Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा कर कार्यालयको नाममा फस्टायो डरलाग्दो ठगी । नेपाली समुदाय उच्च जोखिममा (बच्ने उपाय र भिडियोसहित)

अष्ट्रेलियामा कर कार्यालयको नाममा फस्टायो डरलाग्दो ठगी । नेपाली समुदाय उच्च जोखिममा (बच्ने उपाय र भिडियोसहित)


विशेष रिपोर्ट

सरल गुरुङ/सिड्नी

२०१९ सालकोे पहिलो दिन नै ब्रिजवेनकी नमुना गैरे ( गोपनियताका लागि नाम परिवर्तन) का लागि अशुभ बन्यो । कारण थियो कर कार्यलयको नाममा आएको टेलिफोन कल । अष्ट्रेलियन ट्याक्सेसन अफिस (एटिओ) बाट भनि आएको फोनमा बोल्ने व्यक्तिले प्रमाणिकरण गर्ने भन्दै नमुनाको सबै विवरण मागे । ट्याक्स कार्यालयबाट भनेपछि नमुनाले पनि सोधेजति सबै सूचना दिइन् । त्यसपछि सुरु भयो पैसाको ठगी ।
ती व्यक्तिले नमुनालाई ५ वर्षदेखिको कर चुक्ता नभएकाले आधी घण्टाभित्र भुक्तानी नगरे प्रहरी पठाएर पक्राउ गर्ने धम्की दिए । प्रहरीले पक्राउ गरि जेल हाल्ने र देश निकाला समेत गर्ने धम्कीपछि नर्सिङ पढिरहेकी नमुना डरले लल्याङलुलुङ भइन् । नमुना डराएपछि फोन गर्ने व्यक्तिले तत्काल ५ हजार डलरको गिफ्ट कार्ड पठाए केही नहुने भन्दै आश्वसन दिए । नमुनाले आफ्नो ट्याक्स एजेण्टसंग कुराकानी गर्न समय मागिन् । तर, समय ढिला भइसकेकाले पहिला पैसा पठाउनु नत्र जे पनि हुनसक्छ भन्दै थप धम्क्याउने कोसिस गरियो । “मैले धेरै अनुनय गरेपछि उनीहरुले नै ट्याक्स एजेण्टलाई कल गर्न लगाउछौ भने ” नमुना थप्छिन् “नभन्दै केही बेरमा मेरो मोवाइलमा सेभ भएको ट्याक्स एजेण्टकै नम्बरबाट कल आयो । एजेण्टको सहायक हुँ भन्दै फोन गर्ने व्यक्तिले, तिम्रो एजेण्ट छुट्टीमा गएको छ । हाम्रो गल्तीले नै यो सब भएको हो । तिमीले आज पैसा तिर्नु भोली हामी तिमीलाई फिर्ता गर्छौ भनेको नमुनाले बताइन् ।
त्यसपछि हतारहतार वुलवर्थमा गएर नमुनाले ५/५ सय डलरको १० वटा गिफ्ट कार्ड किनि त्यसको नम्बर कल गर्ने व्यक्तिलाई टिपाए ।
पैसा तिरेको भोली पल्ट ट्याक्स एजेण्टलाई फोन गरेपछि मात्रै आफु ठगिएको नमुनाले भेउ पाइन् । “उनीहरुले प्रविधीको प्रयोग गरेर मेरै ट्याक्स एजेण्डको फेक नम्बरबाट कल गरेको रहेछ ”, नमुनाले भनिन् ।

यो त एउटा प्रतिनिधी घटना मात्रै हो । अष्ट्रेलियामा हरेक दिन कर कार्यालयको भन्दै हजारौ मानिसलाई फोन आउछ । टाठाबाठा र बुझेकाहरु हासेरै यस्ता कलबाट उम्कन्छन् भने, नबुझेकाहरु फस्ने गर्छन् । अष्ट्रेलियन कर कानुनसम्बन्धि बेखबर नेपाली विद्यार्थीहरु उनीहरुको सहज सिकार भइरहेका छन् ।
सिड्नीस्थित इनोभेटिभ एसोसियटसका ट्याक्स एजेण्ट डिला खरेल कर कार्यालयको नाममा धम्कीपुर्ण टेलिफोन आएको भन्दै थुप्रै नेपालीले आफुलाई सम्पर्क गर्ने गरेको बताउनुहुन्छ । आफ्नो सम्पर्कमा आएका नेपालीलाई ठगी गिरोहका बारेमा बुझाउने गरेको खरेको भनाई छ ।
त्यस्तै व्रिजवेनका नेपाली चार्टर एकाउन्टेन्ट रितम थापा पनि पछिल्लो ६ महिनामा यस्तो कलको संख्या ह्वात्तै बढेको बताउनुहुन्छ ।
उनीहरुले प्रविधीको प्रयोग गरि अष्ट्रेलियन ट्याक्सेसन अफिस ( एटिओ) र व्यक्तिको ट्याक्स एजेण्टकै नम्बरबाट कल गरेर मानिसहरुलाई फसाउने गरेको थापाको भनाई छ ।

के हो एटिओ स्क्याम ?

अष्ट्रेलियन ट्याक्स अफिसको नाममा हुने ठगीलाई, यहाँ एटिओ स्क्यामको नामले चिनिन्छ ।
यसमा सक्रिय गिरोहका व्यक्तिले विभिन्न स्रोतबाट प्राप्त मोवाइल नम्बरमा फोन गरि कर चुक्ता गर्न बाकी भएकाले तत्काल भुक्तानी नगरे प्रहरी पठाएर पक्राउ गर्ने धम्की दिन्छन् । प्रविधी र सूचनामा जानकार गिरोहका सदस्यलाई व्यक्तिलाई प्रहरी र कर सम्बन्धि कानुनको जटिलता देखाएर पैसा तिर्न बाध्य बनाउछन् । भुक्तानी भने बैंक मार्फत नभई, आइटिउन, गिफ्ट कार्ड र विट क्वाइन जस्तै वैकल्पिक माध्यमबाट गर्न लगाउछन् ।

एटिओको तथ्यांक अनुसार गत महिनामात्रै यस्ता गिरोहले ६८ करोड रुपैया कुम्ल्याएका छन् ।

एटिओको तथ्यांक अनुसार गत महिनामात्रै यस्ता गिरोहले ६८ करोड रुपैया कुम्ल्याएका छन् । यस्तै गत नोभेम्बरमा मात्रै कर कार्यलयको नाममा ठगी गर्न खोज्ने ३७ हजार गुनासा एटिओमा दर्ता भएका छन् ।
पछिल्लो समय, प्रहरी बनेर समेत कल गरि ठग्ने घटना सार्वजनिक हुन थालेका छन् ।

यस्तो गिरोहबाट कसरी बच्ने ?

व्रिजवेनका नेपाली चार्टर एकाउन्टेन्ट रितम थापाका अनुसार थोरै मात्रै बुद्धी पु¥याउन सके यस्तो गिरोहबाट सजिलै बच्न सकिन्छ । थापाका अनुसार अष्ट्रेलियामा कर कार्यालयले हत्तपत फोन गर्दैन । कर तिर्न बाकी छ भने पनि पहिले पटक पटक चिठी पठाउछ । त्यसपछि पनि कर चुक्ता गरिएन भने चाहि फोन आउन सक्छ । यदि एटिओले फोन गरिहाले पनि सधै अननन नम्बरबाट कल गर्ने थापाको भनाई छ । त्यसैले एटिओको नम्बर देखिने गरि फोन आयो भने सम्झनुस् त्यो ठग गिरोह नै हो ।
त्यस्तै त्यस्ता गिरोहको कल आउने बित्तिकै, फोन काटेर आफ्नो ट्याक्स एजेण्ड वा एटिओको आधिकारिक वेव साइटमा भएको नम्बरमा फोन गरि स्पष्ट हुन थापा सुझाव दिनुहुन्छ ।
त्यस्तै एटिओले कहिल्यै पनि पक्राउपुर्जी जारी नगर्ने थापाको भनाई छ । त्यसो त, कुनैपनि उपायबाट गिरोह पहिचान गर्न असफल भएका अन्तिम उपाय भनेको पैसा तिर्ने माध्यम कुन हो पहिचान गर्नुपर्छ । थापाका अनुसार एटिओले बैंकिङ माध्यमबाट मात्रै भुक्तानी लिन्छ । यदि गिफ्ट कार्ड, आइटिउन वा अन्य कुनै माध्यमबाट पैसा पठाउन भनियो भने त्यो नितान्न ठगी हो भनेर बुझ्नुपर्ने थापाको भनाई छ ।

यस्तो गिरोहबाट बच्ने उपाय सुझाउदै चार्टर एकाउन्टेन्ट रितम थापा

के गर्दैछ एनआरएनए ?

त्यसो त, अष्ट्रेलियाका गैरआवासिय नेपाली संघका पदाधिकारीहरु यस्तो गिरोहबारे जानकार छन् । तर, अष्ट्रेलियन सरकारको समेत टाउको दुखाइ बनेको यस्तो ठगीमा एनआरएन खासै के नै गर्न सक्छ र ? तर, पनि संघले विभिन्न समयमा यस्ता ठगी बारे समुदायलाई सचेत गराउने कार्य गरिरहेको संघका प्रवक्ता डिला खरेल बताउनुहुन्छ । संघले इमेल मार्फत समुदायका मानिसहरुलाई यस्ता घटनाबारे सचेत गराइरहेको उहाको भनाई छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ