Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभारत सीमा सम्बन्धी संयन्त्रको बैठकका लागि सकारात्मक

भारत सीमा सम्बन्धी संयन्त्रको बैठकका लागि सकारात्मक


काठमाडौं । कालापानी र सुस्ता बाहेक अन्य क्षेत्रमा रहेका सीमा सम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको जोइन्ट बाउन्ड्री गु्रप (बीडब्लुजी) को बैठकका लागि भारत सकारात्मक देखिएको छ । नेपालले अगष्ट महिनामा सो बैठक आयोजना गर्नका लागि प्रस्ताव गरेकोमा भारत सकारात्मक देखिएपनि मिति भने तय भइसकेको छैन ।

वार्ताका लागि नेपालले दुईवटा मिति प्रस्ताव गरेको छ । भर्जुअल बैठकको मोडालिटीको बारेमा कुराकानी भइरहेको बताइएको छ । नेपालको प्रस्तावलाई भारतले अध्ययन गरिरहेको र यही नोभेम्बर महिनामा नै बैठक गर्न भारत तयार भएको भन्दै टाइम्स अफ इन्डियाले समाचार लेखेको छ । उक्त बैठकमा कालापानी र सुस्ताको विषयमा भने छलफल हुने छैन । दुवै देशका नापी विभागले नेतृत्व गर्ने सो बैठकको म्यान्डेट प्राविधिक विषय हल गर्ने रहेको छ । सुस्ता र कालापानीको विषयमा विदेश सचिवले कुराकानी गर्ने र अन्य ठाउँका प्राविधिक विषय बीडब्लुजीले हेर्ने सहमति दुई देशबीच यसअघि नै भएको छ ।

हरेक वर्ष मनसुन सकिएपछि सो संयन्त्रको बैठक बस्ने भएपनि कोभिड–१९ र दुई देशको बिचमा रहेको सीमा विवादका बैठक हुन सकेका छैनन । भारतीय सेना प्रमुखको भ्रमणपछि सो संयन्त्रको बैठक हुने सरकारी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले नै लेखेका छन् । सन् २०१४ मा निर्माण भएको सो संयन्त्रको म्यान्डेट सीमा स्तम्भ निर्माण, मर्मत सम्भार र दशगजाको अतिक्रमण हटाउने रहेको छ । अहिलेसम्म ६ पटकसम्म संयन्त्रको बैठक बसेको छ । यो बैठकले कालापानी र सुस्ताको विषयमा वार्ताको सकारात्मक वातावरण बनाउने आशा गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ