Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा मौसमी बद्लाब, वर्षा र हिमपातसँगै देशभर चिसो बढ्यो

नेपालमा मौसमी बद्लाब, वर्षा र हिमपातसँगै देशभर चिसो बढ्यो


काठमाडौं । पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसममा बदली भइरहेको छ । हिमाली तथा उच्च पहाडी भेगमा हिमपातको क्रमले आज पनि निरन्तरता पाएको छ । हुम्ला लगायत कर्णाली प्रदेशका उच्च हिमाली जिल्लाहरुमा आइतबारदेखि सुरु भएको हिमपात अझसम्म जारी छ । उच्च हिमाली र पहाडी जिल्लामा हिमपात भएसँगै चिसो बढेको छ ।

उच्च हिमाली तथा उच्च पहाडी जिल्लाको तापक्रम माइनसमा झरेसँगै जनजीवन कष्टकर बनेको स्थानीयले जनाएका छन् । हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख हिउँले ढाकिएको छ । पश्चिमी वायुकै प्रभावले काठमाडौं उपत्यकामा पनि सोमबारबाट बाक्लो हुस्सु लागिरहेको छ । काठमाडौं उपत्यकामा सोमबार देखी हुस्सु लागेको थियो भने बिहान सामान्य वर्षा भएको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारसम्म काठमाडौं उपत्यकामा घाम लाग्ने सम्भावना कम छ । बादलले ढाकेका कारण उपत्यकाको न्युनतम तापक्रममा भने गिरावट देखिएको छैन । मंगलबार बिहानको मापन अनुसार काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । आज दिनभर नै देशभर सामान्य बदली रहने जनाइएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको पूर्वानुमान गरिएको छ । यस्तै बागमती प्रदेश र प्रदेश १ को एकदुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार बुधबार रातिसम्म नै मौसममा बदलीको अवस्था रहनेछ । हिमाली र पहाडी जिल्ला मात्रै होइन देशको तराई क्षेत्रमा समेत हुस्सु र सितलहर बढेको छ । चिसो बढेसँगै जनजीवन प्रभावित भएाके छ भने चिसोबाट बच्न आगो बाल्ने र ताप्नेक्रम पनि बढ्न थालेको छ ।

वर्षा र हिमपातपछि बढेको चिसोसँगै महाशाखाले चौविस घण्टे परामर्श जारी गर्दै सचेत रहन आग्रह गरेको छ ।महाशाखाले मंगलबार बिहान चेतावनी तथा परामर्श जारी गर्दै यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देशभर बदली भै हल्का बर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा हल्का गिरावट आइ देशैभरी चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ