Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरिया १० र न्यूसाउथवेल्समा १९ कोरोना संक्रमित थपिए, समूदायमा संक्रमण !

भिक्टोरिया १० र न्यूसाउथवेल्समा १९ कोरोना संक्रमित थपिए, समूदायमा संक्रमण !


ब्रिजबेन,अष्ट्रेलिया । क्रिसमस र नयाँ वर्षको रमाइलोमा अष्ट्रेलियावासी रमाइरहँदा कोरोना भाइरसको संक्रमणले तिब्रता पाउन थालेको छ । उत्सबमा प्रतिबन्ध कायमै भएपनि अष्ट्रेलियामा जनसंख्याको हिसाबले सबैभन्दा ठूला दुई राज्यहरु न्यूसाउथवेल्स र भिक्टोरियामा कोरोना भाईरसका नयाँ संक्रमित भेटिने क्रमले निरन्तरता पाएको हो ।

स्थानीयस्तरमा लगातार ६१ दिनदेखि शून्य कोरोना संक्रमित रहेको भिक्टोरियामा लगातार नयाँ संक्रमित थपिने र उनीहरु मार्फत व्यक्ति र समूदायमा सर्नेगरेको तथ्य बाहिरिएको छ । गएको २४ घण्टामा भिक्टोरिया राज्यमा मात्रै स्थानीयस्तरमा १० नयाँ कोरोना संक्रमित फेला परेका छन् । यस्तै विदेशबाट आएको २ यात्रीमा कोरोना पोजेटिभ देखिएको छ । योसँगै राज्यमा सक्रिय संक्रमितको संख्या २९ पुगेको छ । गएको २४ घण्टामा कूल ८ हजार ३ सय ३७ जनाको स्वाब परीक्षण गरिएको थियो ।

नयाँ संक्रमण बढ्न थालेसँगै भिक्टोरियाले न्यूसाउथवेल्ससँगको सिमाना बन्द गरिसकेको छ । बन्दपूर्व ठूलो संख्यामा भिक्टोरियावासी आफ्नो घर फर्किएका छन् । उनीहरुको परीक्षणको नतिजा एकदुई दिनमै आउने जनाइएको छ । यो परिक्षणको नतिजाका आधारमा समूदायस्तरमा कसरी कोरोना फैलिएको छ भन्ने कुराको आंकलन गर्न सकिने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । मेलबर्नमा कोरोना संक्रमणको दोश्रो उछाल आएको बेला समेत सुरक्षित मानिएको रिजनल क्षेत्रको ढल निकासमा समेत कोरोनाका जीवाणुहरु फेला परेको भन्दै स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

यता, न्यूसाउथवेल्समा भेटिएका कूल १९ संक्रमितमध्ये १२ जना अन्तर्राष्ट्रिय यात्री छन् । ७ जना स्थानीय स्तरमा भेटिएका व्यक्तिहरु भएकाले यहाँ पनि समूदायमा संक्रमण फैलिएको आशंका गरिएको छ । यहाँ गएको २४ घण्टामा ३१ हजार ८ सय ६४ स्वाब परीक्षण गरिएको छ।भिक्टोरियाका स्वास्थ्यमन्त्री मार्टिन फोलीले अहिलेसम्म भेटिएका सबै संक्रमणको सञ्जाल न्यूसाउथवेल्ससँग जोडिएको जानकारी दिनुभएको छ । न्यूसाउथवेल्सहुँदै आएका एक व्यक्तिमार्फत विभिन्न व्यक्तिमा सर्ने क्रममा १९ जना संक्रमित बनेको आँकलन स्वास्थ्य अधिकारीहरुले गरेका छन् ।

यसअघि नै अष्ट्रेलियाका अध्यागमन मन्त्री अलेक्स हक्सले धेरै अस्थायी भीसा धारकले स्वास्थ्य नियम उल्लंघन गरेको पाइएको भन्दै भीसा रद्धसहित देश निकालाको चेतावनी दिनुभएको थियो । क्रिसमस र नयाँ वर्षमा हुने भीडभाड र उत्सबमा रोक लगाइएपनि समुन्द्री तटहरुमा भीडभाड बढ्दा कोरोनाको जोखिम बढेको आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ