Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा कोरोनाविरुद्धको खोप : इटालीमा रोकिएको खोपले अभियान प्रभावित नहुने !

अष्ट्रेलियामा कोरोनाविरुद्धको खोप : इटालीमा रोकिएको खोपले अभियान प्रभावित नहुने !


ब्रिजबेन, अष्ट्रेलिया । खोप अभियानमा लक्ष्य अनुसार सफलता हात पार्न नसकेको अष्ट्रेलियाको खोप खरिद प्रक्रिया समेत प्रभावित भएको छ । इटलीस्थित आस्ट्राजेनेकाको कम्पनीमा निर्मित २ लाख ५० हजार खोप अष्ट्रेलिया सरकारले खरिद गर्ने योजना इटाली सरकारका कारण प्रभावित भएको हो ।

इटली सरकारले कोरोनाभाइरसविरुद्धको अक्सफोर्ड आस्ट्राजेनेका खोप अष्ट्रेलिया पठाउन रोक लगाएपनि अष्ट्रेलिया सरकारले भने एउटा खोप आयात प्रभावित हुँदैमा खोप अभियानमा खासै असर नपर्ने बताएको छ । अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले इटलीमा खोप रोकिएका कारण आउँदो साताको खोप वितरण योजना प्रभावित नहुने बताउनुभएको छ । अष्ट्रेलिया ले गत सातादेखि फाइजर- बायोएनटेक प्रयोग गर्दै खोप अभियान सुरु गरेको छ । आस्ट्राजेनेका खोप शुक्रवारदेखि लगाउने कार्यक्रम रहेकोमा अब यो अभियान अन्य खोपबाटै जारी हुने भएको छ । अष्ट्रेलिया सरकारले आफूले तीन लाख खोप प्राप्त गरिसकेको र आउँदो महिनादेखि स्थानीय रूपमै खोप उत्पादन गरिने जानकारी गराएको छ ।

किन रोक्यो इटालीले खोप ?
आफूले चालेको कदम प्रकाश पार्ने क्रममा इटली सरकारले अष्ट्रेलिया जोखिममा रहेको देशमा नपर्ने बताउँदै ईयू र इटलीमा खोपको स्थायी अभाव टार्न खोप निर्यात रोक्नु परेको भनेको छ । युरोपेली सङ्घ (ईयू) को नयाँ नियम प्रयोग गर्दै कदम चाल्ने इटली पहिलो युरोपेली देश बनेको छ । उक्त नियममा यदि कम्पनीले ईयूलाई दिने वाचा गरेअनुसार खोप उपलब्ध गराउन नसकेमा उसका उत्पादन निर्यात रोक्न सकिने प्रावधान रहेको छ । इटलीको कदममा युरोपेली आयोगको साथ रहेको बताइएपनि युरोपेली सङ्घले यसबारे मुख खोलेको छैन ।

आस्ट्राजेनेकाले यो वर्षको पहिलो तीन महिनामा दिने भनि सम्झौता भएको ४० प्रतिशत खोप सदस्य राष्ट्रहरूलाई उपलब्ध गराउने चरणमा रहेको जनाएको छ । खोप अभियानको सुस्त गतिलाई लिएर ईयूको व्यापक आलोचना भएको छ । गत वर्षको जुन महिनामा स्थापित ईयू खोप योजनाअन्तर्गत उसले सदस्य राष्ट्रहरूको तर्फबाट खोप खरिद गर्ने सम्झौता गरेको थियो । सो अनुसार उत्पादक कम्पनीले खोप उपलब्ध गराउन नसकेको बताइएको छ । इटलीको कदमबारे ईयू र आस्ट्राजेनेकाको तर्फबाट औपचारिक प्रतिक्रिया नआएपनि अष्ट्रेलिया सरकारले भने एउटा खोप रोकिदैमा खोप अभियानमा कुनै असर नपर्ने जनाउँदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ