Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकामा राष्ट्रपति चयनका लागि मतदान जारी, ट्रम्प कि वाइडेन ?

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान जारी, ट्रम्प कि वाइडेन ?


एजेन्सी । विश्व शक्तिराष्ट्र अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ । मतदान सुरु गर्ने विगतकै परम्परा जस्तै अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफील्डबाट मतदान शुरु शुरु भएको हो ।

अमेरिकाको स्थानीय समय अनुसार मंगलबार विहान ६ बजेदेखि राती ८ बजेसम्म मतदान गर्न पाइनेछ । प्रत्यक्ष मतदान जारी रहेपनि अन्य माध्यमबाट झण्डै सात करोड अमेरिकी नागरिकहरुले मतदान गरिसकेको अधिकारीहरुले जानकारी गराएका छन् । चुनावको एक दिन अघि नै ६ करोड ९५ लाख अमेरिकीले हुलाकमार्फत् मत दिइसकेका छन् । अमेरिकामा हरेक निर्वाचनमा हुलाकमार्फत लाखौं मतदाताले मतदानको अवशर पाउने गरेका छन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा तीन करोड ३० लाख अमेरिकीले हुलाकमार्फत् मतदान गरेकोमा यस पटक कोरोनाभाइरस महामारीलाई लिएर आठ करोड २० लाख मानिसलाई हुलाकमार्फत् मतदान गर्न आग्रह गरिएको छ ।

राष्ट्रपतिका लागि बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लीकन तर्फबाट र पूर्व उपराष्ट्रपति जो वाइडेन डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका छन् । दुुबैबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । प्रतिस्पर्धीमध्ये ट्रम्प ७४ वर्ष र वाइडेन ७८ वर्षका भएकाले अमेरिकाको जिम्मेवारी अझै केही वर्ष बुढा नेताको काँधमा पर्ने भएको छ । वाइडेनले ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा भएका कमजोरीलाई आफ्नो चुनावी मुद्दा बनाएका थिए भने ट्रम्प आफूमाथि लागेको आरोपहरुको प्रतिवाद गर्दै आक्रामक रूपमा चुनावी मौदानमा देखिएका थिए । चुनावी सर्वेक्षणहरुमा डेमोक्रेटिक पार्टीका उम्मेदवार वाइडेनलाई अगाडि देखाइएको छ । ट्रम्पप्रति धेरैको असन्तुष्टि रहेको र भरोसा टुटेको दावी गरिएपनि कस्ले बाजी मार्छन यसका लागि चुनावी नतिजा पर्खनुपर्ने हुन्छ ।

अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ । अमेरिकामा परम्परावादी धारका रुपमा रिपब्लिकनहरूले र उदारवादी धारको रुपमा डेमोक्रयाटहरुले राजनीतिक नेतृत्व गर्दै आएका छन् । अमेरिकामा कुल ५३८ वटा इलेक्ट्रोरल कलेज मतमध्ये जुन उम्मेदवारले २७० भन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई विजयी भएको मानिन्छ ।

सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्ने गर्छन् र उनीहरुले छानेको व्यक्तिले राष्ट्रपति चयन गर्नेछन् । यही व्यवस्थाका कारण कतिपय बेला देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्ट्रोरल कलेजमा थोरै मत प्राप्त भएर पराजित हुने गरेका छन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको मतदानमा हिलरी क्लिन्टनले धेरै मत पाएपनि इलेक्ट्रोरल कलेजको मतका कारण डोनल्ड ट्रम्प निर्वाचित भएका थिए ।

अमेरिकामा हरेक चार–चार बर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ । निर्वाचनबाट आउने नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० तारिखमा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहिआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ