Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा सबैलाई कोरोनाविरुद्धको खोप लाइसक्न अर्को वर्षसम्म लाग्ने

अष्ट्रेलियामा सबैलाई कोरोनाविरुद्धको खोप लाइसक्न अर्को वर्षसम्म लाग्ने


बिजबेन,अष्ट्रेलिया । आयात प्रणालीमा देखिएको समस्याका कारण अष्ट्रेलियामा सबैले कोभिड १९ विरुद्धको खोप लगाइसक्न अर्को वर्षको सुरुवातसम्म लाग्ने देखिएको छ । यसअघि सरकारले अक्टोबरको अन्त्यसम्ममा दुई डोज खोप सबैलाई लगाइसक्ने योजना सार्वजनिक गरेपनि आयातमा देखिएको समस्याले केही ढिलाई हुने देखिएको हो ।

अष्ट्रेलियाका सरकारी अधिकारीहरुले नै अहिलेको अवस्थामा पूर्वयोजना नै कार्यान्वयन हुने कुरा अनुमान गर्न कठीन भएको बताएका छन् । गत बिहीबार संसदीय सुनवाई समितिमा बोल्दै स्वास्थ्य विभागका सचिव प्रोफेसर ब्रिडान मर्फीले अक्टोबरको अन्त्यसम्ममा केही व्यक्तिले खोपको पहिलो डोज मात्र पाउने अवस्था सिर्जना भएको जानकारी दिनुभएको थियो । खोप लगाउन सुरु गरिएको करिब तीन साताभित्रमा १ लाख २५ हजार व्यक्तिले पहिलो डोज लगाएका छन् । संघीय सरकारले डेढ महिनाभित्र ६ लाख ८० हजार एज्ड केयर रेसिडेन्ट, हेल्थकेयर कामदार तथा क्वारेन्टीनका कर्मचारीहरुले खोप लगाइसक्ने योजना सार्वजनिक गरेको थियो ।

जनवरीमा सार्वजनिक योजनामा मार्चभित्र ४० लाख मानिसहरुले पहिलो खोप लगाइसक्ने बताइएपनि पछि अप्रिलसम्म जानसक्ने भनियो । यद्यपि हालसम्म अष्ट्रेलियामा १३ लाख खोप आयात भएको अवस्थाले पूर्वनिर्धारित योजना पछि धकेलिने र सबैले खोप पाउन अर्को बर्षसम्म लाग्ने स्वास्थ्य अधिकारिहरुले नै बताउन थालेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ