Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए दशौँ विश्व सम्मेलनका लागि उच्चस्तरीय समिति गठन, यी हुन अध्यक्षका प्रत्यासी

एनआरएनए दशौँ विश्व सम्मेलनका लागि उच्चस्तरीय समिति गठन, यी हुन अध्यक्षका प्रत्यासी


काठमाडौं । गैरआवासीय नेपाली सङ्घको दशौँ विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ । आगामी कात्तिक ६ देखि ८ गतेसम्म काठमाडौंमा आयोजना हुने सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि समिति गठन भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवासँगै मन्त्रालय रहेको भन्दै मन्त्रिपरिषद् बिस्तार भएलगत्तै आउने मन्त्रीले जिम्मेवारी सम्हाल्ने गरी उच्च स्तरीय आयोजक समिति गठन भएको जानकारी दिनुभयो । समितिको सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र मन्त्रालयका सचिव, विभिन्न मन्त्रालयका सचिव, लगानी बोर्ड, नेपाल राष्ट्र बैंक रहेको छ । यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बरका प्रतिनिधि रहेका छन् ।

सरकारले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पूँजी, प्रविधि, सम्पर्क सञ्जाल र पहुँचलाई नेपालको आर्थिक–सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिए अनुरूप संघको विश्व सम्मेलनलाई प्रत्येकपटक उच्चस्तरीय आयोजक समितिमार्फत सम्पन्न गराउदैआएको छ । हरेक दुई वर्षको अन्तरालमा गैरआवासीय नेपाली संघको विश्व सम्मेलन नेपालमा हुँदै आएको छ । सम्मेलन नजिकिदैगर्दा एनआरएनएको नयाँ कार्यसमिति कस्तो बन्ला, कस्ले पाउला नेतृत्व भन्ने चासो बढ्न थालेको छ ।

अहिलेसम्म अध्यक्षमा कुल आचार्य र डा.बद्री केसीको घोषणा
गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी १० औँ महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । २०२१ २०२३ को कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका आचार्यले औपचारिक घोषणा आगामी अगस्ट ३० तारिखमा गर्ने र त्यही दिन आफ्ना चुनावी एजेन्डाहरु सार्वजनिक गर्ने बताइएको छ ।

यस्तै १० औँ महाधिवेशनको सोही कार्यकालका लागि रसियाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष डा. बद्री केसीले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ । अमेरिका निवासी रविना थापाले पनि उम्मेदवारी दिने बताउनुभएको छ । यसपटक डा. केसी र आचार्यबीच नै मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ । डा. केसीलाई नेकपा एमाले निकट र आचार्यलाई नेपाली कांग्रेस निकटको उम्मेदवारको रुपमा पनि हेरिएको छ।

कोभिड महामारीको कारण भर्चुअल माध्यममार्फत मतदान गर्ने कार्यक्रम तय गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ