कुइन्सल्याण्डकी नव नियुक्त मन्त्रीद्वारा नेपाली समुदायलाई सहयोग गर्ने बाचा
ब्रिजवेन
अष्ट्रेलियाको कुइन्सल्याण्ड राज्यकी नवनियुक्त मन्त्री लिन इनोचले आफ्नो राज्यको नेपालीलाई सहयोग गर्ने बाचा गर्नुभएको छ । नेपाली समुदायले आयोजना गरेको बधाई तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री इनोचले आफ्नो कार्यकाल अवधीमा नेपाली समुदायलाई सहयोग जुटाउन हरसंभव प्रयास गर्ने बताउनुभएको हो ।
हालै सम्पन्न राज्यस्तरको निर्वाचनमा इनोच दक्षिणी ब्रिजवेनको एल्गेस्टर क्षेत्रबाट सांसद चुनिनु भएको हो । लेभर पार्टीकी सांसद इनोचले हालै गठन भएको कुइन्सल्याण्ड सरकारमा समुदाय र आवासी मन्त्री तथा कला र डिजिटल अर्थतन्त्र मन्त्रीको समेत जिम्मेवारी पाउनु भएको छ । नवनियुक्त मन्त्रीलाई बधाई दिन एल्गेस्टर क्षेत्रका स्थानिय बासिन्दा तथा इन्जिनियर इश्वर कुइकेलको नेतृत्वमा ९ सदस्यीय टोली इनोचको कार्यलयमा पुगेका थिए । टोलीमा एनआरएनए कुइन्सल्याण्डका संयोजक उमेश खड्का, लेभरपार्टी समर्थक अभिमन्यु केसी, संचारकर्मीद्व डाक्टर भरतराज पौडेल र सरल गुरुङ, डाक्टर सुजन घिमिरे, गौरव पोखरेल सहभागी हुनुहुन्थ्यो । त्यस्तै रमेश कुईकेल र स्थानिय रियल स्टेट एजेन्ट सन्दिप भट्टराई पनि मन्त्रीलाई बधाई दिन पुग्नु भएको थियो | भेटका क्रममा कुइकेलले मन्त्री इनोचलाई नेपाली खुकुरी उपहार दिनु भएको थियो भने केसीले नेपाली ढाकाको खादा लगाइदिएर बधाई दिनुभएको थियो । छलफलका क्रममा मन्त्रीलाई नेपाली समुदायको समस्या र नया सरकारसंग गरिएको अपेक्षाका बारेमा जानकारी गराइएको थियो । छलफलका क्रममा केसीले मन्त्री इनोचलाई सामुदायिक भवन नहुदा नेपाली समुदायलाई आफ्नो सांस्कृतिक कार्यक्रम गर्न अप्ठ्यारो परेको जानकारी गराउनु भएको थियो । उत्तरमा मन्त्री इनोचले आफुले बहुसांस्कृतिक मामिला मन्त्रीसंग यसबारे कुरा गरेर सामुदायिक भवन निमार्णमा सक्दो सहयोग गर्ने आश्वसन समेत दिनुभयो ।
कार्यक्रममा कोभिडका बेला नेपाली विद्यार्थीले भोगेको समस्या बारे संचारकर्मीले राखेको प्रश्नको उत्तर दिदै मन्त्री इनोचले सरकारले अप्ठ्यारोमा परेका अन्तराष्ट्रिय विद्यार्थीलाई सहयोग गर्न विश्वविद्यालयहरुलाई रकम दिइएको बताउनुभयो । अप्ठ्यारोमा परेका नेपाली विद्यार्थीले आफ्नो विश्वविद्यालयबाट उक्त राहत रकम लिन सक्ने तथा लिन समस्या परे आफुलाई सम्पर्क गर्न समेत मन्त्री इनोचले आव्हान गर्नुभयो ।
त्यस्तै भिषा लागेर आउन नपाएका अन्तराष्ट्रिय विद्यार्थीलाई कुइन्सल्याण्डमा ल्याउनका लागि छलफल भइरहेको समेत मन्त्री इनोचले जानकारी दिनुभयो ।
कार्यक्रममा सरकारसंग नेपाली समुदायको पहुच नपुगेको भन्दै सहभागी इश्वर कुइकेलले गुनासो राख्नुभएको थियो । उक्त गुनासोलाई सम्बोधन गर्दै मन्त्री इनोचले केही समयपछि नै नेपाली समुदायलाई संसद भवनमा रात्रीभोजका लागि निम्तो गर्ने बाचा गर्नुभयो । त्यहि समयमा थप सहयोग बारे छलफल गरिने मन्त्री इनोचको भनाई थियो ।
सन् २०१५ मा पहिलो पटक सांसद चुनिनु भएकी इनोच आदिवासी समुदायबाट कुइन्सल्याण्डको प्रतिनिधी सभामा पुग्ने पहिलो आदिवासी महिला समेत हुनुहुन्छ । सांसद चुनिएपछि त्यतिबेलाको सरकारमा समेत मन्त्री इनोचले साना व्यापार मन्त्री, आवास तथा सामुदायिक कार्य मन्त्री, विज्ञान तथा प्रविधीमन्त्री तथा वातावरणमन्त्रीको जिम्मेवारी पाउनुभएको थियो ।
तपाईको प्रतिक्रिया