Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaदेश बाहिरबाट सुरु गरिएको सबैभन्दा ठूलो सांगीतिक शो, हल अफ फेम सिजन २

देश बाहिरबाट सुरु गरिएको सबैभन्दा ठूलो सांगीतिक शो, हल अफ फेम सिजन २


ब्रिजबेन, अष्ट्रेलिया । अष्ट्रेलियाको मेलबर्नमा मुख्यालय रहेको सामूदायिक अनलाईन टेलिभिजन एमएनटीभी अष्ट्रेलियाको आयोजनामा सञ्चालित हल अफ फेम सिजन २ नेपाल बाहिरबाट आयोजना भएको सबैभन्दा ठूलो सांगीतिक रियालिटी शो बन्न पुगेको छ ।

सुरुवाती दुई एपिसोड हिमालय टेलिभिजन र एमएनटीभीबाट प्रशारण भइसकेको कार्यक्रमको प्रस्तुतिलाई लिएर धेरैले प्रशंसा गरेका छन् । विश्व नै कोभिड–१९ को महामारीमा रहेको बेला कार्यक्रमको अवधारणा विकास गरिएको थियो । अनलाईनबाट नै आफ्नो सिर्जना र सांगीतिक शिप प्रस्तुत गर्न पाउने मात्र होइन, त्यसलाई नेपाली संगीत आकाशकै चम्किला ताराहरु दिप श्रेष्ठ, विवेक श्रेष्ठ र रजिना रिमालले मूल्यांकन गर्ने भएकाले पनि धेरैको आकर्षण हल आफ फेममा देखिएको छ ।

कार्यक्रम निर्माण गर्ने एमएनटीभीका अध्यक्ष चन्द्र योन्जन सुरुवाती प्रतिक्रियाले नै आफुहरुमा उत्साह थपेको बताउँनुहुन्छ । “चारैतिर कोरोनाकै कुरा भइरहँदा हामीले फरक सोच राखेर यसलाई अगाडि बढाउने निर्णय गरेका थियौं । सुरुवाती कार्यक्रममा दर्शक र शुभचिन्तकहरुको प्रशंसाले हामीलाई हौसला थपेको छ ।” उहाँले भन्नुभयो । यता, अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका कन्दरा व्याण्डका चर्चित गायक विवेक श्रेष्ठले पनि आफुलाई नयाँ अनुभव भइरहेको प्रतिक्रिया दिनुभएको छ । “दुईजना निर्णायकहरु नेपालमा, म अष्ट्रेलियामा तर, हामी एकै समयमा प्रतिस्पर्धीको गीत सुनेर आफ्ना प्रतिक्रिया दिइरहेका हुन्छौं । प्रविधिले यो सबै सम्भव तुल्याएको छ । अहोरात्र खटिने निर्माण पक्षले यसलाई सफल तुल्याएको छ ।” श्रेष्ठ भन्नुहुन्छ ।

कार्यक्रमको सुरुवाती चरणदेखि नै यसको विविध पक्षमा मार्गनिर्देश गर्दै आउनुभएका मेलबर्नका अगुवा रन्जन वैद्यले देश बाहिर रहेका नेपालीहरुको तर्फबाट नेपाली गीत संगीतको श्रीबृद्धि र प्रतिभा प्रोत्साहनमा चालिएको यो नै सबैभन्दा ठूलो स्टेप भएको बताउनुभयो । सैयौं प्रतिस्पर्धीबाट छानिएर आएका टप ५० को प्रस्तुति यतिबेला कार्यक्रममा हेर्न सकिन्छ । यो शुक्रबार र शनिबार फेरि थप प्रतिस्पर्धीहरुले आफुलाई अब्बल सावित गर्न विभिन्न गायन प्रस्तुति पस्कनेछन् ।

नेपाली दर्शकहरुको लागि हल अफ फेम सिजन २ हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि ९ बजेसम्म प्रशारण हुनेछ । यस्तै देश बाहिरका दर्शकहरुले एमएनटीभी अष्ट्रेलिया र यसको युट्युब च्यानलबाट हेर्न पाउनेछन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ