्ड युनिभर्सिटीका प्राध्यापक एड्रिन हिलले सामान्यतया ६ वर्षको समय लाग्ने गरेको खोप निर्माण ६ महिनामै पुरा हुनु ऐतिहासिक भएको बताए ।
छिटो कोरोना खोप बजारमा ल्याउने उद्देश्य सहित केही मुलुकले तेस्रो चरणको परीक्षणमा प्रभावकारिता पुष्टि हुनुभन्दा पहिला नै खोपलाई अघि बढाएका छन् । गत जुनमा चीनले परीक्षणको क्रममा रहेको खोप सेनालाई प्रयोग गर्ने अनुमति दिएको थियो भने अहिले रुसले पनि यही बाटो अपनाएको छ । खोप परीक्षण र विकासमा देखिएको आशंकाको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अगष्ट ११ मा ‘स्पुतनिक भी’ नामको विश्वको पहिलो कोरोना भाइरसविरुद्धको खोप दर्ता गरेको घोषणा गरेका थिए । रुसले अहिलेसम्म यो खोप परीक्षणको वैज्ञानिक विवरण सार्वजनिक गरेको छैन । निक्कै महत्वपूर्ण मानिने तेस्रो चरणको परीक्षण सुरु हुनुभन्दा एकदिन पहिला नै दर्ता गरिएको छ । यो दौडमा चीन, फ्रान्स, अमेरिका, रुस, अस्ट्रेलिया, बेलायत, भारत लगायतका देश अघि बढेका छन् । आफ्ना सबै नागरिकलाई खोप उपलब्ध गराउने योजनामा अमेरिका र बेलायत अग्र स्थानमा छन् । कोरोना भाइरस बिरुद्धको खोप विकास भइहालेपनि शतप्रतिशत प्रभावकारी नहुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
५० प्रतिशत हाराहारीमा काम गर्ने आँकलन गरिदैगर्दा कोरोना विरुद्धको खोप कहिले प्रयोगमा आउँछ भन्ने विश्वभरका नागरिकको चासो बनेको छ । कहिले खोप आम प्रयोगमा आउने सर्वत्र चासो बढिरहँदा विश्व स्वास्थ्य संगठनले विश्वका सबै स्थानमा खोपको न्योयोचित वितरणको लागि सबैसँग आग्रह गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया