Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia२३ देशमा राजदूत बन्न दौडधुप, यी हुन अष्ट्रेलियाका सम्भावित राजदूत !

२३ देशमा राजदूत बन्न दौडधुप, यी हुन अष्ट्रेलियाका सम्भावित राजदूत !


पुण्यप्रसाद धमला,काठमाडौं । अहिले अष्ट्रेलियासहित विभिन्न २३ देशमा नेपाली राजदूतहरु छैनन् । रिक्त हुनुभन्दा अघिदेखि नै राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्नेमा महिनौं हुँदा पनि परराष्ट्रले राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउन सकेको छैन । ओली सरकारले नियुक्त गर्न नसकेका ११ राजदूतसँगै आफैले फिर्ता बोलाएका १२ राजदूतको पदपूर्ती गर्न देउवा सरकारले बिशेष चासो दिएको देखिदैन । यद्यपी परराष्ट्रमन्त्री डा. नारायण खड्का भने अब धेरै समय विदेशी कुटनीतिमा विशेष चासो राख्ने राजदूत पद रिक्त नहुने दाबी गर्नुहुन्छ । नेपाल ट्युबसँग मन्त्री खड्काले गठबन्धन सरकार भएकाले भागबण्डाकै लागि केही समय राजदूत नियुक्तिमा ढिलाई भएको स्विकार गर्दै तिहार लगत्तै खाली रहेका २३ वटै देशमा राजदूत पठाइने बताउनुभयो ।

यता, गठबन्धन सरकारले पूर्णता पाएसँगै राजदूतका आकांक्षीहरुको दौडधुप पनि सुरु भएको छ । राजदूत बन्ने दौडमा परराष्ट्र सेवाका विशिष्ट कर्मचारिदेखी पूर्वराजदूत समेतको दौडधुप बढेको परराष्ट्रविद् एवंम पूर्व राजदूत डा. दिनेश भट्टराई बताउनुहुन्छ । राजदूत ऐस आराम र मोजमस्तीको पद नभएको भन्दै परराष्ट्रविद् भट्टराईले मेहनत गर्नुपर्ने २४ घण्टा नेपाल र नेपालीहरुको स्वार्थ अनि हितमा काम गर्नुपर्ने राजदूत नियुक्ति गर्दा मापदण्ड अनुसार योग्यलाई नियुक्त गर्नुपर्ने बताउनुहुन्छ ।

प्रधानमन्त्रीको दौडधुप

लामो समय सरकार विस्तारमा अलमलिएका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभित्र तिहारलगत्तै राजदूत नियुक्ति सिफारिस गर्ने गरी छलफललाई तिब्रता दिनुभएको छ । परराष्ट्र सेवा बाहेकका ५० प्रतिशत राजनीतिक कोटामा सिफारिस गर्नुअघि सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच भागबण्डा हुनेछ ।

यी हुन राजदूतको दौडमा देखिएका पूर्वराजदूतहरु

शंकर शर्मा, चोपलाल भुसाल, लक्की शेर्पा, रमेश कोइराला र महेश दाहाल दोहोरिएर राजदूत बन्न दौडधुप गरिरहेका छन् । अर्थविद् समेत रहेका शर्मा अमेरिकाका लागि पूर्वराजदूत तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुनुहुन्थ्यो । भुसाल, शेर्पा र कोइरालालाई ओली नेतृत्वको तत्कालिन सरकारले फिर्ता बोलाएको थियो। माओवादी कोटाबाट अष्ट्रेलियाका लागि राजदूत बन्नुभएका दाहाललाई ओली नेतृत्वको सरकारले ६ महिनाअघि फिर्ता डाकेको थियो ।

राजनीतिक भागबण्डामा महत्वपूर्ण देशहरुका राजदूत

राजनीतिक तथा कूटनीतिक हिसाबले विशेष महत्व राख्ने अष्ट्रेलिया, भारत, चीन र अमेरिका राजनीतिक भागबण्डाका राजदूतहरु आउने करिब निश्चित जस्तै छ । अष्ट्रेलियामा विगतका दुई जना राजदूतहरु नै एकिकृत माओवादीको कोटाबाट नियुक्त भएकाले अध्यक्ष पुष्पकमल दाहालले इच्छाइएका व्यक्ति नै राजदूत बन्नेछन् । भारतमा नेपाली कांग्रेसको कोटामा राजदूत सिफारिस हुने बताइएको छ । अमेरिकामा समेत कांग्रेसकै दाबी छ । गठबन्धन सरकारभित्र चीनका लागि माओवादी केन्द्रका तर्फबाट राजदूत सिफारिस हुने सहमति जुटेको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पनि चीनको दाबी गरिरहेको छ । उपेन्द्र यादव नेतृत्वको समाजवादी दलको कोटामा बेलायत वा जापान पर्ने देखिएको छ । राजदूत नियुक्तिमा ५० प्रतिशत बाहिरबाट तथा ५० प्रतिशत परराष्ट्रका ‘करिअर डिप्लोम्याट’लाई पठाउनुपर्ने कानुनी व्यवस्था भएपनि यो पटक परराष्ट्र सेवाबाट पाँचदेखि सात जना पर्नसक्ने आँकलन गरिएको छ ।

अष्ट्रेलियामा कहिलेसम्म राजदूत नियुक्तिमा अस्थिरता ?

करिब ५४ हजार नेपाली विद्यार्थी रहेको अष्ट्रेलियामा सधै राजदूतको अस्थिरता देखिने गरेको छ । लामो समयदेखि राजदूत बिहिन दूतावासले २०७३ बैशाख ७ मा एमाओवादी भागबण्डाबाट लक्की शेर्पालाई राजदूतका रुपमा पायो । तर तीन वर्ष पुगेसँगै शेर्पा नेपालबाटै अष्ट्रेलिया ल्याएका निजी चालकसँगको विवादमा मुछिएपछि राजीनामा दिएर नेपाल फिर्ता हुनुपर्यो । शेर्पाले पदबाट राजीनामा दिएपछि अस्ट्रेलियामा ६ महिनासम्म राजदूत खाली भयो । २०७६ जेठ २३ मा तत्कालिन नेकपा अध्यक्ष प्रचण्डको प्रस्तावमा महेश दाहाललाई सिफारिस गरिएको थियो । तर नेकपाको आन्तरिक किचलोका कारण दाहाललाई एक वर्षमै अर्थात २०७८ बैशाख २० गते फिर्ता बोलाइयो । यसपछि अष्ट्रेलियामा राजदूत खाली छ ।

को बन्लान अष्ट्रेलियाको राजदूत ?

विगतका दुई कार्यकाल माओवादी कोटाबाट राजदूत बनेको अष्ट्रेलिया एकिकृत माओवादीकै भागमा परेमा दाहाल नै दोहोरिने सम्भावना प्रवल छ । यदि एमाओवादी अध्यक्ष प्रचण्डलाई कसैले रिझाउन सकेमा नयाँ व्यक्ति समेत राजदूतका रुपमा आउन सक्नेछन् । भारत, चीन, अमेरिका, बेलायत, कतार, मलेसिया, जापान, बंगलादेश, ओमान, स्पेन, दक्षिण अफ्रिका, म्यानमार, साउदी अरब, अस्ट्रेलिया, श्रीलंका, बहराइन, डेनमार्क, रुस र अष्ट्रियामा राजदूत खाली रहेका छन् । मन्त्री खड्काले एक महिनाअघि पदभार ग्रहणका क्रममा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाइने बताएपनि गठबन्धनबीचको भागबण्डाले ढिलाई भैरहेको छ ।

यी हुन चर्चामा आएका राजदूतका आकांक्षीहरु

राजदूत बन्ने दौडमा सत्तारुढ दलभित्र दौडधुप सुरु भएको छ । नेपाली कांग्रेसभित्र तिलक रावल, गेजा शर्मा वाग्ले, शंकर शर्मा, दिव्यमणि राज भण्डारी, चोपलाल भुसाल, रमेश कोइराला र डा. गोविन्दराज पोख्रेल राजदूत बन्ने दौडसँगै चर्चामा छन्। माओवादी कोटाबाट लक्की शेर्पा, महेश दाहाल, युवराज चौलागाईं लगायतको नाम चर्चामा आएको छ । एकीकृत समाजवादी पार्टीबाट मिलनराज तुलाधरको नाम चर्चामा छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ