Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअब न्यु साउथ वेल्समा सेप्टेम्बरसम्मै लकडाउन, कोरोना संक्रमितको उपचारमा नयाँ पद्धती

अब न्यु साउथ वेल्समा सेप्टेम्बरसम्मै लकडाउन, कोरोना संक्रमितको उपचारमा नयाँ पद्धती


ब्रिजबेन, अष्ट्रेलिया । बढ्दो क्रममा रहेको कोरोना संक्रमण नियन्त्रणमा नआएसँगै अष्ट्रेलियाको न्यु साउथ वेल्समा पुनः एक महिना लकडाउन थप गरिएको छ । योसँगै अब अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा सेप्टेम्बरको अन्तसम्म लकडाउन हुने भएको छ ।

करीब ५० लाख जनसंख्या भएको सिड्नी जुन देखि लकडाउनमा छ । तर संक्रमण नियन्त्रणमा आउने भन्दा बढ्दो क्रममा देखिएको छ । अहिले थपिएको एक महिने लकडाउन सोमबार मध्यरातदेखि लागु हुँदैछ । अघिल्लो हप्ताको तुलनामा अहिले न्यु साउथ वेल्समा कोरोना संक्रमणदर दोब्बरले बढेको पाइएको छ । शुक्रबार ६४६ जनामा कोरोना संक्रमण पुष्टि भएको न्यु साउथ वेल्समा बिहीबार ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । दोश्रो चरणको एक महिने लकडाउन घोषणा गर्दै न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडीज बेरिजेक्लिनले नागरिकको स्वास्थ्यका लागि कठोर कदम चाल्नु परेको भन्दै न्यु साउथ वेल्सका जनतासँग माफी समेत माग्नुभएको छ ।

अष्ट्रेलियामा बिहीबार कोरोना महामारी सुरू भएयता कै सबैभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्यु साउथ वेल्स सरकारले स्टे होमको आदेशलाई पालना गरेर गराएर महामारि रोकथाममा सहयोग गर्न अपिल गर्दै आएको छ । अष्ट्रेलियाको मेलबर्न र क्यानबेरामा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएसँगै करीब २ करोड ५० लाख मानिसहरू लकडाउनमा बसिरहेका छन् ।

कोरोना संक्रमितको उपचारका लागि नयाँ पद्धतीलाई अनुमति
अष्ट्रेलियामा कोरोना भाइरस संक्रमितको उपचारका लागि नयाँ पद्धतीले अनुमति पाएको छ । संक्रमितमा जटिल अवस्था उत्पन्न हुनबाट रोक्नका लागि भन्दै अष्ट्रेलियाको स्वास्थ्य नियामक निकाय, थेरोपेटिक गुड्स एडमिनिस्ट्रेशनले शुक्रबार एन्टिबडी उपचार पद्धति प्रयोगको अनुमति दिएको हो । यसै महिनाको सुरूवातमा स्वास्थ्यमन्त्री ग्रेग हन्टले ‘ड्रग सोट्रोविमाब’का लागि नेशनल मेडिकल स्टकपाइलमा ७७०० डोज सुरक्षित राखिएको घोषणा गर्नुभएको थियो । मन्त्री हन्टले यो औषधी कोरोना संक्रमितको उपचारका लागि महत्वपूर्ण औजार बन्ने बताउनुभएको छ ।

कोरोना संक्रमितको उपचारमा यो पद्धति अपनाउँदा अस्पताल भर्ना हुने दर र मृत्यु हुने दर ७९ प्रतिशतसम्म घट्ने विश्वास अष्ट्रेलियन सरकारले लिएको छ । पछिल्लो समय अष्ट्रेलियामा कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएको छ भने विभिन्न राज्य सरकारले लकडाउन गरेपनि नियन्त्रणमा आउन सकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ