Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsडब्ल्यूएचओको क्षेत्रीय कार्यकारी समितिको बैठक नेपालमा हुने

डब्ल्यूएचओको क्षेत्रीय कार्यकारी समितिको बैठक नेपालमा हुने


काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ । भदौ २१ देखि २५ सम्म बैठक काठमाडौंमा हुने भएको हो ।

बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य देशका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसङ्घका निकायलगायत संस्थाका प्रतिनिधिको उपस्थिति हुने बताइएको छ । बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायत विषयमा छलफल हुनेछ । बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोपकार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि छलफल हुने बताइएको छ ।

बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमार्फत अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको समिक्षा समेत गर्नेछ । दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, भुटान, दक्षिण कोरिया र टिमोर–लेट्सेलगायत देश रहेका छन् । नेपालमा बैठक आयोजना भएपनि बर्चुअल माध्यमबाट हुने जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ