Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा कोरोनाविरुद्धको खोप फाईजरले पायो अनुमति, फेब्रुअरी अन्तिम साताबाट लगाइने

अष्ट्रेलियामा कोरोनाविरुद्धको खोप फाईजरले पायो अनुमति, फेब्रुअरी अन्तिम साताबाट लगाइने


ब्रिजबेन, अष्ट्रेलिया । अष्ट्रेलियाको मेडिकल सामग्रीहरुको नियामक निकाय थेराप्युटिक गुड्स एडिमिनिस्ट्रेसन ईन अष्ट्रेलियाले फाईजर खोपलाई आम प्रयोगको अनुमति दिएको छ । अष्ट्रेलियाका नागरिकहरुलाई खोप लगाउने यो अनुमति फेब्रुअरीको मध्यबाट सुरु हुन लागेको खोप अभियानका लागि एउटा महत्वपूर्ण निर्णय हो ।

पछिल्लो निर्णयसँगै फाईजर खोप अष्ट्रेलियामा स्वीकृत भएको कोभिड १९ विरुद्धको पहिलो खोप बनेको छ । तर यो स्वीकृति दुई वर्षे अवधिको लागि मात्रै दिइएको छ । फाईजर वा एस्ट्राजिंका खोप दुई मात्रा लगाउनुपर्ने हुन्छ । १६ वर्षभन्दा माथि उमेरका व्यक्तिहरुले २१ दिनको फरकमा खोप लगाउने प्रावधान समेत नियामक निकाय तथा सरकारले पारित गरेको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले फाईजर खोप उत्पादन र आपूर्तिमा केही ढिलाईका समाचारहरु बाहिरिएपनि मध्य फेब्रुअरी अथवा अन्तिम साताबाट खोप लगाउने पूर्वयोजना यथावत रहेको प्रतिक्रिया दिनुभएको छ । प्रधानमन्त्री मोरिसनले भन्नुभयो, “हामीले मध्य फेब्रुअरीभन्दा अन्तिमतिर बढी हेरिरहेका छौं किनकि फाईजर र एष्ट्राजिंकाले आफ्नो उत्पादन र वितरण कार्यमा भोगिरहेको कठीनाईबारे हामी जानकार छौं ।”  स्वास्थ्यमन्त्री ग्रेग हन्टले खोप वितरण सुरु भएपछि सातामा ८० हजारका दरले वितरण गरिने जानकारी दिनुभएको छ । फाईजर खोपलाई माईनस ७० डिग्री सेल्सीयसको तापक्रममा भण्डारण गर्नुपर्ने भएका कारण यसलाई एकैपटक धेरै ठाउँमा लैजानका लागि समस्या हुने आँकलन गरिएको छ ।

स्वास्थ्यमन्त्री हन्टले कोभिड १९ विरुद्धको खोप सबैका लागि बाध्यकारी भने नहुने बताउनुभएको छ । यद्यपि अग्र मोर्चामा खटिने कतिपयलाई भने लगाउन अनिवार्य गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ