Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौं विश्वकै प्रदूषित शहर ! नागरिकमा त्रास, सरकार बेमतलब

काठमाडौं विश्वकै प्रदूषित शहर ! नागरिकमा त्रास, सरकार बेमतलब


काठमाडौं । प्रदुषणको उच्च रेकर्ड बनेको काठमाडौं उपत्यकाको मौसममा आजदेखि क्रमिक सुधार देखिएको छ । आइतबार बेलुकीदेखि बदली भएको मौसममा आजदेखि सुधार देखिएको हो । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँबाहेक देशका सबै ठाउँमा आज घाम लाग्ने र मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएपनि प्रदुषणको जोखिम भने तत्काल हट्ने देखिदैन ।

धुम्म भएको काठमाडौंको आकाश घाम लागेसँगै केही सभा जस्तो देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद बरुण पौडेलले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना कायमै रहेपनि अन्य स्थानको मौसममा सुधार हुने जानकारी दिएका छन् । देशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । बादल हटेर आकाश केही खुलेजस्तो देखिएसँगै काठमाडौंको प्रदुषण पनि केही घट्न थालेको छ । सोमबार र मंगलबारको तुलनामा प्रदुषण कम भएको जनाइएको छ । घाम लाग्न र हावा चल्न थालेपछि प्रदुषण घट्दै जाने मौसमविद्सँगै वातावरणविद्ले बताएका छन् । तर जाडोमा धेरै हावा नचल्ने र पानी पनि नपर्ने भएकाले प्रदुषण पुरै नहट्ने दाबीविज्ञहरुको छ ।

विशेष गरेर काठमाण्डौ, विराटनगर, नेपालगञ्ज, पोखरा, जनकपुर, महेन्द्रनगर, हेटौंडा, दाङ लगायतका क्षेत्रमा प्रदुषण उच्च बन्दैछ । काठमाण्डौ उपत्यकामा वायु प्रदूषणकोे स्तर अत्यधिकरुपमा बढेकाले सचेत रहन सरकारले आग्रह गरिसकेको छ ।

उच्च वायु प्रदूषण रहका विश्वका ५० शहरमध्ये काठमाडौँ पहिलो नम्बरमा देखिएको छ । वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार १ बजेको अध्यावधिक विवरण अनुसार एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४०२ थियो । आइक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स एक्यूआई) ३७२ पुगेको थियो । गएराति काठमाडौंका विभिन्न क्षेत्रमा एक्यूआई ६०७ पुगेको छ । ३०१ देखि ५०० सम्मको एक्यूआई सूचकलाई खतरनाकको सूचीमा राखिने गरिन्छ ।

अहिले सबैभन्दा बढी वायू प्रदूषण भएका विश्वका ५० शहरमध्ये काठमाडौँ सूचीको पहिलो नम्बरमा रहँदा दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा पाकिस्तानको कराँची, सातौंमा बंगलादेशको ढाका आठौँमा भारतको मुम्बई रहेका छन् ।

बढ्दो वायु प्रदुषणले फोक्सोका साथै आँखा, मस्तिष्क र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन लगायतले आग्रह गरेका छन् । सरकारले समेत अनावश्यक घर बाहिर ननिस्किन आग्रह गरेको छ । विशेषगरी बालबाालिका, वृद्धवृद्धा एवं दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म घरबाहिर ननिस्कन वातावरण विभागले आग्रह गरेको छ । घरबाहिर निस्कनै पर्दा गुणस्तरीय मास्क लगाउन विज्ञहरुको सुझाव छ ।

काठमाण्डौ उपत्यकामा विशेष गरी पेट्रोल तथा डिजलबाट चल्ने गाडीले फाल्ने धुवाँका कारण पनि प्रदूषण बढेको छ । यस्तै विकास निर्माणका क्रममा उडेको धुवाँ, धुलो तथा ई्टा भट्टा, कलकारखानबाट उत्सर्जन भएको धुवाँले पनि मौसम बिगार्ने गरेको छ । काठमाडौंको वायु प्रदूषण बढ्दो क्रममा रहेको भन्दै विभिन्न अध्ययन तथा वातावरण क्षेत्रका विज्ञहरुले प्रदूषण रोकथामका लागि सुझाबसहित सचेत गराउँदै आएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ