Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदक्षिण एसियामै धेरै प्रतिशत जनसंख्याले खोप लगाउने देश बन्यो नेपाल, कहाँ कतिले लगाए खोप ?

दक्षिण एसियामै धेरै प्रतिशत जनसंख्याले खोप लगाउने देश बन्यो नेपाल, कहाँ कतिले लगाए खोप ?


काठमाडौं । सरकारले प्राथमिकताका साथ कोरोनाविरुद्धको खोप लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने देश बनेको छ, नेपाल । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप निःशुल्क लगाएको छ । ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन् । हाल सबै प्रदेशमा कोभिसिल्ड, एस्ट्राजेनेका र सिनोफार्मका पहिलो तथा दोस्रो मात्रा खोप लगाइदैछ । ५७ जिल्लामा मोडर्ना खोपको पहिलो मात्रा खोप दिइरहेको छ ।

कुन प्रदेशमा कतिले लगाए कोरोनाविरुद्धको खोप ?
प्रदेश १ मा हालसम्म १८ वर्षमाथिका ७५ प्रतिशत नागरिकले पहिलो मात्रा खोप र ६० प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । मधेस प्रदेशमा ६१ प्रतिशतले पहिलो मात्रा लगाउँदा ५३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । वाग्मती प्रदेशमा ८६ प्रतिशतले पहिलो मात्रा तथा ८० प्रतिशतले पूर्णमात्रा, गण्डकी प्रदेशमा ८३ प्रतिशतले पहिलो मात्रा तथा ८९ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । लुम्बिनी प्रदेशमा ७५ प्रतिशतले पहिलो मात्रा र ६५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने कर्णाली प्रदेशमा ५७ प्रतिशतले पहिलो मात्रा खोप प्राप्त गर्दा ५५ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । सुदूरपश्चिम प्रदेशमा ६४ प्रतिशतले पहिलो मात्रा खोप लगाउँदा ६२ प्रतिशतले पूर्ण मात्रा खोप पाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही माघ ११ गतेसम्म कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउने सङ्ख्या एक करोड ३१ लाख छ हजार ७२६ पुगेको छ । कोभिसिल्डको पूर्ण मात्रा लगाउनेको सङ्ख्या २९ लाख १७ हजार ३०४ छ भने भेरोसेलको पूर्णमात्रा लगाउनेको सङ्ख्या ७८ लाख २१ हजार ४०६ रहेको छ । यस्तै २३ लाख २४ हजार ८०७ जनाले जोनसेनको पूर्णमात्रा लगाउँदा ४३ हजार २०९ जनाले फाइजरको पूर्णमात्रा लगाएका छन् । सरकारको रेकर्ड अनुसार एक करोड ६३ लाख ३३ हजार ९३७ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । यीमध्ये कोभिसिल्ड ४५ लाख ३० हजार ७८७, भेरोसेल ९७ लाख ४६ हजार २७० र फाइजर दुई लाख ५९ हजार ९४० जनाले पहिलो मात्रा लगाएका छन् । १७ लाख ९६ हजार ९४० जनाले मोडर्नाको पहिलो मात्रा खोप लगाएका छन् ।

बुस्टर डोज खोप लगाउने क्रम जारी
यसबाहेक सरकारले फ्रन्टलाइनमा खटिने तथा अत्यावश्यक सेवामा कार्यरत नागरिकलाई निःशुल्क बुस्टर डोज पनि दिइरहेको छ । हालसम्म दुई लाख २३ हजार ९४४ जनाले बुस्टर डोज लगाइसकेका छन् । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा बुस्टर डोज खोप अभियान चलिरहेको छ । बुस्टर जोड खोप लगाउनेहरुको भीडभाड अन्य जिल्लाको तुलनामा काठमाडौं उपत्यकामा बढी छ ।

कूल जनसङ्ख्याको ४३ प्रतिशतले खोपको पूर्णमात्रा लगाउँदा ५४ प्रतिशतले पहिलो मात्रा लगाएको सरकारी तथ्यांक छ । जोनसेनको खोपसहित ६१ प्रतिशतले कम्तीमा खोपको पहिलो मात्रा लगाइसकेका छन् । यसमा १८ वर्षमाथिका व्यक्तिमा ६६ प्रतिशतले खोपको पूर्णमात्रा लगाइसकेका छन् भने ७३ प्रतिशत पहिलो मात्रा लगाएका छन् । यस्तै १२ देखि १७ वर्षसम्मका ५३ प्रतिशतले पहिलो मात्रा लगाउँदा शून्य दशमलब १ प्रतिशतले पूर्णमात्र लगाएका छन् । माघ १५ बाट स्कुल तथा कलेजमा खोप अभियान चलाउने रणनीति समेत सरकारले अख्तियारि गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ