Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोनाको मार : पर्यटकको आगमन रोकिदा पार्किङमा थन्किए अधिकांश हेलिकोप्टर

कोरोनाको मार : पर्यटकको आगमन रोकिदा पार्किङमा थन्किए अधिकांश हेलिकोप्टर


काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक रहेको नागरिक उड्डयन लकडाउन खुकुलो भएसँगै क्रमशः चलायमान हुन थालेको छ । तर, यस भित्रको एउटा पाटो हेलिकोप्टर व्यवसाय भने अझपनि चरम संकटमा छ ।

नेपालमा हेलिकोप्टरका मुख्य यात्रु विदेशी पर्यटक थिए । अझ, पर्वतारोहण र पदयात्रा निस्केका यात्रुले अन्यको तुलनामा हेलिकोप्टरको प्रयोग बढी गर्थे । तर, कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै पर्यटक आगमन बन्द भएपछि हेलिकप्टरहरु पार्किङस्थलमै थन्किएका छन् । हेलिकोप्टर सोसाइटी अफ (नेपाल) का अनुसार लकडाउन खुलेर परिस्थिति सामान्य बन्दै गए पनि दुईवटा हेलिकोप्टर कम्पनी– फिस्टेल र एयर डाइनेस्टीले सेवा नै शुरु गर्न सकेका छैनन् । सेवा शुरु गरेका कम्पनीहरुले पनि एकभन्दा बढी हेलिकोप्टर चलाउन सकेका छैनन् । बिभिन्न कम्पनीका दुई दर्जन हेलिकोप्टर त अहिले काठमाडौं विमानस्थलमा थन्किएका छन् ।

मनाङ एयरका प्रवन्धक राजु न्यौपाने सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेपछि हेलिकोप्टर सेवामा धमाधम लगानी थपिएकोमा कोरोना महामारीले लगानी नै धारासायी भएको बताउँछन् । पर्यटकीय सिजन शुरु भएर पर्यटक आउने वातावरण नबनेसम्म थन्किएका हेलिकोप्टर उड्ने सम्भावना नभएको उनले बताए ।

हेलिकोप्टर सोसाइटीको तथ्यांक अनुसार अहिले ११ कम्पनीका १३ वटा हेलिकोप्टर मात्र उडिरहेका छन् । त्यसमध्ये पनि कैलास एअरको एउटा हेलिकप्टर गत आइतबार नुवाकोटमा चरा ठोक्किएर ग्राउण्डेड भएको छ । प्रभु र श्री एयरका तीन–तीन हेलिकोप्टर उडेका छन् भने सिम्रिक एयरका २ वटा । अल्टिच्यूड एयर, हेलि एभरेष्ट, कैलास, मनाङ र माउन्टेन हेलिकोप्टरका एक–एक हेलिकोप्टरले छिटफुट उडान भरेका छन् । उडिरहेका अधिकांश हेलिकोप्टर गम्भीर बिरामी, दुर्घटनामा परेका घाइते, कोरोना संक्रमित आदिको आकस्मिक उद्धार सेवामा प्रयोग भएका छन् । केहीले विभिन्न आयोजनाको काम र प्याकेजमा यात्रु बोक्ने बिजिनेश पाएपनि विगतजस्तो छैन ।

विदेशी पाइलट विस्थापित
९ महिनासम्म विजनेश नभएपछि अधिकांश कम्पनीले विदेशी पाइलटलाई बिदा गरिसकेका छन् । कुनै कम्पनीसँग एक–दुई जना रहे पनि अधिकांशले विदेशी पाइलटलाई बिदा गरेका छन् । नेपाली हेलिकोप्टर पाइलट दुई दर्जन हाराहारी मात्र रहेकाले पर्वतारोहण र मानसरोवर जाने सिजनमा सबैजसो हेलिकोप्टर कम्पनीले विदेशी पाइलट मार्फत उडान भर्दै आएका थिए ।

हेलिकोप्टर सोसाइटीका अनुसार व्यस्त मौसममा एउटा हेलिकोप्टरले औसत मासिक १ सय घण्टासम्म उडान गरेर प्रतिघण्टा १७ सय डलर कमाएका थिए । अहिले हेलिकोप्टरको मासिक उडान समय साविकको तुलनामा आधा पनि नपुग्ने र भाडा औसत एक हजार डलर प्रतिघण्टामा झरेको छ । व्यवयासीहरु प्रतिउडान ७०० डलरसम्म घाटा व्यहोर्नु परेको बताउँछन् । अझ, थन्किएका हेलिकोप्टरले मासिक करोडौं रुपैयाँ घाटा भइरहेको संघको दाबी छ ।

व्यावसायीका अनुसार एउटा हेलिकोप्टर हुने कम्पनीले संचालन खर्च धान्न मासिक औसत ५० घण्टासम्म उड्नुपर्छ । त्यसभन्दा बढी उडान भए मात्र त्यो कम्पनी नाफामा जाने बताइदैगर्दा कोरोना महामारीले पर्यटकको आगमन राकिदा यो व्यवसाय संकटमा परेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ