Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजबेनमा थपिए कोरोनाका १० नयाँ संक्रमित, तीन दिने लकडाउन

ब्रिजबेनमा थपिए कोरोनाका १० नयाँ संक्रमित, तीन दिने लकडाउन


ब्रिजबेन अष्ट्रेलिया । ब्रिजबेन महानगरमा कोभिड १९ कोरोनाका १० नयाँ संक्रमित थपिएसँगै आजबाट लागू हुनेगरि तीन दिने लडकाउन घोषणा गरिएको छ । साँझ ५ बजेबाट सुरु भएको लकडाउन अवधिमा सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ ।

सोमबार पहिचान भएको नयाँ कोरोना संक्रमितमध्ये ४ जना स्थानीय र ६ जना अन्तर्राष्ट्रिय यात्री रहेको अधिकारिहरुले बताएका छन् । प्रिमियर एनास्तासिया पलासेले स्थानीयरुपमा फेला परेका ४ मध्ये दुई गत बिहीबार फेला परेका २६ वर्षीय युवकसँग सम्बन्धित केस भएको जानकारी दिनुभएको छ । यी सबैलाई युकेस्ट्रेनको भाईरस संक्रमण देखिएको बताइएको छ । प्रिमियर पलासेले स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्दै लामो लकडाउनबाट राज्यलाई जोगाउन तीन दिने लकडाउन गर्नुपरेको प्रतिक्रिया दिनुभएको छ ।

यी क्षेत्रमा लकडाउन
सोमबार साँझबाट लकडाउन हुने क्षेत्रमा ईप्सविच, लोगन, रेडल्याण्डस, मोरेटन र ब्रिजबेन काउन्सिल रहेका छन् । क्वीन्सल्याण्डमा ७१ जना कोभिड १९ कोरोना संक्रमितहरु पहिचान भएका छन् ।

नयाँ प्रावधान अनुसार लकडाउनको अवधिमा खाद्यान्न लगायत अत्यावश्यक सामग्रीकालागि मात्रै मानिसहरु घर बाहिर निस्किन पाउने छन् । घरमा दुई जना पाहुनालाई मात्रै बोलाउन पाइनेछ भने विद्यालयहरु बन्द गरिएका छन् । अत्यावश्यक सेवामा कार्यरत कर्मचारीका बालबालिकाहरुको लागि भने यो खुल्ला रहने जनाइएको छ । ईष्टर बिदाको अघिल्लो साता भएको लकडाउनले राज्यमा भ्रमण गर्न आउने यात्रीहरुको ठूलो संख्यामा भने अन्यौल छाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ