Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदुर्गमको पीडा : डोल्पामा एक किलो चामलकै २ सय ५०

दुर्गमको पीडा : डोल्पामा एक किलो चामलकै २ सय ५०


डोल्पा । सरकारी ढुवानीमा पुग्ने अनुदानको चामल दुई वर्षदेखि नजाँदा माथिल्लो डोल्पामा महँगी चुलिएको छ । सरकारले अनुदनको चामल नपठाउँदा माथिल्लो डोल्पाको छार्काताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकाका बासिन्दा बजारबाट प्रतिक्विन्टल २० हजार रुपैयाँसम्ममा चामल किनेर गुजारा धान्न बाध्य छन् ।

स्थानीय उत्पादनले ६ महिना पनि नधान्दा डोल्पालीको भान्सा सधै महंगीने गरेको छ । डोल्पाबुद्धका पेमा गुरुङ अनुदानको सरकारी चामल नआउँदा प्रतिकिलो २ सयदेखि २ सय ५० रुपैयाँमा चामल किनेर खान बाध्य भएको बताउँछन् । सडक सञ्जालमा नजोडिएका तीनवटै गाउँपालिकामा खाद्यान्न महँगो पाइएको छ । यस क्षेत्रमा खच्चडबाट मात्रै दैनिक उपभोग्य सामग्री ढुवानी गरिने भएकाले महँगो भयो भनेर अन्त जाने ठाउँ नै नभएको स्थानीय बताउँछन् । भिरालो जमिन, सिञ्चाई अभाव तथा चिसोका कारण स्थानीयस्तरमा पर्याप्त खाद्यान्न उत्पादन नहुने भएकाले वर्षौंदेखि यस क्षेत्रका स्थानीय महँगीको मारमा परिरहेका छन् ।

छार्काताङसोङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई वर्षदेखि अनुदानको चामल पठाएको छैन भने डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिका समेत समस्या समाधानमा गम्भिर नदेखिदा झन्डै ५ गुणा महँगोमा चामल किन्नुपर्ने बाध्यतामा स्थानीय छन् । स्थानीय छिरिङफुर्वा लामा व्यापारीहरूले दुनैबाट खच्चडमा ल्याएको चामल बाटोमै बिक्री हुने गरेकाले स्थानीय बजारमा सधै अभाव हुने बताउँछन् । चामल अभावका कारण जसले बढी पैसा तिर्यो, उसैले सजिलै चामल पाउने बाध्यता रहेकाले छाक टार्नकै लागि समेत ऋण लिनुपर्ने बाध्यतामा स्थानीय रहेको छिरिफुर्वा बताउँछन् । उपल्लो डोल्पाका धेरै क्षेत्रमा उवा फल्छ । केही ठाउँमा आलु र गहुँ फल्ने भए पनि उब्जनी थोरै हुने लामाले बताए ।

स्थानीय उवा, आलु र गहुँबाट धेरै थोक नबने भएकाले बजारको चामल, मैदा, चिनी र तेल किन्नैपर्ने बाध्यता स्थानीयमा छ । आफ्नै उब्जनीले बाह्रै महिना खान पुग्ने परिवार यस क्षेत्रमा निक्कै थोरै छन् । डोल्पोबुद्धका धेरै ठाउँमा राम्रो मानिने चामल २ सय ५० र ठिक्कको चामल २ सय रुपैयाँ प्रतिकिलो किन्न पाइने स्थानीय बताउँछन् । मसिनो चामल प्रतिक्विन्टल २५ हजार र मोटो चामल प्रतिक्विन्टल २० हजार रुपैयाँमा किन्नुपर्ने बाध्यता रहेको छार्काताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङनै स्विकार गर्छन । गाउँपालिकाका सुगम क्षेत्रमा भने सोही चामल १२ हजार रुपैयाँ क्विन्टलमा किनबेच भइरहेको छ ।

शे–फोक्सुन्डो गाउँपालिका अध्यक्ष टुसीतुण्डुप गुरुङ भने अनुदानको चामल नआउँदा स्थानीय बासिन्दाले ठूलो मर्का बेहोर्नुपरेको बताउँछन् । कोरोनाका कारण चीनिया नाका बन्द भएका कारण थप समस्या बढेको बारे संघ र प्रदेश सरकारलाई वैकल्पिक व्यवस्थाका लागि धेरैपल्ट अनुरोध गर्दा समेत बेवास्ता भएको गुरुङको आरोप छ । अनुदानको चामल समेत ठेकेदारले चीनको सीमा मारिम नाकासम्म मात्रै पुर्याउने र खरिदकर्ता आफैंले ६ दिन हिँडेर चामल ल्याउन मरिम जाँदा अनुदानको चामल पनि महँगो पर्ने छार्काताङसोङ गाउँपालिका–४ की सीता गुरुङ बताउँछिन । यस क्षेत्रका वासिन्दाले चिनियाँ सिमाना पुग्न समेत ३ दिन पैदल हिँड्नुपर्छ । दुनैसम्म गाडीमा चामल पुग्ने भएपनि यहाँबाट व्यापारीहरूले खच्चडमा लदाएर उपल्लो डोल्पा लैजादा लाग्ने ढुवानी भाडाका कारण पनि उपल्लो डोल्पाका स्थानीय महँगोमा चामल किन्न बाध्य भएका छन् ।

डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ दुनैदेखि डोल्पोबुद्धको धोसम्म खच्चडमा सामान ढुवानी गरेबापत व्यवसायीले प्रतिकिलो ७० रुपैयाँ भाडा लिने गरेकोमा त्यहाँबाट तिन्जेसम्म १ सय २० र सिमेनसम्म १ सय ५० रुपैयाँ प्रतिकिलो भाडा लाग्ने कारणले समेत महंगी बढेको बताउँछन् । हिमाली जिल्लाका अन्य स्थानीय तहमा समेत खच्चडको ढुवानी भाडा महँगो रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ