नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, अझै ३५ हजार सक्रिय संक्रमित
काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो ।
पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ७७ हजार पाँच सय ८९ पुगेको छ । शुक्रबार एक हजार आठ सय ८५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६५ हजार पाँच सय ४८ पुगेको छ । नेपालमा अहिले ३४ हजार नौ सय ४२ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।
नेपालमा मृत्युदर भारतमा भन्दा उच्च
चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को संक्रमण नेपालमा पहिलोपटक २०७६ माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो । २०७७ जेठ ३ मा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा पहिलो पटक कोरोना संक्रमणबाट मृत्यु भएको थियो । कोरोनाबाट एकै दिन सबैभन्दा धेरै जेठ ५ गते २ सय ४६ जनाको मृत्यु भएको सरकारी रेकर्ड छ ।
कोरोनाको पहिलो लहरका क्रममा २०७७ चैत १ सम्ममा ३ हजार १४ जनाले ज्यान गुमाएका थिए । त्यसयताको दोश्रो लहरमा ६ हजार ९ सय ८० जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । अक्सिजनको हाहाकार, आईसियू बेडको अभावले पनि दोस्रो लहरमा धेरै जनाले ज्यान गुमाउन पुगेका छन् । पहिलो लहरबाट ३८ जना बालबालिकाको मृत्यु भएको छ भने दोस्रो लहरबाट ४३ जना बालबालिकाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोनाको मृत्युदर १.५ प्रतिशत रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुने दर भुटान, भारत, माल्दिभ्स र श्रीलंकाको भन्दा बढी हो । भारतमा मृत्युदर १.३, भुटानमा ०.१, माल्दिभ्समा ०.३, श्रीलंकामा १.४ रहेको छ । त्यसैगरी अफगानिस्तानमा ४.६, बंगलादेशमा १.७ र पाकिस्तानमा १.४ रहेको छ ।
भूकम्पभन्दा कोरोना महामारिले बढीको मृत्यु
कोरोना संक्रमणबाट नेपालमा १४ महिनामा १० हजारको मृत्यु भइरहँदा यो संख्या २०७२ सालको भूकम्पले ज्यान गुमाउने भन्दापनि बढी हो । उक्त विनाशकारी भूकम्पबाट नेपालमा ८ हजार ५६७ जनाको मृत्यु भएको थियो । ६० वर्ष माथिका ज्यान गुमाउने ५ हजार ३८७ रहेका छन् । ०–९ वर्ष सम्मका ४५ जना, १० देखि १९ वर्षका ५० जना, २० देखि २९ उमेर समूहका ३०४ जना, ३० देखि ३९ का ८२८ जना, ४० देखि ४९ का १४३७ जना , ५० देखि ५९ का १९६१ जना र अज्ञात ७ जना रहेका स्वास्थ्य मन्त्रालयको तथ्यांक रहेको छ ।
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी हालको तथ्यांकभन्दा मृत्यु हुनेको संख्या बढी हुन सक्ने बताउँछन् । अक्सिजन र औषधि दिँदा दिँदै पनि निश्चित प्रतिशतको मृत्यु हुन्छ त्यो घटाउन गाह्रो हुने दाबी गर्ने डा. अनुप यस्तो मृत्युबाट जोगाउन सजिलो उपाय संक्रमण नै हुन नदिने रहेको बताउँछन् । संक्रमितहरुको जति सक्दो पत्ता लगाउने, ट्रेसिङ तथा आइसोलेट र क्वारेन्टाइन गर्ने कुरामा बढी केन्द्रित हुनुपर्ने उनको जोड छ । भीडभाड कम गर्ने, सबैले उच्च गुणस्तरको मास्क लगाउने, जनस्वास्थ्यका मापदण्ड सबैले पालना गरुन् भनेर प्रोत्साहित गर्ने र खोप अभियानमा ध्यान दिए महामारी नियन्त्रणसँगै मृत्यु हुने जोखिम घटाउन सकिने जनस्वास्थ्यविद्हरुले बताउने गरेका छन् ।
तपाईको प्रतिक्रिया