Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा हुण्डीवालाको चपेटामा नेपाली विद्यार्थी । यता पैसा लिने नेपालमा नदिने ।

अष्ट्रेलियामा हुण्डीवालाको चपेटामा नेपाली विद्यार्थी । यता पैसा लिने नेपालमा नदिने ।


सरल गुरुङ/ मेलवर्न 

अष्ट्रेलियाको मेलवर्नमा अध्ययन गरिरहेकी अनामिका श्रेष्ठले नेपालमा रहेको परिवारलाई पठाएको पैसा ढेड महिनासम्म पनि पुगेन । मेलवर्नकै स्थानिय नेपाली मनि ट्रान्सफर (नेपाली सन्दर्भमा हुण्डी) बाट उनले पैसा पठाएकी थिइन् । आफ्नो पैसा नपुगेपछि पटक पटक हुण्डीवालालाई सम्पर्क गर्दा पनि केही नलागेपछि उनी बाध्य भएर नेपाली समुदायकी अगुवा दीपा राईको सहयोग लिन पुगिन् ।
साह थरका नेपालीले संचालन गरेको उक्त हुण्डीले नेपालमा पैसा भुक्तानी नदिएको भन्ने गुनासो गर्ने अनामिका मात्रै एक थिइनन् । साहको हुण्डीले यसअघि पनि रकम नदिएको छिटफुट गुनासो सुनिने गरेको थियो । तर, यसपाली भने विद्यार्थीहरुले समुह नै बनाएर गुनासो गरेपछि सरोकारवालाहरुले चासो दिएका हुन् ।
झण्डै १२ जना नेपाली विद्यार्थीले सामुहिक रुपमा हुण्डीवालाको गुनासो गरेपछि शनिवार मेलवर्नमा सर्वपक्षीय बैठक बसेको हो ।
महाबाणिज्य दुतावास, गैरआवासिय नेपाली संघ र अभियन्ता दीपा राईको पहलमा बसेको बैठकले जनवरी १० तारिखभित्र रोकिएको सबै रकम भुक्तानी दिन लिखित सहमति गरेको छ । पटकपटक गरेर पठाएको झण्डै १४ हजार डलर भुक्तानी गर्न बाँकी रहेको विद्यार्थीहरुले तथ्यांक सार्वजनिक गरेका छन् ।

तोकिएको समयभित्र सबै रकम भुक्तानी नभए कानुनी बाटोमा जाने बैठकले निर्णय गरेको मेलवर्नमा पत्रकार चिरञ्जिवी देवकोटाले जानकारी दिए । छलफल सकारात्मक भएपछि विद्यार्थीहरु खुसी देखिएका छन् ।
अष्ट्रेलियामा बस्ने नेपालीले छिटो र सहजताका लागि भन्दै हुण्डीबाट पैसा पठाउनु नौलो होइन । अष्ट्रेलियामा कानुनी रुपमा अष्ट्रयाकमा दर्ता भएका मनी ट्रान्फरले नेपालमा पैसा भुक्तानी दिदा अनौपचारिक बाटो अपनाउने हुनाले गैरकानुनी हुण्डीमा रुपान्तरित हुने गरेका छन् ।

 

के हो हुण्डी

नगदको अनौपचारिक कारोबार नै हुण्डी हो । मध्ययुगमा बैंक र वित्तिय संस्था नहुदा व्यापारीहरुले किनमेलको भुक्तानीको ग्यारेन्टी दिन हुण्डीको प्रयोग गर्ने गरेको इतिहास पाइन्छ । एक ठाउको पैसा विधिवत दर्ता भएका बैक तथा वित्तिय संस्थाको बाटोबाट नभई व्यक्तिगत माध्यमबाट अर्को ठाउमा भुक्तानी दिनु नै हुण्डी हो ।

विदेशमा बस्ने नेपालीले नेपालमा पैसा पठाउदा हुण्डीको माध्यम बढी प्रयोग गर्ने गरेका छन् । जसले गर्दा रेमिट्यान्सबाट पाउने कर राज्यले गुमाइरहेको छ । रेमिट्यान्स कम्पनीले भन्दा छिटो र सस्तो पर्ने भएकाले विदेशमा बस्नेहरुले हुण्डीको प्रयोग बढी गरेको पाइन्छ । कर तिर्न नपर्ने यो कारोवार आपसी विश्वासको आधारमा भइरहेको छ ।
हुण्डीको कारोवार बढेसंगै नेपालले रेमिट्यान्सबाट पाउने ठुलो रकम गुमाउदा सिंगो अर्थतन्त्र नै असर परेको छ । अर्कोतर्फ नेपालमा भ्रष्टचार गरेको पैसा सम्पत्ति शुद्धीकरण गर्न विदेशमा रहेको आफन्त वा बैंकमा पठाउन पनि हुण्डी कै प्रयोग भइरहेको छ ।

हुण्डीबाट रकम पठाएर आतंकवाद, लागूऔषध कारोबार, सुन तस्करी तथा हातहतियारको तस्करीमा समेतमा लगानी गर्ने संभावना हुदा विकसित राष्ट्रहरुले यसको कारोवारलाई निकै गम्भीरताका साथ लिने गरेका छन् ।

 

अष्ट्रेलियाबाट हुण्डी रोक्न के गर्ने ?

नेपालमा हुण्डीको कारोवार रोक्न प्रहरीले बेलाबेलामा हुण्डीवालालाई पक्राउ गर्दै आएको छ । राष्ट्रबैंकले पनि नियमन गर्ने प्रयास गरिरहेकै छ । तर, पनि हुण्डी रोक्न प्रयासहरु सफल हुन सकेका छैनन् ।
जसको प्रमुख कारकको रुपमा विदेशबाट पैसा पठाउने माध्यम सहज, सस्तो र सरल नुहुनु हो भन्छन् अष्ट्रेलियाका नेपाली अर्थ विद् डा सुदर्शन चालिसे । नेपाल ट्युबसंग कुरा गर्दै चालिसेले अष्ट्रेलिया र नेपालको ठुला बैंकबिच सस्तो र सुलभ तरिकाले नगद अदानप्रदान गर्ने व्यवस्था गर्न सकियो भने यहाबाट हुने हुण्डी कम गर्न सकिने दावी गरे ।

बैंकबाट पैसा पठाउदा महिनौ लाग्ने र शुल्कपनि चर्को भएकाले अष्ट्रेलियाका नेपाली तुरुन्तै भुक्तानी हुने र सस्तो शुल्क लाग्ने हुण्डी प्रयोग गर्न बाध्य भएका हुन् ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ